शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
झापा ५

प्रशासनले भन्यो– बालेनपत्नी सविनासँग सादा पोसाकका प्रहरी थिएनन्

बुधबार, २१ माघ २०८२, २० : ४३
बुधबार, २१ माघ २०८२

सारांश

  • झापामा बालेन्द्र शाहकी पत्नीसँग हिँडेकाहरू सादा पोसाकका प्रहरी नभएको प्रारम्भिक छानबिनबाट पुष्टि भयो।
  • निर्वाचन आयोगमा उजुरी परेपछि छानबिन गर्न निर्देशन दिइएको थियो, जसमा प्रहरीले मत मागेको आरोप लागेको थियो।
  • प्रशासनको रिपोर्टअनुसार, उनीहरूसँग हिँडेकाहरू रास्वपाका सदस्य, आफन्त र घरधनीहरू थिए।

काठमाडौँ । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहपत्नी सविना काफ्लेसँग घरदैलोका क्रममा हिँडेकाहरू सादा पोसाकका प्रहरी नभएको प्रारम्भिक छानबिनबाट पुष्टि भएको छ ।

निर्वाचन आयोगमा सादा पोसाकका प्रहरीले उम्मेदवार बालेन्द्र शाहको पक्षमा मत मागेको भनी उजुरी परेपछि आयोगले अनुसन्धान गर्न निर्देशन दिएको थियो । 

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाहकी पत्नी सविना काफ्लेले घरदैलो गर्दा उनीसँगै हिँडेका केही व्यक्तिले बालेनका लागि मत मागेको बताइएको थियो । साथमा चस्मा लगाएका महिलाहरू देखिएका थिए, जसलाई सामाजिक सञ्जालमा ‘सादा पोसाकका प्रहरी’ भनेर चर्चा गरिएको थियो । 

उजुरी परेपछि निर्वाचन आयोगले अनुगमन अधिकृतलाई त्यसबारे अनुसन्धान गर्न पत्राचार गरेको थियो । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन अनुगमन अधिकृत तेज प्रकाश प्रसाईंको नेतृत्वमा गठित समितिले प्रारम्भिक छानबिन गरी आयोगमा प्रतिवेदन पेस गरेको हो । 

प्रशासनको आन्तरिक रिपोर्टअनुसार सविनासँग हिँडेकाहरू प्रहरी नभई उनका आफन्त, रास्वपाका सदस्य र उनलाई घर भाडामा दिने घरधनीहरू थिए । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत तेज प्रकाश प्रसाईंले उजुरीमा उल्लेख भएअनुसार प्रमाणित हुने आधार नदेखिएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, 'अहिले प्रमाणित हुने आधार देखिएन, यसबारे थप भेरिफिकेसन हुनेछ ।'

प्रारम्भिक छानबिनमा त्यस्तो नदेखिएको र निर्वाचन आयोगले विस्तृत रिपोर्ट तयार गर्ने उनले जानकारी दिए । 

यस विषयबारे छानबिनका लागि जिल्ला प्रशासन कार्यालय झापाले प्रहरीसँग समन्वय गरेको थियो । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञ प्रसाद भट्टराईले उजुरी परेपछि त्यसबारे निश्चित गर्न अनुगमन अधिकृतलाई निर्देशन दिइएको जानकारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप