‘पारिश्रमिक धेरै दिन्छु भने पनि पार्टीको गीत गाउँदिनँ’
सारांश
- गायिका शान्तारानी परियार मेला महोत्सवमा व्यस्त छिन्, र उनलाई देशैभरिका कार्यक्रमको निम्तो आएको छ।
- निर्वाचनका कारण फागुनमा मेला महोत्सव कम हुने र उनलाई केही फुर्सद मिल्ने देखिएको छ।
- परियारले राजनीतिक दलका गीतको प्रस्ताव अस्वीकार गर्दै, आफूलाई स्वतन्त्र कलाकार बताइन्।
काठमाडौं । ‘तानातान भो, हानाहान भो’ गायिका शान्तारानी परियारले गाएको पछिल्लो समयको हिट गीत हो । परियार यतिबेला मेला–महोत्सवमा निकै व्यस्त छिन् ।
गत वर्ष ‘म त ढल्लेँ ढल्लेँ’ गीतका कारण चर्चामा रहेकी उनलाई देशैभरका कार्यक्रमबाट निम्तो आउने गरेको छ, जसका कारण उनलाई भ्याइनभ्याइ छ । माघमा मात्र होइन, फागुनको ८, १० गतेसम्म उनी ‘प्याक’ छिन् ।
निर्वाचनका कारण फागुनमा मेला–महोत्सव त्यति आयोजना नहुने भएकाले त्यसपछि केही फुर्सद मिल्ने उनी बताउँछिन् । निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका प्रचार गीत बन्न थालेका छन् । करिब १३ सय गीत गाइसकेकी उनलाई पनि विभिन्न दलले गीतको अफर गर्ने गरेका छन् ।
कलाकार कुनै दलभन्दा स्वतन्त्र हुनुपर्छ भन्दै आफूले त्यस्ता प्रस्ताव अस्वीकार गर्ने गरेको उनी बताउँछिन् । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश-
- अहिलेको व्यस्तता के कस्तो छ ?
–अहिले विभिन्न मेला महोत्सवका कार्यक्रमले एकदमै व्यस्त छु । आज कार्यक्रमको सिलसिलामा दाङमा छु । पुसदेखि सुरु भएको व्यस्तताको तालिका माघ महिना र फागुनको दोस्रो सातासम्म लगभग प्याक नै छ ।
- महिनामा कतिवटा कार्यक्रम भ्याउनुहुन्छ ?
–यति नै भन्ने हुँदैन । प्रायः दैनिकजसो कार्यक्रम परिरहेको हुन्छ । माघ महिनाभरिमा करिब २५–२६ वटा कार्यक्रमको सेड्युल छ । फागुन ८–१० गतेसम्मलाई फुर्सद छैन । कार्यक्रम नै कार्यक्रममा प्याक छु ।
- स्टेजमा कस्ता गीत गाउनुहुन्छ ?
मैले रेकर्ड गरेका दोहोरी गीतहरू नै बढी गाउँछु । खासगरी पछिल्लो समयका मेरा हिट गीत ‘म त ढल्ले ढल्ले’, ‘हाना हान भो ताना तान भो’, ‘पोखरा पृथ्वीचोकैमा’ लगायत छुटाउँदिनँ ।
- स्टेजमा पुग्दा दर्शकहरूले कुन गीत बढी डिमान्ड गर्छन् ?
–अहिले जहाँ कार्यक्रममा जाँदा पनि दर्शकले बढी डिमान्ड गर्ने गीत ‘म त ढल्ले ढल्ले’, ‘हाना हान भो ताना तान भो’, ‘पोखरा पृथ्वीचोकैमा’ हो । त्यसपछि ‘सिरफूल शिरको’, ‘बुझेन मायाले प्यार गरेको’ र ‘कान्छी मायाको गाला पुक्क पुक्क’ जस्ता गीतहरूको पनि डिमान्ड आउँछ । हिजोआजका अडियन्सले युट्युब र सामाजिक सञ्जालमा जे चलेको छ, त्यही सुन्न खोज्नुहुन्छ ।
- एक कलाकारका लागि मेला–महोत्सव कत्तिको महत्त्वपूर्ण हुन्छ ?
–कलाकारका लागि यो धेरै महत्त्वपूर्ण छ । एक त दर्शक–श्रोतासँग प्रत्यक्ष भेटघाट र प्रतिक्रिया लिने अवसर पाइन्छ, अर्कोतर्फ कलाकारको आम्दानीको मुख्य स्रोत पनि अहिले यही हो । पारिश्रमिक लिने हुनाले यसले आर्थिक रूपमा पनि राम्रो सहयोग पुग्छ । कार्यक्रम विभिन्न फरक–फरक ठाउँमा आयोजना हुने भएकाले घुम्ने अवसरसमेत मिल्छ ।
- कार्यक्रमको पारिश्रमिकलाई लिएर बेलाबेलामा विवाद हुने गर्छ, कलाकारहरू ठगिन्छन् भनिन्छ नि ?
–कतिपय ठाउँमा आयोजकले घाटा भयो भनेर कलाकारलाई सम्झौताअनुसार पैसा नदिने समस्या हुन्छ । कतै चाहिँ राम्रो कमाइ हुँदाहुँदै पनि कलाकारको रेट घटाउन खोज्ने मनसाय भएका आयोजक पनि भेटिन्छन् । त्यसले विवाद निम्त्याउने हो । कतिपय स्थानमा बिचौलियाले चलखेल गर्दा कलाकार ठगिने गर्छन् ।

- कार्यक्रमका लागि कलाकार बिचौलियाले सिफारिस गर्छन् रे ?
–एक डिमान्डेड गायक–गायिकालाई त कसैले पनि सिफारिस गर्नुपर्दैन । डिमान्डेड कलाकारलाई सिफारिसभन्दा आयोजक आफैँले खोजेर लैजानुहुन्छ । डिमान्ड नभएकाको सिफारिस हुन्छ भने मलाई थाहा भएन ।
- अहिले निर्वाचनको माहोल छ, यसले सांगीतिक क्षेत्रलाई कस्तो असर गर्ला ?
–निर्वाचनका कारण अहिलेदेखि नै कार्यक्रम थोरै हुन थालेका छन् । फागुनमा प्रचारप्रसारमा सबै लाग्ने भएकाले कार्यक्रम हुँदैनन् । यसले गर्दा एक व्यस्त कलाकारलाई कम्तीमा १०–१२ लाख रुपैयाँ आर्थिक घाटा लाग्छ ।
- आफ्नो यति ठुलो कमाइ गुम्दा त दुःख लाग्दैन ?
–देशमा राम्रो र योग्य नेता आउँछन्, देशले सही गति लिन्छ र रोजगारी सिर्जना हुन्छ भने हामी कलाकारलाई १०–१२ लाख घाटा लाग्नु ठूलो कुरा होइन । एक महिना कार्यक्रम नगरेर केही फरक पर्दैन, तर भोट दिँदा चाहिँ पार्टी र मान्छेभन्दा देश बनाउने भिजन भएको व्यक्ति रोज्नुपर्छ ।
- निर्वाचनको समयमा पार्टी प्रचारका गीत पनि बन्ने गर्छन् । तपाईँलाई यस्ता गीतका अफर कत्तिको आउँछन् ?
अफर त धेरै आउँछन्, तर म गाउँदिनँ । म कुनै एक पार्टीको मात्र नभएर समग्र देशको साझा कलाकार हुँ । एक पार्टीको गीत गाउँदा अर्को पार्टीका दर्शकले मलाई हेर्ने दृष्टिकोण बदलिन्छ कि भन्ने लाग्छ । त्यसैले पारिश्रमिक धेरै दिन्छुभन्दा पनि म पार्टीगत गीत गाउँदिनँ । सबै नेता र पार्टीप्रति मेरो उत्तिकै सम्मान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण