बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फागुन २१ पछिको संसद् बैठक पुतली बगैँचास्थित निर्माणाधीन भवनमा बस्ने

आइतबार, १८ माघ २०८२, १६ : ४२
आइतबार, १८ माघ २०८२

सारांश

  • आगामी २१ फागुनको निर्वाचनपछि बन्ने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद भवनमा सञ्चालन हुनेछ।
  • संसद सचिवालयका अनुसार, निर्माणाधीन संसद भवनका १२ मध्ये ६ वटा भवन उपलब्ध हुनेछन्, जसमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नेछन्।
  • सचिवालयका प्रवक्ताका अनुसार, भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ, र चैतसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष्य छ।

काठमाडाैँ । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ । निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधीन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताए । उनका अनुसार प्रतिनिधिसभा गठन भइसकेपछि राष्ट्रियसभाको बैठक समेत सोही निर्माणाधिन संसद भवनबाटै सञ्चालन हुनेछ ।

प्रवक्ता गिरीले निर्माणाधीन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताए । उनले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि सचिवालयले अन्य कुनै विकल्प नहेरेको समेत बताए ।

उनले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद सञ्चालन गर्न आवश्यक तयारी भइरहेको समेत जानकारी दिए । उनले भने, ‘निर्वाचनपश्चात गठन हुने प्रतिनिधि सभाको बैठक कहाँ बस्छ भन्ने जिज्ञासा बारम्बार आउने गरेको छ । यस सम्बन्धमा सचिवाले पनि नेपाल सरकारसँग छलफल गरिरहेकै अवस्था हो ।

पछिल्लो छलफलअनुुसार नेपाल सरकारले जुन निर्माणाधिन संसद भवन छ त्यसमा १२ वटा भवन रहेका छन् । जसमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने अब गठन हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकसमेत निर्माणाधीन संसद भवनमै बस्ने जानकारी सरकारले गराएको छ । अहिले त्यहाँ ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ ।’

यसअघि संसद बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका थिए । उक्त भवनको पुर्ननिर्माण कार्य अझै सुरु भएको छैन । हाल राष्ट्रियसभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ । –न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप