बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

कञ्चनपुर–१ : निरास छन् मतदाता, ठुला दलहरूलाई पर्न सक्छ भारी

शनिबार, २४ माघ २०८२, १७ : ०२
शनिबार, २४ माघ २०८२

सारांश

  • कञ्चनपुर निर्वाचन क्षेत्र १ मा १९ जना उम्मेदवार प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।
  • मतदाताहरूले विगतका आश्वासन पूरा नभएको भन्दै यसपटक फरक मत दिने विचार राखेका छन्।
  • २०७९ को चुनावमा पराजित बिना मगर र विजयी तारा लामा तामाङबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार मैदानमा छन् । 

यहाँका सबै समस्या सम्बोधन गर्ने आश्वासन दिँदै उनीहरू घरदैलोमा व्यस्त छन् । तर मतदाताहरू भने विगतका चुनावमा पनि यस्तै भनेकाले पत्याउन सक्ने अवस्थामा छैनन् । उनीहरूले उम्मेदवारका बाचालाई आश्वासनकै रूपमा लिएका छन् । 

यहाँका बासिन्दाले वर्षौंदेखि कृषि क्षेत्रमा समस्या भोग्दै आएका छन् । यसअघि जिताएकाहरूले केही पनि काम नगरेका भन्दै मतदाताहरू उम्मेदवार छानेर भोट हाल्ने तयारीमा छन् । ‘अरू भोट हेरेर दिने हो । पहिला जितायौँ, काम केही गरेको देखिएन । चुनावको बेला मात्रै गाउँमा आउने, अरू बेला कता हराउने, नाक–मुख नदेखाउने, त्यही भएर यो पटक भोट बदल्ने विचारमा छौँ,’ बेलौरी नगरपालिका–४ का ६७ वर्षीय भवानी बोहराले आफ्नो विचार सुनाए । 

मतदाताका अनुसार यहाँ चुनावअगाडि नेताहरूले सीमा समस्या हटाउने, बाटोघाटो समस्या समाधान गर्ने, कृषि र खानेपानीमा काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । लालझाडी गाउँपालिका–३ का ४५ वर्षीय रामसिंह वडायकले स्थानीयका समस्यालाई नजिकबाट हेर्नेलाई मत दिने बताए । 

‘जुन मान्छेलाई यहाँका समस्या थाहा हुन्छ, यो ठाउँको समस्यालाई नजिकबाट हेर्नेलाई भोट दिने हो,’ उनले सुनाए ।

२०७० सालमा संविधानसभाको चुनावबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्दा बिना मगर एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । तर, २०७४ को चुनाव उनका लागि स्वर्णिम समय बन्यो । वाम गठबन्धनको लहर र एमालेको साथले गर्दा उनले फराकिलो जित हात पारिन् र खानेपानी मन्त्री बनिन् । उनी सत्ताको केन्द्रमा पुगिन् । 

समय सधैँ एकनास रहेन । २०७९ को चुनावमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दह्रो साथ हुँदाहुँदै पनि बिना मगर पराजित भइन् । उनलाई हराउने अरू कोही नभई, २०७४ मा उनकै सारथि रहेका तारा लामा तामाङ थिए । ५ हजार ५४६ मतको अन्तरले हारेकी बिनाको मनमा त्यो हारको पीडा अझै ताजै छ । 

अहिले उनी चौथो पटक चुनावी मैदानमा छिन्, तर यसपटक उनको परिचय बदलिएको छ । उनी माओवादी, एकीकृत समाजवादी र भीम रावल निकटका नेताहरूको गठबन्धन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को साझा उम्मेदवार बनेकी छन् । आफ्नो माइती गाउँसमेत रहेको यो क्षेत्रमा हुर्के–बढेकी बिनाका लागि यो लडाइँ भावनात्मक पनि छ, तर विगतमा कांग्रेसको साथ पाउँदा पनि नमिलेको जित, यसपटक कांग्रेस नै प्रतिस्पर्धी हुँदा निकाल्न कति सहज होला ? यो प्रश्नले बिनाको निद्रा बिथोलेको अनुमान लगाउन सकिन्छ । 

तारा लामा तामाङको कथा अलि फरक छ । उनी कुनै ठुलो राजनीतिक घरानाबाट आएका होइनन् । २४ वर्षकै कलिलो उमेरमा २०५४ सालमा तत्कालीन कालिका गाविसको अध्यक्ष जितेर उदाएका तामाङले एमालेको जिल्ला नेतृत्व लामो समयसम्म सम्हाले ।

२०७४ मा प्रदेश सभा (१) बाट निर्वाचित भई प्रदेश सांसद बनेका उनी सुदूरपश्चिम सरकारको आर्थिक मामिला मन्त्रीसमेत बनेका थिए । 

एमाले विभाजनका बेला एकीकृत समाजवादीमा खुलेर पनि फेरि एमालेमै फर्किएका उनले २०७९ सालको चुनावमा प्रतिनिधि सभामा गठबन्धनकी साझा उम्मेदवार बिना मगरलाई नै हराएर सबैलाई चकित पारेका थिए । २४ हजार ८९२ मत ल्याएर जितेका तामाङ यसपटक पनि एमालेको एक्लो उम्मेदवारका रूपमा मैदानमा छन् । आफ्नो पुरानो जितको इतिहास दोहोर्‍याउने आत्मविश्वास उनमा देखिन्छ । 

यसपटकको चुनावमा बिना र तारा मात्र छैनन् । यो लडाइँलाई त्रिकोणात्मक वा बहुकोणात्मक बनाउन नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि कम्मर कसेर लागेका छन् । २०७९ मा गठबन्धनका कारण आफ्नो उम्मेदवार नहुँदा निसास्सिएका कांग्रेस कार्यकर्ताहरू यसपटक उत्साहित छन् । कांग्रेसबाट गोपीप्रसाद उपाध्याय मैदानमा छन् । न्याय, समानता र समावेशी विकासको नारा लिएर गाउँ पसेका उपाध्यायको स्थानीय छवि राम्रो छ । उनले काट्ने मतले नै बिना वा तारा कसको पल्ला भारी हुन्छ भन्ने निर्धारण गर्नेछ । 

अर्कोतर्फ उदाउँदो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनक सिंह धामी पनि चुनावी दौडमा छन् । पुराना दलप्रतिको वितृष्णालाई भुनाउँदै सामाजिक सम्बन्धलाई भोटमा बदल्ने दाउमा उनी छन् । 

२०७९ को समानुपातिक मतलाई आधार मान्ने हो भने यहाँको लडाइँ निकै रोचक देखिन्छ । एमालेले १७ हजार ९५४ मत ल्याउँदा कांग्रेस १४ हजार ८०६ मतका साथ दोस्रो शक्ति थियो । माओवादी केन्द्रको ९ हजार ६७७ र नागरिक उन्मुक्ति पार्टीको ७ हजार ४३० मत छ । 

तथ्यांकले देखाउँछः एमालेको आधारभूत मत बलियो छ, तर बिना मगरले माओवादी, एकीकृत समाजवादी र अन्य साना कम्युनिस्ट घटकको मत कति जोगाउन सक्छिन्, त्यसमा उनको भविष्य अडिएको छ । अघिल्लो पटक कांग्रेसको १४ हजार मत बिनालाई जाँदा पनि उनी हारेकी थिइन् । यसपटक कांग्रेस आफ्नै उम्मेदवारसहित मैदानमा छ । यदि कांग्रेसले आफ्नो १४ हजार मत जोगायो भने बिनाका लागि ९–१० हजारको माओवादी मत र केही हजार अन्य मतले जित निकाल्न चुनौती नै छ ।

उता नागरिक उन्मुक्ति पार्टीको ७ हजार र रास्वपाको ४ हजार मत कता ढल्कन्छ, यसैले नै हारजितको फैसला गर्नेछ । कृष्णबहादुर चौधरी (नागरिक उन्मुक्ति पार्टी) र दिल्ली शाही (राप्रपा),प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का देवेन्द्रबहादुर शाही लगायत उम्मेदवारले काट्ने मतले मुख्य प्रतिस्पर्धीलाई नै असर गर्नेछ ।

कञ्चनपुर–१ बाट उम्मेदवार बनेका प्रलोपाका देवेन्द्र बहादुर शाही

साथै स्वतन्त्र उम्मेदवारहरू अनिल राना, मञ्जुदेवी सुनारदेखि विप्लवका पुरन राना थारूसम्मले यहाँ आ–आफ्नो उपस्थिति जनाएका छन्, यिनले पनि केही हदसम्म यहाँ मत बटुल्न सक्ने देखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप