मौरिन्होः जसले मड्रिडलाई हराएर पूरा रंगशाला नै उत्साहित बनाए
सारांश
- बेन्फिकाका गोलकिपर एनातोली ट्रुबिनले इन्जुरी समयमा गोल गर्दै रियल मड्रिडलाई हराए।
- यो जितले बेन्फिकालाई च्याम्पियन्स लिगको प्ले-अफमा पुर्यायो, जसका कारण प्रशिक्षक जोसे मोरिन्हो उत्साहित छन्।
- खेलमा ट्रुबिनको गोल अविश्वसनीय रह्यो र यसले मोरिन्होको टिमलाई महत्वपूर्ण सफलता दिलायो।
काठमाडौँ । जोसे मोरिन्होको लामो र नाटकीय प्रशिक्षक करिअरमा ‘पहिलो पटक’ हुने खालको क्षण भेट्न मुस्किल छ । तर बुधबार राति लिस्बनमा गोलकिपर एनातोली ट्रुबिनले उनलाई त्यही दुर्लभ क्षण प्रदान गरे ।
१५ पटकको युरोपियन च्याम्पियन रियल मड्रिडलाई हराउनु मात्र बेन्फिकाको लागि पर्याप्त थिएन । खेलको इन्जुरी समयमा उनीहरू ३–२ ले अगाडि त थिए, तर च्याम्पियन्स लिगमा टिकिरहन उनीहरूलाई थप एक गोल आवश्यक थियो ।
अन्तिम अवसरका रूपमा बेन्फिकाले फ्रिकिक पायो र गोलकिपर ट्रुबिन पनि गोल गर्न विपक्षीको पोस्टमा पुगे । केही क्षणमै एस्टाडियो दा लुज रंगशाला उत्सवमा डुब्यो । बेन्फिकाका खेलाडीहरू खुसीले दौडिरहेका थिए भने शक्तिशाली हेडरमार्फत निर्णायक गोल गरेका ट्रुबिन घुँडा टेकेर स्लाइड गर्दै खुसी मनाइरहेका थिए ।
‘यो एक शानदार र ऐतिहासिक गोल हो, जसले पूरा रंगशालालाई नै उत्साहित बनायो । मलाई लाग्छ, हामी यो नतिजाका लागि पूर्ण रूपमा हकदार थियौँ,’ बेन्फिकाका मुख्य प्रशिक्षक जोसे मौरिन्होले भने, ‘बेन्फिकाका लागि रियल मड्रिडलाई हराउनु आफैँमा ठुलो प्रतिष्ठाको विषय हो ।’
अविश्वसनीय अन्तिम क्षण
च्याम्पियन्स लिगको नयाँ लिग चरणको जटिल अंकगणितका कारण ट्रुबिनलाई आफ्नो टोलीलाई वास्तवमा के चाहिएको थियो भन्ने पूर्ण जानकारी नहुनु स्वाभाविक थियो । आठ खेलको लिग चरणको अन्त्यमा गोलअन्तरका आधारमा बेन्फिका बाहिरिँदै थियो, तर ट्रुबिनको अविश्वसनीय गोलले मार्सेयीलाई पछि पार्दै बेन्फिकालाई प्ले–अफमा पुर्यायो ।
गोल हुनुभन्दा केही मिनेटअघि मात्रै, ट्रुबिनले बल समातेर समय खेर फाल्न खोजिरहेका थिए । उनलाई लागेको थियो कि ३–२ को जित नै पर्याप्त छ, तर त्यो अवस्थामा पनि बेन्फिका प्रतियोगिताबाट बाहिरिँदै थियो ।
‘सुरुमा त मलाई थाहा नै थिएन कि हामीलाई के आवश्यक छ,’ ट्रुबिनले भने, ‘जब सबैले मलाई अगाडि जान इसारा गरे, तब मात्र मैले बुझेँ, हामीलाई थप एक गोल चाहिएको रहेछ ।’

‘के भनौँ, मलाई थाहा छैन । यो एक अविश्वसनीय क्षण थियो । मलाई गोल गर्ने बानी छैन, त्यसैले यो मेरो लागि बिल्कुलै नयाँ अनुभव हो । म २४ वर्षको भएँ र मेरो करिअरमा यस्तो पहिलो पटक भएको छ ।’
मौरिन्होका कठिन पुनरागमन
सेप्टेम्बरमा बेन्फिका फर्किएयता मोरिन्होका लागि समय सहज रहेन । करिब २५ वर्षपछि क्लबमा दोस्रो कार्यकालका लागि ‘द स्पेसल वन’ नियुक्त हुँदा उनीप्रति केही शंकाहरू थिए । धेरैले ६३ वर्षीय प्रशिक्षकले आफ्नो उत्कर्ष पार गरिसकेको ठानेका थिए ।
साढे चार महिनापछि बेन्फिका लिगमा अपराजित भए पनि तेस्रो स्थानमा छ र शीर्ष स्थानको पोर्टोभन्दा १० अंकले पछि छ । युरोपमा पनि लिग चरणका पहिलो चार खेल हार्दा अवस्था निराशाजनक बनेको थियो । घरेलु कपको क्वार्टरफाइनलमा पनि बेन्फिका पोर्टोसँगै पराजित भयो, जुन क्लबबाट मौरिन्होले २० वर्षअघि आफ्नो पहिचान बनाएका थिए ।
तर जनवरी १४ को त्यही खेलले ट्रुबिनलाई च्याम्पियन्स लिगमा नायक बन्नका लागि ‘अभ्यास’ गराएको रहेछ । ‘हामीलाई थाहा थियो । उनीमाथि हामीलाई विश्वास थियो,’ मौरिन्होले भने, ‘पोर्टोविरुद्धको त्यो खेलको अन्तिम क्षणमा पनि ट्रुबिन अगाडि बढेर हेडर प्रहार गरेका थिए, तर एक खेलाडीले गोललाइनबाट बचाए ।’
यसपटक भने युक्रेनी गोलकिपरलाई कसैले रोक्न सकेन । उनको उत्कृष्ट दौड र समयमै गरिएको हेडरले बेन्फिकाको युरोपेली आशालाई जीवित राख्यो । युरोपेली फुटबल विज्ञ जुलियन लोरेन्सले भने, ‘मोरिन्होका लागि यो एक ऐतिहासिक क्षण हो । रियल मड्रिड, उनको पूर्वक्लब, अनि अर्कोतर्फ रियल मड्रिडका प्रशिक्षक अल्भारो आर्बेलोआ, जसलाई मोरिन्हो आफ्नो छोरासमान मान्छन्, यो आफैँमा एउटा कथा हो ।’

पुनः मड्रिड वा इन्टरको सामना
मोरिन्होका लागि मड्रिडलाई हराउनु सधैँ विशेष रहन्छ । उनले २०१० देखि २०१३ सम्म रियल मड्रिडको प्रशिक्षण सम्हाल्दै २०११–१२ मा ला लिगा जिताएका थिए । अर्कोतर्फ म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला पनि यो क्षणका साक्षी बने । उनको टोलीलाई अन्तिम आठमा स्थान बनाउन बेन्फिकाको जित आवश्यक थियो । ‘जब बेन्फिकाको गोलकिपर अगाडि बढे, हामीले सोध्यौँ, ‘ऊ किन अगाडि गएको होला ?’ किनभने यदि मड्रिडले बराबरी गोल गरेको भए हामी बाहिरिन्थ्यौँ,’ ग्वार्डिओलाले भने, ‘तर जोसेको चौथो गोल गर्ने रणनीति अन्ततः सही साबित भयो, होइन त !’
अब फेब्रुअरीमा हुने प्ले–अफमा बेन्फिकाले फेरि रियल मड्रिड वा इन्टर मिलानमध्ये एकको सामना गर्ने सम्भावना छ । इन्टर त्यही क्लब हो, जसलाई मोरिन्होले २०१० मा ऐतिहासिक ‘ट्रेबल’ जिताएका थिए । ‘म कुन टोली रोज्छु भन्न सक्दिनँ,’ मोरिन्होले भने, ‘म मड्रिड फर्कन चाहन्छु, धेरै भयो त्यहाँ नगएको । त्यसैगरी म मिलान पनि फर्कन चाहन्छु ।’
अब बर्नाबेउ होस् वा सानसिरो, मोरिन्होले केही विशेष रच्न सक्छन् भन्नेमा कसैलाई शंका छैन । तर, ट्रुबिनको त्यो अविस्मरणीय क्षणलाई जित्ने कथा लेख्न सायद स्वयं मोरिन्होलाई पनि गाह्रो पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण