शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युरोपमा आक्रमणको योजना बनाएको आशंकामा हमाससँग सम्बन्धित एक जना पक्राउ

आइतबार, ११ माघ २०८२, १५ : २२
आइतबार, ११ माघ २०८२

सारांश

  • जर्मनीले युरोपमा आक्रमणको योजना बनाएको आशंकामा हमाससँग सम्बन्धित एक व्यक्तिलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्तिले सन् २०२५ मा यहुदी र इजरायली संस्थाहरूमा आक्रमण गर्ने योजना बनाएको आरोप छ।
  • हमासलाई आतंकवादी संगठनको रूपमा सूचीकृत गरिएको छ र यसअघि पनि हमासका सदस्यहरू पक्राउ परेका थिए।

बर्लिन । जर्मनीले युरोपमा आक्रमणको योजना बनाएको आशंकामा हमाससँग सम्बन्धित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

जर्मन प्रहरीले लेबनानी नागरिक मोहम्मद एसलाई बर्लिनस्थित ब्रान्डेनबर्ग विमानस्थलबाट पक्राउ गरेको हो । उनी शुक्रबार साँझ बेरुतबाट बर्लिन आइपुगेका थिए ।

संघीय अभियोजकका अनुसार मोहम्मद एस हमासका सदस्य भएको आशंका गरिएको छ। उनी सन् २०२५ को अगस्टमा ३०० राउन्ड गोली बारुद जुटाउन सहयोगी बनेको र यहुदी तथा इजरायली संस्थामाथि आक्रमण गर्ने योजनामा संलग्न रहेको आरोप छ । उनलाई संघीय न्यायाधीशसमक्ष पेस गरिनेछ, जहाँ उनको पूर्वन्यायिक हिरासतबारे निर्णय हुनेछ ।

हमासलाई अमेरिका, बेलायत, इजरायलसहित धेरै देशले आतंकवादी संगठनका रूपमा सूचीकृत गरेका छन् । उक्त समूहले सन् २०२३ को अक्टोबरमा इजरायलमाथि आक्रमण गर्दा करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढीलाई बन्धक बनाएर लगिएको थियो । त्यसयता गाजामा इजरायली सैन्य कारबाहीमा ७० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जर्मन अधिकारीहरूका अनुसार मोहम्मद एसले आबेद अल जी नाम गरेका व्यक्तिसँग मिलेर काम गरेका थिए । आबेद अल जी ती तीन जनामध्ये एक हुन्, जसलाई गत अक्टोबरमा बर्लिनमा हतियार हस्तान्तरणका क्रममा पक्राउ गरिएको थियो । तीमध्ये दुई जना जर्मनीका नागरिक र एक जना लेबनानी नागरिक थिए । यसअघि नोभेम्बरमा पनि जर्मनी–चेक सीमा नजिकै  हमासका अर्का लेबनानी सदस्य पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप