बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सिन्धुपाल्चोकमा चुनावी भिडन्त

प्रचण्डका सुरक्षा कमान्डरविरुद्ध एमालेका पराजित अनुहार

कांग्रेसका वंशलाल र जंगबहादुरलाई विरासत जोगाउने जिम्मा
शनिबार, १० माघ २०८२, २० : ००
शनिबार, १० माघ २०८२

सारांश

  • सिन्धुपाल्चोकमा आसन्न निर्वाचनमा नेकपा, एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
  • माओवादी केन्द्रका सुवोध र शरद चुनावी मैदानमा उत्रिएका छन् भने एमाले र कांग्रेसले पनि आ-आफ्ना उम्मेदवार खडा गरेका छन्।
  • निर्वाचनमा एमालेका सरेश र शेरबहादुरलाई विरासत जोगाउने चुनौती छ भने कांग्रेसले नयाँ अनुहारलाई अघि सारेको छ।

चौतारा । आसन्न निर्वाचनमा सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त निश्चित छ । सिन्धुपाल्चोकका दुई वटा निर्वाचन क्षेत्रमा खासगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (एमाले) र नेपाली कांग्रेसबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

सिन्धुपाल्चोकबाट चुनाव लड्न नेकपा संयोजक (तत्कालीन माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरक्षा कमान्डरलाई चुनावी मैदानमा उतारिएको छ । माओवादी केन्द्रको १० वर्षे ‘जनयुद्ध’बाट उदाएका सिन्धुपाल्चोकका प्रभावशाली तीन ‘स’ (सुवोध, सरल र शरद) को जोडीमध्ये प्रचण्डले सिन्धुपाल्चोकका दुई क्षेत्रमा सुवोध (माधव सापकोटा) र सरद (युवराज दुलाल)लाई उम्मेदवार बनाएका छन् । 

सरल (सरल सहयात्री पौडेल) बागमती प्रदेशसभा सदस्य हुन् । सुवोध सिन्धुपाल्चोक–१ बाट २०७९ सालमा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने सरल २०७४ र २०७९ मा सिन्धुपाल्चोक–२ (१)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न प्रदेशसभाबाट राजीनामा गरेर अघि बढेका छन् ।

सुवोध र शरदविरुद्ध एमालेले दुई पराजित पात्र अघि सारेको छ भने नेपाली कांग्रेसले नयाँ उम्मेदवार खडा गरेको छ । एमालेले सिन्धुपाल्चोक–१ बाट गत निर्वाचनमा पराजित भएका सरेश नेपाल र सिन्धुपाल्चोक–२ बाट शेरबहादुर तामाङलाई प्रतिस्पर्धामा खडा गरेको छ । कांग्रेसले सिन्धुपाल्चोक–१ मा जंगबहादुर लामा र सिन्धुपाल्चोक–२ मा वंशलाल तामाङलाई उम्मेदवार बनाएको छ । उनीहरूबिचको प्रतिस्पर्धाले सिन्धुपाल्चोकको चुनावी राजनीति तातिएको छ । 

एमालेका उम्मेदवारद्वय तामाङ र नेपाल दुवै विगतमा पराजयको अनुभव बटुलेका नेता हुन् । उता कांग्रेसले जंगबहादुरजस्ता नयाँ र वंशलालजस्ता स्थानीय राजनीतिमा भिजेका अनुहारलाई अघि सारेर माओवादी र एमालेको किल्ला तोड्ने रणनीति बनाएको छ ।

सिन्धुपाल्चोकको नेकपाको राजनीतिमा तीन ‘स’ को दबदबा छ । जनमुक्ति सेनाको पृष्ठभूमिबाट आएका यी तीन नेताहरूबिच भूमिगतकालदेखि नै निकट सम्बन्ध छ । गत निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सुवोध र बागमती प्रदेशसभामा दुई पटक जितेका शरद अहिले चुनावी मोर्चाको केन्द्रमा छन् । गत निर्वाचनमा सिन्धुपाल्चोक–२ मा ‘शरद’ले आफू मात्र नभई गठबन्धनबाट उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई जिताउनसमेत मुख्य भूमिका खेलेका थिए । 

सरेश र शेरबहादुरलाई एमालेको विरासत जोगाउने चुनौती

सिन्धुपाल्चोक–१ मा एमालेबाट सरेश नेपाल उम्मेदवार छन् । उनलाई एकातिर नेकपाका ‘सुवोध’ र कांग्रेसका जंगबहादुर लामासँग प्रतिस्पर्धा गर्नु छ भने अर्कोतिर पार्टीभित्रको आन्तरिक कलह व्यवस्थापन गर्ने चुनौती छ । एमालेका प्रभावशाली नेता अरुण नेपालको समूहलाई मिलाउन नसके सरेशको चुनावी नतिजा प्रतिकूल हुन सक्ने देखिन्छ । 

यस क्षेत्रमा कांग्रेसले जिल्ला सभापति जंगबहादुरलाई पहिलो पटक चुनावी मैदानमा उतारेको छ । जंगबहादुरमाथि कांग्रेसको विरासत जोगाउने ठुलो जिम्मेवारी रहनु स्वाभाविक छ । उनका लागि आगामी चुनाव कठिन परीक्षासँगै अवसरका रूपमा पनि देखिएको छ । सिन्धुपाल्चोकको राजनीतिमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको प्रभाव राम्रो छ । जंगबहादुर यिनै बस्नेतका विश्वासपात्रका रूपमा छन् । जंगबहादुरलाई जिल्ला सभापति बनाउन बस्नेतको भूमिका उल्लेख्य रहेको थियो । 

यस क्षेत्रमा राप्रपाका राममणि न्यौपाने, रास्वपाका भरतप्रसाद पराजुली र अन्य स्वतन्त्र उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् । 

शरद, शेरबहादुर र वंशलालको शक्ति परीक्षण

सिन्धुपाल्चोक–२ मा एमालेले पूर्वमन्त्री शेरबहादुर तामाङलाई अघि सारेको छ । उनी यसअघिको निर्वाचनमा पराजित पात्र हुन् । उनलाई टक्कर दिन नेकपाले शरदसँगै कांग्रेसले इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङलाई मैदानमा उतारेको छ । वंशलाल कांग्रेस जिल्ला सभापतिमा पराजित भए पनि स्थानीय तहमा गरेका कामका कारण बलियो उम्मेदवार मानिन्छन् । यस क्षेत्रमा नेकपाका शरदविरुद्ध एमालेका शेरबहादुर र कांग्रेसका वंशलालबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

यस क्षेत्रबाट माओवादीका सोमान लामा र रास्वपाका झलक कुमार श्रेष्ठ पनि प्रतिस्पर्धामा छन् । 

यस्तो छ चुनावी इतिहास

सिन्धुपाल्चोक–१ मा विगतमा अमृतकुमार बोहरा, मोहनबहादुर बस्नेत र अग्निप्रसाद सापकोटाजस्ता हस्तीहरूले प्रतिनिधित्व गरिसकेका छन् । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट माओवादीका माधव सापकोटा ‘सुवोध’ले ३० हजार ३७४ मतका साथ विजयी भएका थिए । 

यस क्षेत्रबाट २०४८ मा एमालेका बोहरा, २०५६ मा कांग्रेसका बस्नेत, २०६४ मा माओवादी केन्द्रका राजकुमार श्रेष्ठ, २०७० मा कांग्रेसका बस्नेत, २०७४ मा माओवादी केन्द्रका सापकोटा र २०७९ मा सुवोधले चुनाव जितेका थिए । 

सिन्धुपाल्चोक–२ मा कृष्णराज श्रेष्ठ, विष्णुविक्रम थापा र शेरबहादुर तामाङले जित हासिल गरिसकेका छन् । पछिल्लो समय मोहनबहादुर बस्नेतले यस क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए । यस क्षेत्रबाट २०४८ मा एमालेका कृष्णराज श्रेष्ठ, २०५१ मा राप्रपाका विष्णुविक्रम थापा, २०५६ मा एमालेका सुवास कर्मचार्य, २०६४ मा माओवादी केन्द्रका अग्नि सापकोटा, २०७४ मा एमालेका शेरबहादुर तामाङ र २०७९ मा कांग्रेसका मोहनबहादुर बस्नेतले चुनाव जितेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप