बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भेनेजुएलाले छाड्यो थप १०४ राजनीतिक बन्दी

सोमबार, १२ माघ २०८२, १२ : ३३
सोमबार, १२ माघ २०८२

सारांश

  • भेनेजुएलाका अधिकारीहरूले १०० भन्दा बढी राजनीतिक बन्दीलाई रिहा गरेका छन्।
  • रिहा हुनेहरूमा वकिल केनेडी टेजेडा र विद्यार्थी हुआन फ्रान्सिस्को अल्भाराडो पनि छन्।
  • कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले नयाँ राजनीतिक चरणको सुरुवात भएको बताइन्।

काराकास । भेनेजुएलाका अधिकारीहरूले १०० भन्दा बढी राजनीतिक बन्दीलाई रिहा गरेको छ । काराकासस्थित मानवअधिकार समूह फोरो पेनालका अनुसार आइतबार मात्रै कम्तीमा १०४ जनालाई जेलमुक्त गरिएको हो । 

रिहा हुनेमा आफ्नै एक वकिल केनेडी टेजेडा र सञ्चारशास्त्रका विद्यार्थी हुआन फ्रान्सिस्को अल्भाराडो पनि रहेको फोरो पेनालले जनाएको छ । मानवअधिकार रक्षाकर्मीसमेत रहेका टेजेडा सन् २०२४ को अगस्ट २ मा काराबोबो राज्यको एक हिरासत केन्द्रमा राजनीतिक बन्दीहरूलाई कानुनी सहयोग गर्न पुगेपछि बेपत्ता भएका थिए । 

त्यसयता उनी टोकोरोन जेलमा थुनामा रहेको बताइएको थियो । ‘हाम्रो प्रिय सहकर्मी केनेडी टेजेडा अब परिवारसँग घर फर्किनुभएको छ,’ फोरो पेनालका कार्यकारी निर्देशक आल्फ्रेडो रोमेरोले सामाजिक सञ्जालमा टेजेडाको रिहाइ पुष्टि गर्दै लेखेका छन् । अन्य बन्दीहरूको रिहाइ अझै प्रमाणीकरणको प्रक्रियामा रहेको र सरकारले औपचारिक सूची सार्वजनिक गरे अझ राम्रो हुने उनको भनाइ छ ।

हाल सार्वजनिक भएको सङ्ख्या अन्तिम नभएको र आगामी दिनमा थप बन्दीहरू रिहा हुन सक्ने बताइएको छ । यसैबिच, भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले हालै सञ्चारमाध्यमसँगको पहिलो सम्बोधनमा निकोलस मादुरोको शासनकालमा थुनामा परेका कैदीहरू रिहा गर्ने प्रतिबद्धता जनाएकी थिइन् । 

सयौँ बन्दीको रिहाइलाई उनले नयाँ राजनीतिक चरणको सुरुवात भन्दै यसले राजनीतिक तथा वैचारिक विविधतालाई स्थान दिने दाबी समेत गरेकी थिइन् । भेनेजुएला सरकारले पछिल्ला हप्ताहरूमा ६०० भन्दा बढी बन्दी रिहा गरिएको घोषणा गरिसकेको छ । तीमध्ये विपक्षी नेता एड्मुन्डो गोन्जालेजका ज्वाइँ राफाएल तुदारेस ब्राचो पनि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप