सुपर ८ सम्म पुग्ने नेपाली क्रिकेटको सपनायात्रा
सारांश
- नेपालमा क्रिकेट खेल मात्र नभई पहिचान, भावना र आशाको साझा भाषा बनेको छ।
- २०२४ को विश्वकपमा नतिजा राम्रो नआए तापनि समर्थकहरूको उत्साहले नेपाली क्रिकेटको आत्मा बलियो देखाएको थियो।
- २०२६ को टी-२० विश्वकपमा नेपालको लक्ष्य समूह चरण पार गर्दै सुपर ८ मा पुग्नु रहेको छ।
काठमाडौँ । हिमालले घेरिएको सानो राष्ट्र नेपालमा क्रिकेट आज खेल मात्र रहेन ।
यो अब पहिचान हो, भावना हो र आशाको साझा भाषा हो । घामको ताप होस् वा वर्षाको झरी, छाता ओढेर, टिफिन बोकेर मैदानतर्फ लम्किने समर्थकहरू नेपालमा क्रिकेट कति गहिरो गरी जरा गाडिसकेको छ भन्ने जीवित प्रमाण हुन् । अन्तर्राष्ट्रिय खेल त परको कुरा, प्रशिक्षण सत्र हेर्नसमेत हजारौँ दर्शक उपस्थित हुने दृश्यले नेपाली क्रिकेटको सामाजिक प्रभाव स्पष्ट पार्छ ।
सीमित स्रोत, व्यवस्थापकीय अस्थिरता र चुनौतीपूर्ण पूर्वाधारबिच पनि नेपाली क्रिकेटले पछिल्लो एक दशकमा उल्लेखनीय यात्रा तय गरेको छ । सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमा पहिलो सहभागितासँगै नेपालले विश्वमञ्चमा आफ्नो पहिचान बनाउने सपना देख्न थालेको थियो । त्यसपछि लामो प्रतीक्षापछि सन् २०२४ मा अमेरिका–वेस्टइन्डिजमा दोस्रो पटक विश्वकपमा पुनरागमन गर्यो । अहिले सन् २०२६ को टी–२० विश्वकपमा तेस्रो सहभागितासँगै नेपाल केवल सहभागी हुन होइन, प्रतिस्पर्धा गर्न आएको सन्देश दिन खोजिरहेको छ ।
२०२४ को विश्वकपमा नतिजा पक्षमा नआए पनि डलासको रंगशालामा देखिएको समर्थकहरूको उत्साह र उपस्थितिले नेपाली क्रिकेटको आत्मा कति बलियो छ भन्ने देखाएको थियो । दक्षिण अफ्रिकासँगको १ रनको हारले नेपाल अझै अनुभवको कमी भए पनि क्षमताको हिसाबले शीर्षस्तर नजिक पुगेको संकेत दिएको थियो । त्यही अनुभव अहिलेको टोलीका लागि सिकाइ बनेको छ ।
यसपटकको विश्वकपअघि नेपालले आत्मविश्वास बढाउने केही महत्त्वपूर्ण क्षणहरू बटुलेको छ । चेन्नईमा भएको वार्मअप खेलमा यूएईलाई ७ विकेटले पराजित गर्नु होस् वा गत वर्ष वेस्ट इन्डिजलाई उसैको मैदानमा २–१ ले टी–२० शृङ्खलामा हराउनु–यी उपलब्धिहरूले नेपाली टोलीमा ‘हामी पनि सक्छौँ’ भन्ने विश्वास जगाएका छन् । विशेषगरी वेस्टइन्डिजविरुद्धको शृङ्खला जित नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठुलो उपलब्धिमध्ये एक मानिन्छ ।
नेपालको विश्वकप यात्रा सधैँ सजिलो रहेन । २०१४ को डेब्यु विश्वकपमा अफगानिस्तान र हङ्कङविरुद्ध जितले सम्भावना देखाए पनि रनरेटका कारण समूह चरणमै सीमित हुनुपर्यो । त्यसपछि करिब एक दशक विश्वकपबाट टाढा रहँदा पनि क्रिकेटप्रतिको जनसमर्थन कमजोर भएन । अन्ततः २०२५ को एसिया तथा पूर्वीएसिया–प्रशान्त छनोटमा देखाएको साहसिक प्रदर्शनले नेपाललाई पुनः विश्वकपको मूल मञ्चमा ल्यायो । यूएई र कतारविरुद्ध अन्तिम क्षणसम्म पुगेका खेल जित्दै नेपालले दबाबमा खेल जित्ने क्षमता विकास गरेको देखायो ।
अब २०२६ को टी–२० विश्वकपमा नेपालको लक्ष्य स्पष्ट छ–समूह चरण पार गर्दै सुपर ८ मा पुग्नु । अहिलेसम्म कुनै पनि आईसीसी ग्लोबल प्रतियोगितामा दोस्रो चरणमा नपुगेको नेपालका लागि यो ऐतिहासिक ‘ब्रेकथ्रु’ हुनेछ । समूह ‘सी’ मा इङ्ग्ल्यान्ड र वेस्टइन्डिजजस्ता पूर्व विश्वविजेता टोलीसँगै स्कटल्यान्ड र डेब्यु टोली इटली छन् । कागजमा हेर्दा चुनौती ठुलो छ, तर यही चुनौतीभित्र अवसर पनि लुकेको छ ।
स्कटल्यान्डविरुद्धको खेल अनुभव र धैर्यको परीक्षा हुनेछ भने इटलीविरुद्धको खेल ‘गर्नैपर्ने जित’को दबाबसहित आउनेछ । त्यससँगै, वेस्टइन्डिजविरुद्ध एउटा अपसेट निकाल्न सके समूहको समीकरण नै उल्टिन सक्छ । विगतमा उसैको मैदानमा शृङ्खला जितेको अनुभव नेपालसँग हुनु ठुलो मनोवैज्ञानिक बल हो ।
नेपालको सबैभन्दा ठुलो शक्ति भनेको अन्तिम क्षणसम्म हार नमान्ने मानसिकता हो । क्वालिफायर चरणमा देखिएको दृढता, योजनाबद्ध खेल र कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वले टोलीलाई कठिन परिस्थितिमा पनि एकताबद्ध राख्न सक्छ । अनुभवी र युवा खेलाडीको सन्तुलन नेपाली टोलीको अर्को सकारात्मक पक्ष हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण