गोरखामा अहिल्यै कसैलाई समर्थन गर्ने निर्णय भएको छैन : प्रलोपा इन्चार्ज भट्ट
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखामा प्रत्यक्षतर्फ उम्मेदवारविहीन बनेको छ ।
- डा. बाबुराम भट्टराई र गोपालबाबु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेको छैन ।
- पार्टीले समानुपातिक उम्मेदवारलाई लिएर मतदाताकोमा मत माग्न जाने निर्णय गरेको छ, र संवाद समिति पनि बनाएको छ।
पोखरा । प्रतिनिधि सभा सदस्य पदको आसन्न निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखामा प्रत्यक्षतर्फ उम्मेदवार विहीन छ । कार्यकर्ताको दबाब भन्दै उम्मेदवारी दिएका डा. बाबुराम भट्टराई र क्षेत्र नम्बर १ का उम्मेदवार गोपालबाबू श्रेष्ठले राष्ट्रिय शक्तिलाई समर्थन गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
अहिलेसम्म कसलाई सहयोग गर्ने भन्ने निर्णय प्रलोपाले गरेको छैन । यही बिचमा समानुपातिक उम्मेदवारलाई लिएर मतदाताका घरमा पुग्ने निर्णय प्रलोपा गोरखाले गरेको छ । सिङ्गो पार्टी नै उम्मेदवारविहीन भएपछि कसलाई सघाउने भन्ने विषयमा विभिन्न अड्कलबाजी चलिरहेका छन् ।
यही सन्दर्भमा प्रलोपाका जिल्ला इन्चार्ज यानप्रसाद भट्टसँग रातोपाटीकर्मी प्रकाश ढकालले कुराकानी गरेका छन् । प्रस्तुत छ, भट्टसँग गरिएको कुराकानीको सम्पादित अंशः
गोरखामा प्रत्यक्ष उम्मेदवार नभएपछि मत माग्न जाने कि नजाने ? अब कसरी अगाडि बढ्नुहुन्छ ?
हामीले जिल्लाको बैठक बसेर अब समानुपातिक उम्मेदवारलाई लिएर दुवै निर्वाचन क्षेत्रमा मत माग्न जाने र निर्वाचन परिचालन समिति बनाएर अगाडि बढ्ने निर्णय गरेका छौँ । उम्मेदवार खाली भएको सन्दर्भमा राजनीतिक छलफल गर्न एउटा संवाद समिति पनि बनाएका छौँ ।
यो खासै ठुलो कार्यकारी समिति त होइन, तर बैठकमा एजेन्डा आएकाले राजनीतिक संवादका लागि यो बनाइएको हो ।
वैकल्पिक शक्तिको दाबी गर्ने पार्टी आज गोरखाका दुवै क्षेत्रमा उम्मेदवारविहीन छ । तपाईंको पार्टीप्रति शुभेच्छा राख्नेले कसलाई भोट हाल्ने हो ?
यो हाम्रो लागि एउटा दुर्घटना हो । अलिकति सावधानी र सुझबुझ नपुग्दा यस्तो परिस्थिति आयो । यसका लागि जिल्ला नेतृत्वको हैसियतले मैले जनता र पार्टी पंक्तिसँग क्षमा पनि मागेको छु । हामीले वैकल्पिक शक्ति निर्माणको अभियान चलाएको लामो समय भए पनि यसलाई सशक्त बनाउन नसक्नुको परिणाम हो यो ।
हामीसँग आफ्ना उम्मेदवार प्रत्यक्षतर्फ छैनन् भन्ने सत्य हो, तर यतिबेला नै ठ्याक्कै यही दललाई समर्थन गर्ने भनेर हामीले निर्णय गरिसकेका छैनौँ । अहिलेको समस्यालाई सम्बोधन गर्न सक्ने वैकल्पिक शक्तिका रूपमा अन्य दललाई स्वीकार गर्न सकिने अवस्था छैन । त्यसैले हतारमा निर्णय गर्नुभन्दा जिल्लाका साथीहरू र मतदातासँग गम्भीर छलफल गरेरमात्र अगाडि बढ्ने निष्कर्षमा हामी पुगेका छौँ ।
त्यसो भए मतदाताले तपाईंहरूको निर्णय आउन कति प्रतीक्षा गर्नुपर्ला ?
केही समय त कुर्नैपर्छ । निर्वाचनको मिति नजिकिँदै जाँदा माहोल अझ घनीभूत हुन्छ । त्यसपछि हामी एउटा निर्णयमा पुग्नेछौँ । अहिले नै कसैलाई समर्थन गरिहाल्नुपर्ने वा तटस्थ बस्नुपर्ने अवस्था खडा भएको छैन । नयाँ–नयाँ घटना विकसित भइरहेका छन् । उपयुक्त समयमा उपयुक्त निर्णय हामी गर्छौं ।
प्रत्यक्षमा उम्मेदवार छैन तर समानुपातिकमा भोट माग्दै हुनुहुन्छ । भोट माग्न जाँदा प्रत्यक्षमा चाहिँ कसलाई हाल्ने भनेर जनताले सोधे के जबाफ दिनुहुन्छ ?
हो, यो प्रश्न आउँछ । हामी मतदाताहरूसँगै छलफल गर्छौं । गोरखा जिल्लाको समग्र हितमा काम गर्न सक्ने उम्मेदवार को हुन सक्छ भनेर उहाँहरूको राय लिन्छौँ । यो भेटघाटलाई सुझाव सङ्कलन अभियान पनि बनाउछौँ । हामीले मात्रै कोठाभित्र निर्णय गर्नु लोकतान्त्रिक हुँदैन । तल्लो तहका कार्यकर्ता र मतदाताको भावना बुझेर, उहाँहरूको सल्लाह सुझावलाई केन्द्रिकृत गरेरमात्र साझा निर्णय गर्छौं । नत्र नेतृत्वको सोच र मतदाताको सोच नमिल्दा भोलि अर्को दुर्घटना हुन सक्छ ।
उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिँदा जिल्ला कमिटीसँग सल्लाह गरेनन् ? कि आफूखुसी फिर्ता लिएका हुन् ?
जानकारी र सामान्य सल्लाह त भयो, तर जिल्ला पार्टीको स्पिरिट भनेको उम्मेदवारी दर्ता गरिसकेपछि फिर्ता लिनु हुँदैन भन्ने नै थियो । उम्मेदवार स्वयं र माथिल्लो नेतृत्वले नै फिर्ता लिन जिद्दी गरेपछि हामीले रोक्न सकेनौँ । हाम्रो चाहना र उम्मेदवारको निर्णय मेल खाएन भनौँ अब ।
क्षेत्र नम्बर २ मा डा. बाबुराम भट्टराईले सार्वजनिक वक्तव्य दिएरै उम्मेदवारी फिर्ता लिनुभयो, तर क्षेत्र नम्बर १ का उम्मेदवारले चाहिँ किन छोड्नुभयो ?
क्षेत्र नम्बर १ का उम्मेदवारको आफ्नै कुनै अलग तर्क छैन । जब मुख्य मान्छे (बाबुराम भट्टराई) ले नै उम्मेदवारी झिकिसकेपछि मैलेमात्रै लडेर के अर्थ हुन्छ भनेर उहाँले पनि जिद्दी गर्नुभयो । सुरुमा आफैँले दाबी गरेर उठ्नुभएको थियो, पछि शीर्ष नेतृत्वले छोडेपछि उहाँले पनि छोड्नुभयो ।
अन्य दलहरूले बाबुरामको पार्टीको समर्थन हामीलाई छ भनेर दाबी गरिरहेका छन् । के तपाईंहरूले कसैलाई बचन दिनुभएको हो ?
हामीले कसैलाई बचन दिएका छैनौँ र कुनै निर्णय पनि गरेका छैनौँ । दलहरूले आ–आफ्नो कोणबाट दाबी गर्नु स्वाभाविक हो, तर हामी जिल्ला संयोजक नारायण खत्री, म र पवन रमण खनालसहितको तीन सदस्यीय समिति र अन्य विशेषज्ञहरूसँग छलफल गरेर साझा बुझाइ बनाएपछि मात्र आधिकारिक निर्णय सार्वजनिक गर्छौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण