शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
ब्याटल ग्राउन्ड सुनसरी–१

हर्क साम्पाङले मेयर छोड्दा धरानवासी खुसी !

संसद्तिरको पाइलालाई कुन रूपमा हेरेका छन् मतदाताले ?
शुक्रबार, १६ माघ २०८२, २० : ००
शुक्रबार, १६ माघ २०८२
00:00 / NaN:NaN
Audio By AI

विराटनगर । धरानको खानेपानी अभावलाई मुख्य एजेण्डा बनाएर अभियान छेडेका हर्कराज साम्पाङ (राई)लाई स्थानीय जनताले २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख पदमा निर्वाचित गरे । स्वतन्त्र उम्मेदवारी दिएका उनले जितेका मात्रै थिएनन्, वर्षौंदेखि आफ्नो एकलौटी बिरासत कायम गरेको नेकपा एमाले र प्रतिस्पर्धामा रहेका परम्परागत दलहरूलाई अनपेक्षित झट्का पनि दिएका थिए । 

आफू नगरप्रमुख पदमा जितेपछि साम्पाङले धरानको सडकमा ढुङ्गा बोकेर र श्रम संस्कृतिको नारा दिएर देशभर चर्चा कमाए । उनले खानेपानीका पाइप ताने, श्रमदान गरेरै ४० किलोमिटर टाढाबाट धरानका केही वडालाई पानी उपलब्ध पनि गराए । त्यसले उनको चर्चा झनै चुलियो ।

अहिले हर्कराज सम्पाङ नगर प्रमुख पदबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन् । उनी आफूमात्रै होमिएका छैनन्, आफैँ श्रम संस्कृति पार्टी खोलेर देशभरि आफ्ना समर्थकलाई खटाएका पनि छन् । अब प्रश्न उठ्छ– हर्क साम्पाङले पार्टी खोलेर प्रधानमन्त्री बन्छु भन्दै नगर प्रमुखबाट राजीनामा दिएपछि धरानका जनता खुसी छन् कि दुःखी ? उनी प्रधानमन्त्री बन्ने दौडमा लाग्दा समर्थक खुसी देखिने नै भए, आलोचकहरू पनि पालिकामा हुने सधैँको झै–झगडा अन्त्य भएकोमा खुसी देखिएका छन् ।

dharan (4)

तर, सामाजिक सञ्जालमा उनको लोकप्रियताको पारो जति तातो देखिन्छ, सुनसरी क्षेत्र नम्बर १ का गल्ली र चोकहरूमा भुइँ–मान्छेहरूको प्रतिक्रिया भने त्यति नै मिश्रित र कतिपय ठाउँमा आक्रोशपूर्ण सुनिन्छ । सुनसरी–१ मा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बर क्षेत्र तथा रामधुनी नगरपालिकाको ६ र ७ वडा समेटिएको छ ।

यहाँका मतदाता र विश्लेषकहरूसँग गरिएको कुराकानीले साम्पाङको सांसद बन्ने मोहलाई जनताले अधुरो जिम्मेवारी र उनको अहमताका रूपमा पनि लिन थालेको पाइएको छ ।

धरान–१४ का स्थायी बासिन्दासमेत रहेका प्रा.डा. टंक न्यौपाने हर्क साम्पाङको जितको आधार खानेपानीको मुद्दा नै भएको बताउँछन् । ‘पहिलेका जनप्रतिनिधिले केही नगरेपछि जनताले विकल्प खोजेका थिए । साम्पाङले त्यही मुद्दालाई क्यास गरे र जिते, तर मेयर भएपछि उहाँमा समन्वयको ठुलो अभाव देखियो,’ न्यौपानेले भने ।

Tanka Neupane (1)

न्यौपानेका अनुसार साम्पाङमा एउटा ठुलो कमजोरी अहमता पनि हो । ‘उहाँ काम त गर्नुहुन्छ तर बोल्न जान्नुहुन्न । म धरानको सबैभन्दा ठुलो मान्छे हुँ भन्ने अहम् उहाँमा पलायो,’ डा. न्यौपाने भने, ‘त्यसैले उहाँले कर्मचारी र अन्य जनप्रतिनिधिसँग समन्वय गर्न सक्नुभएन र अहिले मेयर पद नै अधुरो छोडेर अर्को बाटो रोज्नुभयो ।’

साम्पाङको कार्यकालको अर्को ठुलो विवादित पाटो भनेको वडाको अधिकार खोसेर पालिकामा केन्द्रित गर्नु हो । पहिले वडा कार्यालयबाटै सहजै हुने बिजुलीको मिटर बक्स जडान र धारा जडानको सिफारिसका लागि पनि मेयरकै हस्ताक्षर कुर्नुपर्ने अवस्था सिर्जना भयो । डा. न्यौपाने यसलाई पनि गल्ती मान्छन् ।

‘वडाले गर्दै आएका सिफारिसहरू सिधै नगरपालिकाले गर्नुपर्ने अवस्था उहाँले बनाउनुभयो । सामान्य कामका लागि पनि जनताले मेयरको मुड हेर्नुपर्ने स्थिति बन्यो । यसले सेवा प्रवाहलाई झन्झटिलो मात्र बनाएन, जनतामा सास्ती पनि थप्यो,’ न्यौपानेले भने ।

धरान–१४ की प्रतीक्षा पोखरेल हर्क साम्पाङको कामबाट असन्तुष्ट नभए पनि बोली र व्यवहारबाट भने असन्तुष्टि बढेको बताउँछिन् । ‘काममा गएका सेवाग्राहीसँग उहाँको व्यवहार कहिल्यै राम्रो भएन, हप्कीदप्की मात्रै पाइयो,’ उनले भनिन् ।

साम्पाङले सार्वजनिक रूपमै मानिसहरूलाई थर्काउने, हप्काउने र सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने गरेको गुनासो धेरैको छ । प्रतीक्षा थप्छिन्, ‘यही कारणले आज धरानका धेरै मानिस उहाँको आलोचना गरिरहेका छन् । मेयरले त सबैलाई समेट्नुपर्ने हो, तर उहाँले विभाजनमात्र ल्याउनुभयो ।’

लाहुरेहरूको सहरका रूपमा चिनिने धरान पछिल्लो समय जातीय र धार्मिक संवेदनशीलताको चपेटामा पनि परेको थियो । धरान–१४ कै लक्ष्मीराज घिमिरे भन्छन्, ‘हर्क साम्पाङले जातीय विद्वेष फैलाउन खोजेको र सामाजिक सद्भाव बिगार्ने काम गर्नुभयो ।’

डा. न्यौपानेका अनुसार धरानमा चुनावको बेलामा जातीय गन्ध पहिलेदेखि नै भए पनि साम्पाङको कार्यकालमा यो झन् सतहमा आयो । धरानमा १३ हजारभन्दा बढी क्रिश्चियन मतदाता रहेको र हर्कको झुकाव त्यता देखिएको विश्लेषण गरिन्छ ।

गोपाल मन्दिर र चर्चको विवादले त धरानमा ठुलो द्वन्द्वकै स्थिति ल्याएको थियो । ‘जातीय र धार्मिक आस्थालाई हतियार बनाउँदा धरानको सामाजिक एकतामा असर पुगेको छ,’ न्यौपानेले भने ।

narendra rai

धेरै धराने जनता साम्पाङको हप्कीदप्कीबाट आजित भएका थिए । कतिपयले त उहाँले मेयरबाट राजीनामा दिएर सांसदमा उठ्ने निर्णय गर्दा दुःखभन्दा पनि उनको शासनबाट मुक्ति पाएको महसुस गर्दै खुसी व्यक्त गरेका छन् । धरान–८ का नरेन्द्र राईले भने, ‘राजीनामा दिएर गएपछि बरु माथि नै झगडा गरुन्, यहाँ त शान्ति भयो भन्ने परेको छ ।’ बाहिरबाट हेर्दा जस्तो अवस्था हर्क साम्पाङको धरानमा नभएको उनको दाबी छ ।

धरानको राजनीतिको चर्चा गर्दा यहाँका पुराना र पाका मतदाताहरूको अनुभव निकै गहिरो देखिन्छ । धरानका स्थानीय खेम प्रसाद भण्डारीले आफ्नो ६ दशक लामो राजनीतिक यात्राको एउटा पाना पल्टाएका छन् । उनी कुनै बेलाकी चर्चित नेतृ शैलजा आचार्यसँगको आफ्नो बाल्यकालको सम्बन्ध सम्झिन्छन् ।

‘म १३ वर्षको हुँदा शैलजा आचार्य भोजपुर जानुभएको थियो । पिखुवा खोलामा उहाँ चढेको घोडाको लगाम तानेर हिँडेको मान्छे हुँ म । त्यतिबेला गाडी थिएन, घोडा नै थियो,’ उनले भने, ‘म सुत्दा र मर्दा पनि त्यही चारतारे (कांग्रेसको) झण्डा ओढेर मर्न पाऊँ भन्ने मेरो आस्था छ । तर, यस पटक भोट नयाँलाई दिन्छु ।’

खेम प्रसादजस्ता पुराना पुस्ताका मतदाताहरू अहिले धरानको अवस्था देखेर चिन्तित छन् । हर्क साम्पाङको कार्यशैलीप्रति उनको कडा टिप्पणी छ । उनी भन्छन्, ‘मेयर भनेको त क्षेत्रको अभिभावक हो । हामीले सिधै गएर भेट्न पाउनुपर्ने हो, तर उहाँलाई भेट्न पर्‍यो भने जङ्गलमा आइज भन्नुहुन्छ । यस्तो ठाडो बोली र व्यवहारले धरानको विकास कसरी हुन्छ ?’

भण्डारीको विचारमा धरानलाई अब शरीरमा हिलो छ्यापेर ढुङ्गा बोक्नेमात्र होइन, बौद्धिक र शालीन नेतृत्वको आवश्यकता छ । ‘हामीलाई धरानकै मान्छे, राम्रो र सुझबुझ भएको प्रतिनिधि चाहिन्छ,’ उनले भने, ‘पहिलेका नेताहरूको एउटा ओज हुन्थ्यो, मर्यादा हुन्थ्यो । अहिले त मेयरले जात र धर्मको कुरा गरेर मान्छेलाई दुःख दिएको देख्दा चित्त दुख्छ ।’

धरान–१४ कै ७५ वर्षीय अम्बिका घिमिरे काम गर्नेलाई नै जिताउने बताउँछिन् । ‘हार्नेलाई भोट दिइँदैन,’ उनले भनिन्, ‘जो आए पनि जनताको सेवामा लाग्नुपर्‍यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप