कोशीबाट राष्ट्रिय सभामा पुग्ने यी तीन भाग्यमानी
विराटनगर । राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् । कोशी प्रदेश अन्तर्गत ३ सिटका लागि भएको निर्वाचनमा थापा निर्विरोध बने भने पोर्तेल र मेचेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिएका थिए । तर, कांग्रेस, एमाले र जसपा नेपालको गठबन्धन भएका कारण उनीहरूको जित यसअघि नै सुनिश्चित थियो ।
निर्वाचित बनेका थापा कांग्रेस नेता हुन् । उनको प्रतिस्पर्धी नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी मनोनयन दर्ताका क्रममा समयमै उपस्थित हुन नआएका कारण मैदानबाट बाहिरिएका थिए । परिणाम स्वरूप थापा निर्विरोध बनेका हुन् ।
सुनिलबहादुर थापा नेपाली राजनीतिकर्मी तथा पूर्वमन्त्री हुन् । उनी नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी २०७० सालको संविधान सभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
२०७४ जेठमा बनेको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थापाले लामो समय संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न देशमा सेवा गरेका छन् । उनी सन् २०११ मा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग, सुडानमा कार्यरत रहेका बेला राजीनामा गरी राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी २०७७ साल कात्तिकमा भने नेपाली कांग्रेस प्रवेश गरी सह–महामन्त्री बनेका थिए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।
सुनिल थापाको जन्म २०१६ साल वैशाख १ गते धनकुटाको पाख्रिबास मुगामा भएको हो ।
नेकपा एमालेले कोशी प्रदेशबाट दलित कोटाबाट राष्ट्रिय सभाका लागि सोम पोर्तेललाई उम्मेदवार बनाएको थियो । झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा पाँच वर्षे कार्यकाल बिताएका पोर्तेल अहिले नीति निर्माणको माथिल्लो तह राष्ट्रिय सभामा पुगेका छन् ।
पाँचथरमा २०३५ फागुनमा जन्मिएका पोर्तेल हाल झापाको हल्दिवारीका स्थायी बासिन्दा हुन् । उनको राजनीतिक यात्रा २०४७ सालदेखि विद्यार्थी संगठन अनेरास्ववियुबाट सुरु भएको थियो । पार्टीको वडा कमिटीदेखि प्रदेश कमिटीसम्मका विभिन्न सांगठनिक जिम्मेवारी कुशलतापूर्वक निभाएका पोर्तेल हाल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव छन् ।
पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव छ । उनले २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुखको भूमिका निर्वाह गरेका थिए । त्यसअघि २०६५ सालमा दलित वर्ग उत्थान जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर पनि उनले काम गरेका थिए । पोर्तेल राष्ट्रिय सभालाई केवल ‘रिटायर्ड’ नेताहरूको थलोमात्र बनाउनु हुँदैन भन्ने मान्यता राख्छन् । ‘राष्ट्रिय सभालाई अनुभव र युवा जोसको सङ्गम बनाउनुपर्छ, जहाँ प्रभावकारी नीति निर्माण हुन सकोस्,’ उनले भने ।
लोकतन्त्रको रक्षा र जनजीविकाको पक्षमा आवाज उठाउनु नै आफ्को मुख्य सङ्कल्प रहेको बताउने पोर्तेल अन्ततः राष्ट्रिय सभामा पुगेका छन् ।
नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा उठाएको महिला कोटाको अर्को विजयी उम्मेदवार हुन् झापाकी युवा नेतृ रोशनी मेचे । अल्पसङ्ख्यक मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले प्रधानमन्त्री पद गुमाएसँगै उनी पार्टीको गतिविधिमा सीमित थिइन् ।
२०३८ भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् । अल्पसङ्ख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उनी विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छिन् । उनी हाल एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ को केन्द्रीय सदस्यको रूपमा कार्यरत छिन् ।
राष्ट्रिय सभा देशका सबै जातजाति र अल्पसंख्यकहरूको साझा थलो हुनुपर्ने उनको तर्क छ । ‘अल्पसङ्ख्यक र लोपोन्मुख समुदायको आवाजलाई राज्यको माथिल्लो सदनमा पुर्याउनु मेरो पहिलो प्राथमिकता हो,’ उनले भनिन् ।
पार्टीले आफूलाई योग्य ठानेर दिएको यो जिम्मेवारीले समावेशी लोकतन्त्रलाई थप बलियो बनाउने उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण