‘वर्षमा कम्तीमा १-२ वटा ठुला सिरिज देऊ’
सारांश
- नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट मान्यता प्राप्त राष्ट्रहरूसँग नियमित खेलको माग गरेका छन्।
- २०२४ को टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाली खेलाडीले अपेक्षा गरेअनुसार एक्सपोजर पाउन सकेनन्।
- रोहितका अनुसार इंग्ल्याण्ड र दक्षिण अफ्रिकाविरुद्धका खेलहरूले नेपालको क्रिकेटलाई 'स्पटलाइट'मा ल्याएको छ।
मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ‘फुल मेम्बर’ (टेस्ट मान्यता प्राप्त) राष्ट्रहरूसँग नियमित खेलको माग गरेका छन्। २०२४ को टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यसयता नेपाली खेलाडीले आफूले आशा गरेजस्तो ‘एक्सपोजर’ नपाएको उनको गुनासो छ।
२०२४ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नाटकीय रूपमा १ रनले पराजित भएको नेपालले त्यसयता सेप्टेम्बर २०२५ मा सारजाहमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज मात्र खेल्ने मौका पायो।
इटालीविरुद्धको खेलअघि बोल्दै पौडेलले भने, ‘दुई वर्षको अन्तरालमा ठुला टिमसँग नखेल्नुले देखाउँछ कि विश्वकपपछि हामीले जुन एक्सपोजर र अनुभवको अपेक्षा गरेका थियौँ, त्यो पाउन सकेनौँ। राम्रा टिमहरूसँग खेलेर उनीहरूको अगाडि आफ्नो कौशल परीक्षण गर्नु हाम्रो लागि निकै महत्त्वपूर्ण छ, तर हामीले त्यो मौका पाएनौँ जस्तो लाग्छ।’
रोहितको बुझाइमा नेपालको क्रिकेट विकासका लागि शीर्ष श्रेणीका विपक्षीहरूसँग निरन्तर अवसर पाउनु आवश्यक छ। जारी विश्वकपपछि यो अवस्था फेरिनेमा उनी आशावादी छन्।
‘वर्षमा ६-७ वटा सिरिज नै चाहिन्छ भन्ने छैन, तर कम्तीमा १-२ वटा सिरिज भए पनि हामीले आफूलाई प्रमाणित गर्न सक्थ्यौँ। यदि हामीले उनीहरूसँग नियमित खेल्ने मौका पायौँ भने त्यो धेरै राम्रो हुने थियो। मलाई आशा छ, यो विश्वकपपछि परिस्थिति बदलिनेछ,’ उनले भने।

जारी विश्वकपको सुरुवाती खेलमा नेपालले इंग्ल्याण्डलाई कडा टक्कर दिएको प्रसङ्ग जोड्दै रोहितले यस्ता खेलहरूले नेपाल पनि उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्षम छ भन्ने देखाउने बताए।
‘यसले ठुलो अर्थ राख्छ, विशेष गरी यदि अस्ट्रेलिया वा इंग्ल्याण्डको टिम नेपाल आयो भने,’ उनले थपे, ‘त्यसले विश्व क्रिकेटलाई देखाउनेछ कि नेपालले पनि क्रिकेट खेल्छ र राम्रो क्रिकेट खेल्छ। यो विश्वकपले त्यो देखाइसकेको छ। यदि अस्ट्रेलिया, इंग्ल्याण्ड वा भारत जोसुकै नेपाल आए पनि हाम्रो क्रिकेटको विकास हुनेछ र यसले क्रिकेटलाई विश्वव्यापीकरण गर्न मद्दत गर्नेछ।’
मुम्बईमा भएको खेलमा १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल इतिहास रच्नबाट थोरैले मात्र चुकेको थियो। उक्त हारमा निराशा भए पनि टोलीको मनोबल उच्च रहेको र आगामी तीन खेलमा त्यसबाट पाठ सिक्ने रोहितले बताए।
‘हो, निराशा छ। तर, प्रतियोगिताकै दाबेदार मानिएको इंग्ल्याण्डविरुद्ध हामीले जसरी खेल्यौँ, त्यसले समूहको रूपमा हामीलाई धेरै आत्मविश्वास दिएको छ,’ रोहितले भने, ‘हामीले दबाबका बेला कसरी योजना कार्यान्वयन गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। हामीले अहिले धेरै क्रिकेट खेलिसकेका छौँ र खेलाडीहरूलाई ठुला दर्शकमाझ दबाब कसरी थेग्ने भन्ने थाहा छ।’

रोहितका अनुसार इंग्ल्याण्ड र २०२४ मा दक्षिण अफ्रिकाविरुद्धका नजिकका खेलहरूले नेपालको क्रिकेटलाई ‘स्पटलाइट’ मा ल्याएको छ। डेल स्टेनजस्ता दिग्गज खेलाडीले गरेको तारिफले टिमलाई थप हौसला मिलेको उनले बताए।
यस संस्करणमा नेपालका चारै खेल मुम्बईको वानखेडे स्टेडियममा हुनुलाई रोहितले ठुलो फाइदाको रूपमा लिएका छन्। ‘एसियाली कन्डिसन र वानखेडेमा सबै खेल हुनु हाम्रो लागि फाइदाजनक छ। यहाँको विकेट र हाम्रो खेल्ने शैली मेल खान्छ,’ उनले निष्कर्ष निकाले।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण