गुल्मी–१ : कांग्रेस–एमाले भिडन्तबिच सागरको ‘क्रेज’
सारांश
- गुल्मी-१ मा फागुन २१ मा हुने निर्वाचनमा कांग्रेस र एमालेका पुराना नेताहरूबीच प्रतिस्पर्धा हुने भएको छ।
- एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट डा. चन्द्रकान्त भण्डारी चुनावी मैदानमा उत्रिएका छन्, भने रास्वपाबाट सागर ढकालले पनि प्रतिस्पर्धा गर्ने भएका छन्।
- विश्लेषकका अनुसार यसपटकको प्रतिस्पर्धामा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ, तर रास्वपाको उपस्थितिले नतिजामा असर पार्न सक्ने देखिन्छ।
काठमाडौँ । वामपन्थीको राम्रो प्रभाव क्षेत्र रहेको गुल्मी–१ मा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबाट चिरपरिचित प्रतिद्वन्द्वी नै मैदानमा उत्रिएका छन् ।
एमालेका शालीन नेता प्रदीप कुमार ज्ञवाली र कांग्रेसका बौद्धिक नेता डा. चन्द्रकान्त भण्डारीले उम्मेदवारी दिएका छन् । पूर्वमन्त्री एवं एमालेका पूर्वउपमहासचिव ज्ञवाली छैटौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनी २०५६, २०६४ र २०७४ मा निर्वाचित भएका थिए ।
२०६३ मा पर्यटन र २०७४ सालमा परराष्ट्रमन्त्री भएका थिए ।
भण्डारी चारौँ पटक मैदानमा उत्रिएका छन् । २०७० सालमा ज्ञवालीलाई हराएर भण्डारी पहिलोपटक संसदमा प्रवेश गरेका थिए । उनी २०७४ सालमा ज्ञावालीसँग पराजित भए । २०७९ को निर्वाचनमा ज्ञवालीलाई हराएर दोस्रोपटक प्रतिनिधिसभामा योपटक नेपाली कम्युनिस्ट पार्टीबाट सुदर्शन बरालले चुनौती दिएका छन् ।
साविक नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष रहेका बराल २०६४ सालमा गुल्मी–१ बाट गोकर्ण विष्टलाई पराजित गरी संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा बराल कांग्रेसका कृष्णबहादुर छन्तेल थापासँग पराजित भएका थिए । गुल्मीमा उनी लोकप्रिय र बेदागी व्यक्ति भएकाले उनको पक्षमा पनि राम्रै माहोल देखिएको विश्लेषण भइरहेको छ ।
यसपटक नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सागर ढकाललाई चुनावी मैदानमा उतारेको छ । ढकाल २०७९ को निर्वाचनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई हराउने उद्देश्य साथ डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
तर २०४८ सालदेखि लगातार विजेता देउवासँग उनी पराजित भएका थिए । योपटक कांग्रेसबाट देउवाले टिकट नै पाएनन् । आफ्नो मिसन पुरा भएको भन्दै ढकाल गृहजिल्ला गुल्मीबाट उम्मेदवार बनेका हुन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा रास्वपाका दामोदर भण्डारीले उम्मेदवारी दिएका थिए । भण्डारी ३३ हजार ७४४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरेका थिए, रास्वपाका भण्डारीले एक हजार ८८२ मत प्राप्त गरेका थिए ।
२०७९ सालमा समानुपातिकतर्फ मत केलाउँदा एमाले २८ हजार ४५३ मतसहित अगाडि छ । दोस्रोमा कांग्रेसले २३ हजार ४१३ मत प्राप्त गरेको छ । तेस्रोमा रास्वपाले ८ हजार ११६ मत प्राप्त गर्दा माओवादी ६ हजार २५७ मत सहित चौथो स्थानमा छ । राष्ट्रिय जनमोर्चाको एक हजार २२४, राप्रपाको ८७६ र एकीकृत समाजवादीको २५६ मत छ । अघिल्लो निर्वाचनमा कांग्रेसलाई माओवादी र एकीकृत समाजवादीले समर्थन गरेको थियो ।
गुल्मी–१ मा कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिकाका वडा नं. ७, ८, ९, १०, ११, १२, १३, १४ पर्छन् ।
प्रतिस्पर्धीका आ–आफ्नै दाबी
कांग्रेसका उम्मेदवार भण्डारी वास्तविक र भर्चुअल धरातल फरक रहेको बताउँछन् । चुनावी प्रचार–प्रसारका लागि निर्वाचन क्षेत्रमा रहेका उनी प्रविधिसँगै नयाँ पुस्ता हुर्किएकाले आगामी निर्वाचन चुनौतीपूर्ण नै रहेको बताउँछन् ।

‘रियल वर्ल्ड र भर्चुअल वर्ल्ड फरक छ । सामाजिक सञ्जालमा नयाँको जसरी लहर चलेको छ, वास्तविक ग्राउन्डमा त्यस्तो देखिएको छैन । निश्चय नै अहिलेका जेनेरेसन प्रविधिसँगै हुर्किएका छन् । हामी भर्खर प्रवेश गर्दैछौँ । सहरमा बसेका, देश विदेशमा बसेका युवाहरू नयाँको पक्षमा देखिएका छन्,’ रातोपाटीसँग उनले भने, ‘तर आजको दिनसम्म वास्तविक धरातलमा भर्चुअलको प्रभाव देखिएको छैन । अहिले नै के हुन्छ भनेर भन्ने अवस्था छैन । त्यसका लागि एक÷दुई हप्ता कुर्नुपर्छ । हाम्रो क्षेत्रमा मत प्रभावित भएको छैन । अन्य निर्वाचन क्षेत्रको तुलनामा यस क्षेत्रमा पहिलेदेखि नै स्वस्त प्रतिस्पर्धा गर्दै आएका छौँ । योपटक पनि हामी जसको जितहार भएपनि निर्वाचन प्रतिस्पर्धा यस्तो हुनुपर्छ भनेर सकारात्क सन्देश दिन्छौँ ।’
भण्डारीका प्रतिस्पर्धी एमालेका उम्मेदवार ज्ञवाली चुनावी माहोल एमालेको पक्षमा राम्रै देखिएको जिकिर गर्छन् । प्रतिस्पर्धीहरूबिच सौहार्दपूर्ण तरिकाले प्रचारप्रसारको कार्यक्रम भइरहेकाले अहिले नै कसको स्थिति कस्तो छ भनेर भन्न सक्ने स्थिति नभएको उनले बताए । ‘अहिलेसम्म चुनावी माहोल राम्रो छ । प्रतिस्पर्धा स्वच्छ रूपमा भइरहेको छ । अहिले नै यही हो भन्ने अवस्था छैन,’ उनले भने ।
_h8O06nZtcy.jpg)
यता तेस्रो पटक संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बराल कांग्रेस र एमालेको मत रास्वपाले काट्ने हुँदा त्यसको फाइदा आफूहरूलाई हुने जिकिर गर्छन् । उनले भने, ‘पहिलेको भन्दा योपटक हाम्रो पार्टीको माहोल राम्रो बन्दै गएको छ । रास्वपाको उपस्थितिले कांग्रेस र एमालेको मत प्रभावित हुने देखिन्छ । त्यसको आधारमा हामी पहिलो हुन्छौँ । मतदाताहरूले हामीलाई राम्रो दृष्टिकोणले हेरेका छन् ।’

यता रास्वपाका उम्मेदवार सागर ढकाल चुनावी कार्यक्रममा व्यस्त भएकाले प्रतिक्रिया लिन सकिएन । तर जिल्ला सभापति भोजराज पाण्डे योपटक दुवै क्षेत्र रास्वपाले ‘क्लिन स्विप’ गर्ने दाबी गर्छन् ।
‘सागर ढकाल नेसन आइकन हो । २०७९ को निर्वाचनमा डडेलधुराबाट शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर १३ हजार ल्याएर सहानुभूति प्राप्त गर्नुभयो । योपटक आफ्नै जिल्लाबाट उम्मेदवारी दिनुभएको छ,’ पाण्डेले भने, ‘३४ वर्षदेखि कांग्रेस र एमालेले केही गर्न सकेनन् । पुराना दलका गतिविधिबाट निराश भएका मतदाता योपटक मत परिवर्तन गर्ने पक्षमा देखिएका छन् । यहाँ हाम्रो पक्षमा राम्रो लहर देखिएको छ, दुवै क्षेत्र जित्छौँ ।’

के भन्छन् विश्लेषक ?
यद्यपि त्रिचन्द्र कलेजका प्राध्यापक माधव न्यौपाने योपटक पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबिच हुने विश्लेषण गर्छन् । योपटक देशैभर सामाजिक सञ्जालमा रास्वपाको लहर आएकाले त्यसले केही प्रभाव पार्न सक्ने उनको अनुमान छ । योपटक एमालेको पक्षमा माहोल बिग्रिएको न्यौपानेको विश्लेषण छ । जेनजी विद्रोहको क्रममा सरकारको नेतृत्व अध्यक्ष केपी ओलीले गरेको र ज्ञवाली ओपीकै पक्षमा निरन्तर वकालत गरेका व्यक्ति भएकाले मतदताहरू उनीसँग रिसाएको न्यौपानेको बुझाइ छ । यता निर्वाचनको मुखैमा कांग्रेसले नेतृत्व परिवर्तन गरेर निर्वाचनमा होमिएको, नयाँप्रति चन्द्र भण्डारीको सकारात्मक प्रतिक्रिया दिँदै आएकाले कांग्रेसको माहोल विस्तारै बन्दै गएको उनको बुझाइ छ ।
एमाले नेता प्रदीप ज्ञवालीलाई यसपटक चुनाव प्रचारमा केही कठिन भइरहेको स्थानीय नेताहरूले रिपोर्टिङ गरेका छन् । केपी ओलीसँगको निकटता र एमाले सरकारको पालामा भएका केही निर्णयहरूका कारण कार्यकर्ता र आम जनतामा केही असन्तुष्टि देखिन्छन् । केही पुराना एमाले कार्यकर्ताहरूले पार्टी छोडेको वा निष्क्रिय रहेको चर्चा पनि भइरहेको छ,’ उनले भने, ‘तर चन्द्र भण्डारीको माहोल दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । पार्टीभित्र गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारिएको र विशेष महाधिवेशन पछिको फेरिएको कांग्रेसको नाराले उनलाई फाइदा पुगेको देखिन्छ । पहिलेभन्दा यस पटक कांग्रेस एक ढिक्का भएर लागेको र चन्द्र भण्डारीको व्यक्तिगत छविले पनि सकारात्मक प्रभाव पारेको छ ।’
न्यौपानेले सागर ढकालको चर्चा सामाजिक सञ्जालमा निकै धेरै भएकाले प्रतिस्पर्धा त्रिपक्षीयजस्तो देखिने विश्लेषण गरे । यद्यपि, ग्राउन्ड रियालिटी (भुईँ तहको अवस्था) मा भने उनी त्यति बलियो नभएको उनको भनाइ छ । ‘सागरको वडा (रुरु क्षेत्र, जोहाङ) कांग्रेसको गढमा मानिन्छ र त्यहाँ पनि उनलाई सोचेजस्तो समर्थन नभएको कुरा आएको छ । चुनाव जित्नका लागि आवश्यक पर्ने ठुलो संख्याको मत (२०–२५ हजार) उनले प्राप्त गर्न गाह्रो हुने स्थानीयहरूको अनुमान छ,’ उनले भने ।
यता नेकपाका उम्मेदवार सुदर्शन बराल एक लोकप्रिय र स्वच्छ छवि भएका नेता हुँदाहुँदै पनि पार्टीको मत धेरै नभएकाले जित निकाल्न कठिन हुने न्यौपाने बताउँछन् ।
उनले भने, ‘माओवादीको सुरक्षित मत (करिब ८–९ हजार) उनको पक्षमा रहने देखिन्छ, तर मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबिच नै हुने भएकाले उनलाई जितका लागि थप मत जुटाउन चुनौतीपूर्ण छ ।’
न्यौपानेले सामाजिक सञ्जालको माहोल हेर्दा प्रतिस्पर्धा त्रिपक्षीय (एमाले, कांग्रेस र रास्वपा) देखिए पनि वास्तविक ग्राउन्डमा मुख्य भिडन्त कांग्रेस (भण्डारी) र एमाले (प्रदीप ज्ञवाली) बिच नै हुने देखिने निष्कर्ष सुनाए ।
विगतको अवस्था

२०४८ सालमा गुल्मीमा तीन वटा क्षेत्र रहँदा कांग्रेस सबैमा विजयी भएको थियो । २०५१ सालमा एमालेले तीनवटै क्षेत्रमा कब्जा जमायो । २०५६ सालमा भएको निर्वाचनमा तीनवटै क्षेत्रमा विरासत कायम राख्यो । त्यतिबेला क्षेत्र नं. १ मा फटिक बहादुर थापा, क्षेत्र नं. २ मा प्रदीप ज्ञवाली र क्षेत्र नं. ३ मा गोकर्ण विष्ट विजयी भएका थिए ।
२०६३ सालको अन्तरिम संसद्मा पनि यी तीनै जनाले निरन्तरता पाएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ र ३ माओवादी विजयी हुँदा क्षेत्र नं. २ मा प्रदीप ज्ञवाली विजयी भए । २०७० सालमा गुल्मी क्षेत्र नं. १ र २ मा कांग्रेस विजयी भयो । गुल्मी–३ मा गोकर्ण विष्ट विजयी भए । ज्ञवालीलाई पराजित गरी कांग्रेसका भण्डारी विजयी भए ।
२०७४ सालमा गुल्मी– १ मा ज्ञवाली र गुल्मी–२ मा गोकर्ण विष्ट विजयी भए । २०७९ सालमा गुल्मी–१ मा भण्डारी विजयी भएका थिए भने गुल्मी–२ बाट एमालेका विष्ट विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण