बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक र फोहोरको डब्बाबाट सुन तस्करी गर्ने स्वीपर पक्राउ

बुधबार, २१ माघ २०८२, १७ : २४
बुधबार, २१ माघ २०८२

सारांश

  • त्रिभुवन विमानस्थलमा अवैध सुनसहित एक भारतीय नागरिक र सरसफाइ कर्मचारी पक्राउ परेका छन्।
  • दुबईबाट आएका भारतीय नागरिकले मलद्वारमा सुन लुकाएको अवस्थामा फेला परे।
  • विमानस्थलबाट सुन बाहिर लैजान खोज्ने सरसफाइ कर्मचारी सुनको सिक्रीसहित पक्राउ परे।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक र विमानस्थलमा कार्यरत एक सरसफाइ कर्मचारी (स्वीपर) पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयले छुट्टाछुट्टै दुई घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बुधबार बिहान करिब १० बजे दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकत कुदरते खुदा काजीलाई प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा उनले मलद्वारभित्र सुन लुकाएको आशङ्का भएपछि उनलाई शौचालयमा शौच गर्न लगाइएको थियो। 

सो क्रममा उनको शरीरबाट करिब १०० ग्राम तौल भएको पहेँलो रङको बेलनाकार अर्धठोस धातुको डल्ला बरामद भयो। भन्सार छली गरी अवैध रूपमा सुन भित्र्याउन खोज्ने ती भारतीय नागरिकलाई प्रहरीले आवश्यक कारबाहीका लागि बुझाएको छ।

यस्तै, विमानस्थलको आन्तरिक सुरक्षा व्यवस्था छलेर सुन बाहिर लैजान खोज्ने सुनगाभा सगरमाथा सर्भिस प्रालिका सरसफाइ कर्मचारी ४० वर्षीय डिक बहादुर राउत पनि पक्राउ परेका छन्।  मंगलबार बिहान विमानस्थल भित्रको डस्टबिनबाट फोहोर सङ्कलन गरी बाहिर निस्कने क्रममा प्रहरी चेकिङ पोस्टमा उनको फोहोरको पोका स्क्रिनिङ गरिएको थियो। 

सो क्रममा फोहोरभित्र लुकाइएको ४.४ ग्रामको सुनको सिक्रीका टुक्राहरू फेला परेपछि राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप