शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डाक्टरको प्रेस्क्रिप्सनबिना भिटामिन–डी खाइरहनुभएको त छैन ?

बुधबार, १४ माघ २०८२, ०६ : २७
बुधबार, १४ माघ २०८२

सारांश

  • गुगल सर्चका आधारमा सप्लिमेन्ट लिँदा मिर्गौला फेल हुने जोखिम हुन्छ, डाक्टरको सल्लाह बिना भिटामिन डी न लिनुहोस्।
  • भिटामिन डीको ओभरडोजले रगतमा क्याल्सियमको मात्रा बढाउँछ, जसले मिर्गौलामा पत्थरी र फेल गराउन सक्छ।
  • बारम्बार पिसाब लाग्ने, तिर्खा लाग्ने, वाकवाकी लाग्ने, जस्ता लक्षण देखिएमा तुरुन्तै डाक्टरलाई देखाउनु पर्छ।

काठमाडौँ । हामीमध्ये कैयौँमा गुगल वा एआईमा सर्च गरेर आएको नतिजाका आधारमा जथाभावी सप्लिमेन्ट लिने बानी हुन्छ । भ्याइनभ्याइ र घामको सीधा सम्पर्कमा बस्ने समय नहुँदा पछिल्लो समय हामीमध्ये धेरैमा भिटामिन डीको अभाव छ ।

केहीले त डाक्टरसँग परामर्श नगरी भिटामिन डी पनि लिइरहनुभएको हुन सक्छ । तपाईंले पनि यस्तै गरिरहनुभएको छ भने सावधान । यस बानीले मिर्गाैला फेल हुने जोखिम बढाउन सक्छ ।

भिटामिन सेवन गर्नु सुरक्षित छ भन्ने धेरैले ठान्दछन् । हुन पनि हड्डी बलियो बनाउन, क्याल्सियम अवशोषित गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन डी आवश्यक छ । तर बिनापरामर्श वा अत्यधिक मात्रामा भिटामिन डीको सप्लिमेन्ट खाइरहनुभएको छ भने यो बानी अहिले नै रोक्नुहोस् । आफ्नो स्वास्थ्यका लागि लाभदायक ठानेको भिटामिन–डी सप्लिमेन्टहरूले मिर्गाैलालाई गम्भीर रूपमा हानि पुर्‍याउन सक्छ ।

भिटामिन डीको ओभरडोजले मिर्गाैलामा पर्ने प्रभाव

डाक्टरसँग परामर्श नगरी लामो समयसम्म वा अत्यधिक मात्रामा भिटामिन डी पूरकहरू लिँदा भिटामिन डीको विषाक्तता हुन सक्छ । यसले हाम्रो मिर्गाैलामा सबैभन्दा प्रतिकूल प्रभाव पार्छ । जब शरीरमा भिटामिन डीको स्तर धेरै उच्च हुन्छ, रगतमा क्याल्सियमको स्तर असामान्य रूपमा बढ्छ । यो अवस्थालाई चिकित्सकीय रूपमा हाइपरक्याल्सेमिया भनिन्छ ।

रगतमा क्याल्सियमको स्तर धेरै उच्च हुँदा मिर्गाैलालाई यसलाई फिल्टर गर्न गाह्रो हुन्छ । यसले मिर्गाैलामा पत्थरी हुने जोखिम बढाउँछ र बिस्तारै मिर्गाैलाको कार्य क्षमता घटाउँछ । उपचार गरिएन भने गम्भीर अवस्थामा यसले मिर्गाैला फेल पनि गराउन सक्छ ।

बेवास्ता गर्न नहुने लक्षणहरू

शरीरमा भिटामिन डी वा क्याल्सियमको मात्रा अत्यधिक हुँदा केही लक्षणहरू देखिन्छ । मानिसहरूले प्रायः सामान्य ठानेर यी लक्षणको बेवास्ता गर्छन् । बारम्बार पिसाब लाग्ने, अत्यधिक तिर्खा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, कमजोरी हुने, भोक नलाग्ने वा चिन्ता हुनेजस्ता लक्षणहरू अनुभव गर्नुहुन्छ भने सावधान । यी लक्षणहरू बिग्रँदै गएको अवस्थाको संकेत हुन सक्छन् ।  

सुरक्षित रहने सही तरिका

आफ्नो मिर्गाैला र स्वास्थ्यलाई जोगाउन सधैं डाक्टरको सल्लाहमा मात्रै भिटामिन डी पूरकहरू खानुहोला । नियमित रूपमा रगत परीक्षण गर्नुको साथै भिटामिन डी र क्याल्सियमको स्तर पनि जाँच गर्नुहोस् । सन्तुलित आहार, सीमित घामको सम्पर्क र डाक्टरले तोकेको सही खुराक मात्रै स्वस्थ रहने सबैभन्दा सुरक्षित तरिकाहरू हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप