चुनाव नजिकियो, सडक मर्मत थालियो
सारांश
- निर्वाचन नजिकिँदै गर्दा मतदाता घर फर्किने क्रममा सडकमा चाप बढ्ने भएकाले सडक विभागले देशभरका सडक मर्मत सुरु गरेको छ।
- सडक विभागले बाढीपहिरोबाट प्रभावित राजमार्गहरूको स्थायी पुनर्निर्माण सुरु गरेको छ र बीपी राजमार्ग लगायतका क्षेत्रमा पनि मर्मत टोली खटाइएको छ।
- विभागले निर्वाचनको समयमा यातायात आवागमन सहज बनाउन र यात्रुको सुरक्षा सुनिश्चित गर्न मर्मत कार्यलाई प्राथमिकता दिएको छ।
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । रोजगारी तथा अध्ययनका सिलसिलामा संघीय राजधानी काठमाडौँ तथा देशका अन्य मुख्य सहरमा बसोबास गर्दै आएका मतदाता (नागरिक) मतदानका लागि आफ्नो गृहजिल्लामा फर्किने तयारीमा छन् ।
मतदानका लागि घर फर्किनेहरूका कारण सडकमा चाडपर्वको समयमा जस्तै चाप बढ्ने गर्छ । त्यसका लागि सडक मर्मत गरेर आवागमन सहज बनाउन यातायात व्यवसायीहरूले सडक विभागलाई आग्रह गरेका छन् । उनीहरूको आग्रहपछि सडक विभागले निर्वाचनलाई लक्षित गरेर देशभरका सडक डिभिजनहरूलाई खाल्डाखुल्डी पुर्न सर्कुलर जारी गरेको छ ।
सडक विभागका महानिर्देशक विजय जैसीले सडक मर्मतको काम द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए । ‘हामीले सबैलाई सर्कुलर गरिसकेका छौँ । सम्भार महाशाखा प्रमुख श्याम खड्कासहितको टोली यसमा खटिएको छ,’ महानिर्देशक जैसीले भने, ‘मुख्य–मुख्य सडकमा जहाँ–जहाँ खाल्डाखुल्डी (पटहोल) छन्, त्यहाँ मर्मतको काम सुरु भइसकेको छ ।’
नियमित मर्मत सम्भार हुने भएकाले निर्वाचनका लागि भनेर छुट्टै बजेट विनियोजन नभएको महानिर्देशक जैसीले स्पष्ट पारे । उनका अनुसार विभागको नियमित मर्मत चक्र (मेन्टिनेन्स साइकल अनुसार नै अहिले काम भइरहेको छ ।
‘हाम्रो सडक मर्मतको दुईवटा साइकल हुन्छ । एउटा वर्षा सकिनेबित्तिकै गरिन्छ भने अर्को साइकल अहिले सुरु हुने बेला भएको छ,’ जैसीले भने, ‘यो नियमित प्रक्रियामै मिल्ने भएकाले सोही अनुसार काम भइरहेको छ ।’
बाढीपहिरो प्रभावित राजमार्ग स्थायी पुनर्निर्माण सुरु
विभागले मनसुनजन्य विपद् (बाढी र पहिरो) का कारण बिग्रेका सडकहरूमा यसअघि नै अस्थायी रूपमा यातायात सुचारु गरिसकेको जनाएको छ । अब भने ती स्थानहरूमा स्थायी समाधान खोज्न थालिएको महानिर्देशक जैसीले बताए ।
‘अस्थायी रूपमा पहिरो पन्छाएर गाडी चल्ने बनाइसकेका छौं । अहिले राजमार्गहरूमा खासै अवरोध छैन । अब हामी नयाँ डिजाइन र ठेक्का व्यवस्थापनमार्फत स्थायी निर्माणको काममा लागेका छौँ,’ उनले भने ।
बीपी राजमार्ग लगायतका क्षेत्रमा पनि मर्मत टोली खटाइसकिएको जैसीले बताए । यस्तै इलामको मेची राजमार्ग, मेची करिडोरलगायतका सडक स्थायी पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । इलाममा बाढी पहिरोका कारण भएको क्षतिको पुनर्निर्माणका लागि पनि काम सुरु भइसकेको विभागले जनाएको छ । महानिर्देशक जैसीका अनुसार इलामको लागि बजेट प्राप्त भइसकेको छ र ठेक्का प्रक्रिया पनि अघि बढेको छ ।
_5Ld6v8nvmP.jpg)
‘इलामको काम सुरु भइसक्यो । हिजो मात्रै एउटा पुलको ठेक्का निस्किएको छ, अरू २–३ वटा निस्किने क्रममा छन्,’ जैसीले भने ।
विभागले निर्वाचनको समयमा यातायात आवागमन सहज बनाउन र यात्रुको सुरक्षा सुनिश्चित गर्न मर्मत कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।
कुन सडकको अवस्था कस्तो छ ?
देशभरका प्रमुख राजमार्ग यतिबेला निर्माणाधीन छन् । पूर्वी पहाडी जिल्लालाई काठमाडौँसँग जोड्ने प्रमुख राजमार्गका रुपमा रहेको बीपी राजमार्ग अघिल्लो वर्ष २०८१ को असोज दोस्रो साता र गत २०८२ असोज तेस्रो साता परेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको छ । यो राजमार्ग अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइए पनि स्थायी रुपमा पुनर्निर्माण हुने क्रममा छ ।
यो राजमार्गको क्षतिग्रस्त २९ किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्म ३.२२ किलोमिटर सडक जाइकाले पुनर्निर्माण गर्ने जिम्मा लिइएको छ । यो खण्ड बाहेक अन्य नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किलोमिटर, पिप्लेदेखि डालाबेँसीसम्म २.३० किलोमिटर, डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर चारसय बेँसीदेखि भकुन्डेबेँसीसम्म ११.०८ किलोमिटर ठेक्का लागेर पुनर्निर्माण कार्य अघि बढिसकेको भक्तपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार चाडपर्वपछि पुनर्निर्माण सुरु भएको यो राजमार्ग करिब २४ प्रतिशत भौतिक प्रगति पुगेको छ । हाल अस्थायी रुपमा डाइभर्सन बनाएर सञ्चालनमा आएको यो राजमार्ग मर्मत गर्नुपर्ने अवस्था छैन । तर कुनै अवरोध आए तत्काल मर्मतका लागि निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ ।
यस्तै अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक धुलिखेल सडक अहिले विस्तार क्रममा रहेकाले यात्रुले धुलोका कारण सास्ती भोग्नु परेको छ । यो सडक समयमा विस्तार सम्पन्न हुन नसकेपछि १४ महिना म्याद थप गरिएको छ । करिब १६ किलोमिटर दूरी रहेको यो सडक दुई खण्डमा विभाजन गरी निर्माणाधीन छ । हालसम्म ४५ प्रतिशत भौतिक प्रगति रहेको छ ।
_bBfuo3W3f8.jpg)
यस्तै काठमाडौँलाई तराईसँग जोड्ने कान्ति लोकपथ अहिले निर्माणाधीन अवस्थामा छ । अघिल्लो वर्षको असोजको दोस्रो साता आएको बाढीले क्षति पुगेको यो लोकपथ स्थायी पुनर्निर्माण सुरू भएको छ । ७९ किलोमिटर लम्बाइ रहेको यो सडक विस्तारका क्रममा छ ।
यसैगरी काठमाडौँलाई जोड्ने लाइफ लाइन सडकको रुपमा नागढुंगा–मुग्लिन सडक विभिन्न खण्डमा विभाजन गरी विस्तार अघि बढाइएको छ । यसका केही खण्डको विस्तार कार्य अन्तिम चरणमा पुग्न लागेको छ भने केही ५० प्रतिशत हाराहारीमा छन् । गत वर्षको असोजमा मुग्लिन नजिकै रहेको तुइन खोला छेउमा सुक्खा पहिरो खसेको थियो । उक्त पहिरो गएको स्थान अझै जोखिमयुक्त छ । तर उक्त क्षेत्रमा पहिरो रोकथामका लागि काम सुरु भएको छैन । यसैगरी अन्य जोखिमयुक्त स्थान झ्याप्लेखोला पहिरो, कृष्णभीरलगायतका स्थानमा मर्मतकार्य जारी छ ।
यस्तै मुग्लिन–पोखरा, मुग्लिन नारायणगढ सडक पनि लामो समयदेखि विस्तारका क्रममा छन् । यी सबै सडकमा यातायात सहज बनाउन विभागले खाल्डाखुल्डी पुर्ने, मर्मत गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण