'भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य हो, ३० प्रतिशत योगदान अझ बढाउँछौँ'
सारांश
- मुम्बईमा आयोजित आउटबाउन्ड ट्राभल मार्टमा नेपालले बलियो उपस्थिति जनाएको छ, जसमा ३४ निजी पर्यटन कम्पनीहरू सहभागी छन्।
- मेलामा नेपालले पर्यटन अफर, प्याकेज र गन्तव्य प्रवर्द्धन गर्ने र भारतीय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।
- नेपाल पर्यटन बोर्डले पर्यटनको बजारीकरण र प्रवर्द्धनमा जोड दिँदै, पूर्वाधार विकास र बजारीकरणमा लगानी बढाउनुपर्नेमा जोड दिएको छ।
एसियाकै अग्रणी पर्यटकीय व्यापार मेला ‘आउटबाउन्ड ट्राभल मार्ट’ (ओटीएम) २०२६ मा नेपालले आफ्नो बलियो उपस्थिति जनाएको छ । मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा भइरहेको यस मेलामा नेपाल पर्यटन बोर्डको नेतृत्वमा ३४ वटा निजी पर्यटन कम्पनी, नेपाल वायुसेवा निगम र पर्यटन बोर्डका प्रतिनिधिहरू सहभागी भएका छन् । यसै सन्दर्भमा नेपाल पर्यटन बोर्डका पर्यटन बजारीकरण तथा प्रवर्धन महाशाखा,वरिष्ठ प्रबन्धक सुमन घिमिरेसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश । उनी विगत १८ वर्षदेखि नेपालको पर्यटनको बजारीकरण, प्रवर्धन र विकासमा सेवारत छन् । उनले पर्यटन र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।
यो कार्यक्रमका बारेमा जानकारी गराइदिनुस् न
ओटिएम (आउटबाउन्ड ट्राभल मार्ट) भारतको मात्र नभई एसियाकै ठुला पर्यटकीय मेलाहरूमध्ये एक हो । यो विशेषगरी ‘आउटबाउन्ड ट्राभल मार्केट’ लक्षित कार्यक्रम हो, जसले भारतबाट विदेश भ्रमणमा जाने पर्यटकहरूका लागि एउटा उत्कृष्ट ‘बीटुबी’ (बिजनेस टु बिजनेस) प्लेटफर्म उपलब्ध गराउँछ । मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा फेब्रुअरी ५ देखि सुरु भएको यो मेला आजसम्म चल्नेछ ।
यो मेला मुख्य गरी चारवटा कारणले निकै महत्त्वपूर्ण र आकर्षक छ ।
पहिलोः यो आउटबाउन्ड ट्राभल शो भएकाले यहाँ क्रेता र विक्रेता बीच नेटवर्किङको राम्रो अवसर हुन्छ । यसपटक नेपालबाट पर्यटन बोर्ड, नेपाल एयरलाइन्स र ३४ वटा निजी ट्राभल ट्रेडिङ कम्पनी गरी कुल ३६ वटा संस्थाको सहभागिता छ । उनीहरूले नेपालको पर्यटन अफर, प्याकेज र गन्तव्य प्रवर्द्धनको काम गरिरहेका छन् । जानकारी अनुसार यस मेलामा ६० देशका २१०० भन्दा बढी प्रदर्शक र ५० हजारभन्दा बढी व्यापारिक भ्रमणकर्ताको सहभागिता रहने अपेक्षा छ । बीटुबीका लागि यो संसारकै उत्कृष्ट प्लेटफर्ममध्ये एक हो ।
दोस्रोः मुम्बई भारतको वित्तीय राजधानी र विश्वकै उदाउँदो आर्थिक केन्द्र हो । न्युयोर्कपछि सबैभन्दा बढी अर्बपतिहरू यही सहरमा बस्छन् । भारतको कुल ‘आउटबाउन्ड’ पर्यटकमध्ये ६० प्रतिशत हिस्सा यही क्षेत्रले ओगट्छ । पछिल्लो समय भारतीयहरू विदेश भ्रमणमा जाने क्रम बढ्दो छ र भारत सरकारले पनि यसलाई प्राथमिकता दिएको छ । त्यसैले नेपालका लागि यो बजार निकै महत्त्वपूर्ण छ ।
तेस्रोः भारत सरकारले हालैको बजेटमा स्रोतमा काटिने करलाई ५ र २० प्रतिशतबाट घटाएर २ प्रतिशतमा सीमित गरिदिएको छ । यसले भारतीय पर्यटकहरूका लागि विदेश भ्रमण सहज र सस्तो बनाएको छ, जसका कारण उनीहरूको खर्च गर्न सक्ने क्षमता बढेको छ । यस पटक हाम्रो उपस्थिति पनि ठुलो स्केलमा छ । हामी हलको मुख्य प्रवेशद्वारमै छौँ । भारतीय पर्यटकका लागि नेपाल सबैभन्दा नजिकको र सहज गन्तव्य भएकाले यस वर्ष अझ बढी पर्यटक भित्रिनेमा हामी आशावादी छौँ ।
चौथोः हवाई कनेक्टिभिटीका हिसाबले दिल्लीपछि मुम्बई नेपालसँग नजिकबाट जोडिएको छ । यहाँबाट नेपाल एयरलाइन्स र इन्डिगोको सिधा उडान छ । साथै, एक्सप्रेस–वे र रेल सेवाको विकासले पनि पहुँच सहज बनाएको छ । आशा गरौँ, भारतीय पर्यटकको हिस्सा हालको ३० प्रतिशतबाट बढेर अझ माथि जानेछ । यसका लागि नेपालले भारतमा मार्केटिङका लागि लगानी र कार्यक्रमहरू बढाउनु आवश्यक छ ।
_ElmRwF67HL.jpg)
नेपालको पर्यटन विकासमा सरोकारवालाहरूको सहभागिता र पर्यटन बोर्डबिच समन्वय कस्तो छ ?
नेपाल पर्यटन बोर्ड सार्वजनिक–निजी साझेदारी मोडलमा स्थापित संस्था हो । निजी क्षेत्रका व्यवसायीहरूको भावना, माग र बजारको आवश्यकताअनुसार सरकारको प्रतिनिधिको रूपमा सेवा पुर्याउन यसको स्थापना भएको हो । पर्यटनमा निजी क्षेत्र नै ‘बिजनेस लिडर’ हो, हामी केवल सहजकर्ता हौँ ।
अन्तर्राष्ट्रिय मेलाहरूमा सहभागिता जनाउँदा हामी निजी क्षेत्रसँग छलफल र सुझाव लिएर मात्र अगाडि बढ्छौँ । मेलामा सहभागी हुन चाहने कम्पनीहरूले अनलाइन आवेदन दिन्छन् र सोही आधारमा छनोट गरिन्छ । गत वर्षको तुलनामा यसपालि निजी क्षेत्रको उत्साह र माग अझ बढेको छ, जसले पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ ।
आगामी दिनमा यस्ता मेलाहरू नेपालमै गर्ने बोर्डको केही तयारी छ ?
ठुला ट्राभल फेयरहरू आयोजना गर्नु भनेको व्यापार मात्र होइन, त्यो सहर र देशकै ब्रान्डिङ पनि हो । यसले हाम्रो आतिथ्य क्षमता र ‘माइस’ (बैठक, प्रोत्साहन, सम्मेलन तथा प्रदर्शनी) पर्यटनको क्षमता प्रदर्शन गर्छ । नेपालले यसअघि हिमालयन ट्राभल मार्ट, बिमिस्टेक ट्राभल मार्ट जस्ता कार्यक्रमहरू सफलतापूर्वक आयोजना गरिसकेको छ ।
विश्वमा धेरैजसो यस्ता मेला निजी क्षेत्रले आयोजना गर्छन् । नेपालमा पनि पाटा, नाट्टाजस्ता संस्थाहरूले यस्ता मार्टहरू गरिरहेका छन्, जसमा सरकारको पूर्ण सहयोग रहन्छ । विदेशी आयोजकहरूले पनि नेपालमा मेला गर्न इच्छा देखाइरहेका छन् । यस्ता मेलाहरू सफल हुन सरकारको नीतिगत स्पष्टता, निजी क्षेत्रको सक्रियता र मिडियाको ठुलो भूमिका चाहिन्छ । ओटिएम वा साटेजस्ता ठुला मेलाहरू पनि धेरै वर्षको प्रयासपछि मात्र स्थापित भएका हुन् । हामी पनि नेपालमा यस्ता अन्तर्राष्ट्रियस्तरका मेलाहरू नियमित हुनेमा आशावादी छौँ ।
_q2h9V23Imy.jpg)
आगामी दिनमा नेपालको पर्यटन क्षेत्रको विकास र सम्भावना कस्तो देख्नुहुन्छ ?
नेपालमा अहिले पर्यटनका लागि आवश्यक पूर्वाधारहरू तयार हुँदैछन् । हामीसँग ३० भन्दा बढी पाँचतारे होटल, ३४८ भन्दा बढी तारे होटल र रिसोर्टहरू छन् । वार्षिक ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता छ । दुईवटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेका छन् र पर्यटकीय सहर जोड्ने सडकहरू पनि विस्तारको क्रममा छन् । निजी क्षेत्रले होटल र साहसिक पर्यटनमा ठुलो लगानी गरेको छ ।
तर, केही चुनौतीहरू पनि छन् । पहिलो, पर्यटनलाई राज्यले प्रमुख प्राथमिकताको क्षेत्रमा राख्नुपर्छ । राजनीतिक स्थिरतासँगै अब आर्थिक समृद्धिको मेरुदण्ड पर्यटनलाई बनाउनुपर्छ । दोस्रो, गन्तव्य जोड्ने सडकहरू छिटो र गुणस्तरीय बनाउनुपर्छ । तेस्रो, नयाँ विमानस्थलहरूको पूर्ण व्यावसायिक सञ्चालनका लागि थप विमानहरू थपिनुपर्छ । र सबैभन्दा महत्त्वपूर्ण कुरा, अन्तर्राष्ट्रिय बजारमा नेपालको बजारीकरण र प्रवर्द्धनमा राज्यले ठुलो लगानी गर्नुपर्छ । पर्यटनमा ‘जसले बढी प्रचार गर्छ, उसकै बजार बिक्छ’ । त्यसैले पर्यटन बोर्डको भूमिका आगामी दिनमा अझ प्रभावकारी हुनुपर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण