ओखलढुङ्गामा कांग्रेस–एमालेलाई मत ‘क्रस’को त्रास : थापा र लुईंटेललाई गुरुङ र पोखरेलको टक्कर
सारांश
- ओखलढुङ्गामा प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस, एमाले, रास्वपा र नेकपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
- विगतमा आलोपालो जित्दै आएका कांग्रेस र एमालेले नयाँ अनुहारसहित चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन्।
- निर्वाचनमा १ लाख २२ हजार ७१५ मतदाता रहेको ओखलढुङ्गामा रास्वपा र नेकपाले पनि आफ्नो उपस्थिति जनाएका छन्।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि पूर्वी पहाडी जिल्ला ओखलढुङ्गामा प्रमुख चार राजनीतिक दलका उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
एक पदका लागि २ जना स्वतन्त्रसहित १३ वटा राजनीतिक दलबाट १५ जनाले उम्मेदवारी दिएको ओखलढुङ्गामा यसअघि पालैपालो जित्दै आएका कांग्रेस र एमालेलाई चुनौती दिँदै रास्वपा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार संसद् प्रवेश गर्ने उद्देश्यसहित मैदानमा उत्रेका छन् ।
उम्मेदवारी दर्तासँगै प्रमुख दलसहित सबैजसो उम्मेदवार गाउँघर पुगेर मतदाता भेटघाटमा व्यस्त देखिन्छन् । नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि जिल्लाको राजनीतिक माहोल तातिएकोमात्र छैन, फागुन २१ पछि आउने परिणामबारे समेत लेखाजोखा हुन थालेको छ ।
‘यसअघि प्रायः दुई पक्षीय चुनावी प्रतिस्पर्धा हुँदै आएको जिल्लामा यसपटक चार पक्षीय प्रतिस्पर्धा हुने देखिन्छ’, नागरिक समाजका अगुवा बालकृष्ण दाहालले भने, ‘कांग्रेस–एमालेको पुरानै प्रतिस्पर्धामा रास्वपा र नेकपाका तर्फबाट पनि बलिया उम्मेदवार मैदानमा थपिएकाले जिल्लाको निर्वाचन थप रोचक र चासोको विषय बन्दै गएको छ ।’
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न कांग्रेसले कुमार लुईंटेल, एमालेले अस्मिता थापा, नेकपाले अम्बिरबाबु गुरुङ र रास्वपाले पूर्वएआईजीपी विश्वराज पोखरेललाई मैदानमा उतारेको छ । चारै जना उम्मेदवार प्रतिनिधि सभाका लागि नयाँ हुन् ।
पूर्वएमाले नेता अम्बिरबाबु गुरुङ उम्मेदवारी दर्ताको संघारमा एमाले छाड्दै नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्दा एमालेको केही मत तान्ने चिन्ता एमालेजनमा देखिन्छ । तर, एमाले उम्मेदवार थापा केही मानिसले पार्टी छाड्दैमा ठुलो असर नपर्ने दाबी गर्छिन् ।

२०७९ को निर्वाचनमा ओखलढुङ्गाबाट कांग्रेसका रामहरि खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मतसहित दोस्रो स्थानमा थिए ।
२०७४ को निर्वाचनमा एमालेका यज्ञराज सुनुवार ३२ हजार ५८० मतसहित निर्वाचित हुँदा कांग्रेसका खतिवडा २७ हजार ३२७ मतसहित दोस्रो स्थानमा रहे । विगतमा आलोपालो जित्दै आएका कांग्रेसका खतिवडा र एमालेका सुनुवार यसपटक चुनावी रेसबाट बाहिर छन् । कांग्रेस र एमाले दुवैले नयाँ अनुहार अघि सारेर नतिजा आफ्नो पक्षमा पर्ने प्रयत्न गरिरहेका छन् ।
नेकपाका उम्मेदवार गुरुङ चुनावको मुखमा एमाले परित्याग गरी नेकपाबाट उम्मेदवार बनेका हुन् । चुनावको सम्मुखमा गुरुङको पार्टी परिवर्तनले एमालेलाई आफ्नो मत क्रस हुने हो कि भन्ने चिन्ता छ । कोशी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका गुरुङसँगै एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, सहसचिव राजीव कटुवाललगायतले पार्टी छाडेपछि एमालेलाई धक्का लाग्नसक्ने आकलन हुँदै आएको छ । यद्यपि सांगठानिक रूपमा जरैसम्म पुगेको एमाले केही नेताको बहिगर्मनलाई स्वाभाविक रूपमा लिँदै चुनावी नतिजामा खासै फरक नपर्ने विश्लेषणका आधारमा अघि बढिरहेको जिल्लाका नेताहरू बताउँछन् ।
लिखु गाउँपालिकाको उपाध्यक्ष छाडेर प्रतिनिधि सभा सदस्यको प्रत्यासी बनेकी थापालाई एमालेले जेनजी उम्मेदवारका रूपमा अघि सारेको छ । थापा आफू महिला र जनेजी उम्मेदवारका रूपमा रहेको तथा जिल्लाको संगठन बजबुत अनि अग्रजहरूको साथ पाएकाले चुनाव जित्नेमा ढुक्क देखिन्छिन् ।

‘मतदाताको माया र मत त मैले पाउने नै छु । त्यसमाथि मजबुत संगठन र अग्रजहरूको साथ–समर्थन मेरो चुनाव जित्ने आधार हो’, थापाले रातोपाटीसँग भनिन्, ‘जिल्लाबाट म जेनजी पुस्ताको भावनालाई समेत समेट्ने उम्मेदवार भएकाले परिवर्तन पक्षधर जनताको साथ र समर्थन रहन्छ भन्नेमा ढुक्क छु ।’
कांग्रेसबाट उम्मेदवार बनेका लुईंटेल कोशी प्रदेश समितिका सदस्य तथा सभापति गगन थापा निकट मानिन्छन् । माघ ५ गतेसम्म उम्मेदवारको चर्चामा नरहेका लुईंटेलले अचानक माघ ६ गते टिकट पाएका थिए । कांग्रेसमा फेरिएको समीकरणसँगै रामहरि खतिवडा शेरबहादुर देउवा पक्षका नेता भनेर चिनिएको तथा पटकपटक अवसर समेत पाएकाले लुईंटेललाई अन्तिम समयमा उम्मेदवार बनाइएको हो । जिल्लामै कांग्रेसका प्रभावशाली नेता मानिने खतिवडा यो पटक उम्मेदवार बन्नबाट बञ्चित भएपछि खतिवडा निकटको केही मत लुईंटेलको पक्षमा नपर्ने हो कि भन्ने आशङ्का समेत भइरहेको छ ।
तर उम्मेदवार लुईंटेल त्यो आशंकामा सत्यता नभएको दाबी गर्छन् । ‘पार्टीले निर्णय गरेर मलाई टिकट दिएपछि हामी एकमतका साथ चुनावमा होमिएका छौँ’, लुईंटेलले रातोपाटीसँग भने, ‘पुराना पुस्ताको भरोसा र नयाँ पुस्ताको आशाका रूपमा मतदाताले मलाई बुझेका छन् ।’

उनले ओखलढुङ्गामा दोस्रो स्थानका लागिमात्र त्रिपक्षीय प्रतिस्पर्धा हुनसक्ने बताए । ‘दोस्रो स्थानका लागि साथीहरू त्रिपक्षीय प्रतिस्पर्धा गर्दै हुनुहुन्छ’, उनले भने ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार गुरुङ आफू प्रदेश मन्त्री भएर जिल्लाको विकासमा महत्त्वपूर्ण योगदान गरेकाले मतदाताको पहिलो रोजाइमा पर्ने दाबी गर्छन् । ‘प्रदेशमन्त्री भएका बेला जिल्लामा मैले गरेको विकास र राजनीतिमा मेरो देश बनाउने हुटहुटीबारे जिल्लाका मतदाता परिचित हुनुहुन्छ’, गुरुङले भने, ‘देश विदेशका धेरै अवसर छाडेर राजनीतिमा आएको र मलाई व्यक्तिगत लाभ लिनुनपर्ने भएकाले जनताले यसपटक जिताएर प्रतिनिधि सभामा पठाउँछन् भन्नेमा ढुक्क छु ।’
अर्का प्रतिस्पर्धी रास्वपाका उम्मेदवार विश्वराज पोखरेल नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) हुन् । रास्वपाको माहोल देशभरि नै बढ्दै गएका बेला पोखरेल पनि जिल्लाका मतदाताबिच लोकप्रिय बन्दै गएका छन् । उनी मंसिर १२ गते रास्वपा प्रवेश गरेर १३ गतेदेखि अहिलेसम्म ओखलढुङ्गाका स्थानीय बस्तीमा पुगेर मतदाता रिझाउने काम गरिरहेका छन् । ‘मतदाताहरूमाझ पुग्दा उनीहरू आफैँ पुरानालाई हे¥यौँ, अब नयाँलाई हेर्ने र अवसर दिने हो भनिरहेका छन्’, पोखरेलले रातोपाटीसँग भने, ‘ओखलढुङ्गाका मतदाताले यसपटक मत परिवर्तन गर्छन् भन्नेमा विश्वस्त छु ।’
विगतको मत परिणामका आधारमा पुराना पार्टीबाट उम्मेदवार बनेका थापा र लुईंटेलबिच मुख्य प्रतिस्पर्धा हुने दुई पार्टीका नेता–कार्यकर्ताको भित्री विश्लेषण रहे पनि देशैभरि उदाउँदै आएको रास्वपा र नयाँ मतदाताको रुझानले ओखलढुङ्गाको नतिजा पनि प्रभावित नहोला भन्न सकिँदैन । यसमा रास्वपाका पोखरेलको व्यक्तित्व र नेकपाका गुरुङको आफ्नै पहिचानले गर्दा पनि ओखलढुङ्गाको नतिजा फरक आउन सक्ने स्थानीय मतदाताको भनाइ छ ।

प्रतिस्पर्धी मनिएका चार उम्मेदवार बाहेक जिल्लाबाट श्रम संस्कृति पार्टीबाट डा. उद्धवकुमार राई, उज्यालो नेपाल पार्टीबाट जेनजी अगुवा किशोरी कार्की, राप्रपा नेपालबाट डिकप्रसाद बास्तोला, जनता समाजवादी पार्टीबाट नेत्रबहादुर नेम्वाङ, मङ्गोल नेसन अर्गनाइजेसनबाट बजेन्द्र वाम्बुले राई, मितेरी पार्टी नेपालबाट कुमारबहादुर तामाङ तथा स्वतन्त्र विक्रम दाहाल पनि प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवार दाहाल रास्वपा निकट मानिन्छन् ।
जिल्लामा कति छन् मतदाता ?
यो निर्वाचनमा ओखलढुङ्गामा १ लाख २२ हजार ७ सय १५ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्, जसमा महिला ५९ हजार ८७१, पुरुष ६२ हजार ८४३ र अन्य १ जना छन् । अघिल्लो निर्वाचनमा जिल्लामा १ लाख १८ हजार ३७६ जना मतदाता रहेकोमा गत असोज १० गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममार्फत ४ हजार ३३९ जना मतदाता थपिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण