बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
९ प्रश्न

'म जिउँदा मानिसका कथा लेख्छु'

शनिबार, ०२ फागुन २०८२, १६ : ००
शनिबार, ०२ फागुन २०८२

सारांश

  • झापाकी दिपा दाहाल महिला अधिकार र पठन संस्कृतिमा सक्रिय छिन्, उनले महिला पीडा र पितृसत्ता विरुद्धका विषयलाई लेखनमा उठान गर्छिन्।
  • उनको 'विजयिनी' कथा सङ्ग्रह महिलाले भोग्नुपरेका विभेद र हिंसाको कथा हो, जसले पाठकलाई महिलाका समस्या बुझ्न सघाउँछ।
  • दाहालका अनुसार, लेखनको उद्देश्य समाजका कुरिती र महिलामाथि हुने अन्यायविरुद्ध आवाज उठाउनु हो, र उनले 'माधवी' जस्ता कृतिबाट प्रेरणा लिएकी छन्।

कथा र कविता लेखनमा रमाउने झापाकी दिपा दाहाल पठन संस्कृति र महिला अधिकारका मुद्दामा सक्रिय छिन् । उनी आफ्नो कवितामा विकृत पितृ सत्ता विरुद्ध विद्रोह गर्छिन् भने कथामा समाजमा महिलाले भोग्नु परेको पीडा र सङ्घर्षलाई उजागर गर्छिन् । उनी ०८२ मा ‘विजयिनी’ कथा सङ्ग्रह लिएर आफ्ना पाठकमाझ आएकी थिइन् । उनै दाहालसँग रातोपाटीको ‘नौ प्रश्न’ शृङ्खलाका लागि रमा सुवेदीले गरेको कुराकानी -

१. प्रत्येक लेखक/साहित्यकार खास उद्देश्यका लागि लेख्छन् भन्ने भनाइसँग तपाईं कत्तिको सहमत हुनुहुन्छ ?

अरू पेसामा जस्तो उद्देश्य राखेर सिर्जनात्मक क्षेत्रमा प्रवेश गरिँदैन । आफ्नो रुचिलाई निरन्तरता दिँदै जाँदा यसले निश्चित रूप लिन्छ । जब लेखक/साहित्यकारले रुचि र लहडलाई छोडेर जिम्मेवारीबोधका साथ लेख्छन् तब लेख्नुका उद्देश्य निर्माण हुँदै जान्छन् । 

तर मैले लेख्नु र बोल्नुको उद्देश्य छ । समाजमा जुन कुरिती, कुसंस्कार र अन्धविश्वास व्याप्त छन्, राज्यको जुन कानुनले नागरिकको समान अस्तित्वलाई अस्वीकार गर्छ, जहाँ परिवारको जग नै असमान सम्झौतामा गाडिएको छ, त्यहाँ आफू र आफूजस्ताहरुको विरुद्धमा हुने हरेक नाइन्साफिका विरुद्ध आवाज उठाउनु कर्तव्य बन्न जान्छ । आफूले महसुस गरेकासँगै देखे, जाने, बुझेसम्मका अन्यायबारे मुखर हुनुपर्छ । मेरो लेखनका विषय पनि तिनै हुन ।

२. तपाईंलाई लेखनतर्फ आकर्षित गर्ने मुख्य प्रेरणा के थियो ?

लेखनमा आकर्षण गर्ने त्यस्तो ठोस कारण नै त मैले पत्ता लगाएकी छैन । तथापि कहिलेकाहीँ एकान्तमा स्कुले दिनहरूतर्फ फर्किदा लाग्छ मेरा केही असुरक्षित अनुभूतिहरू, असुविधाहरू नै लेखनका प्रेरणा हुन । त्यो प्रेरणालाई जोगाइराख्न साहित्यसँगको निरन्तर सत्सङ्ग नभएको भए यो यात्राले यति दुरी पार गर्ने थिएन ।

३. तपाईंको लेखनमा बारम्बार दोहोरिएर आउने विषयवस्तु के हो ?

मेरो लेखनमा कुन विषय दोहोरी रहेछ, सायद त्यो पाठक वा समालोचकले भन्ने कुरा हो । म आफूलाई मानवीय संवेदनाले बढी छुने भएकाले मैले जिउँदा मानिसका कथा लेख्छु । ती मानिसहरू, जसलाई अरूहरूले कम मानिस ठान्छन् र ती मानिसहरू, जसले स्वयं आफूलाई कमजोर ठानिरहेका छन् ।  

४. आफूलाई झकझकाएको कुनै कृतिको नाम लिनु पर्दा तपाईं कसको नाम लिनु हुन्छ ?

मलाई मन परेका पुस्तक प्रशस्त छन् । मदनमणि दीक्षितको ‘माधवी’ तीमध्ये एक हो । यसले लेखकीय कल्पनाको यस्तो दुनियाँ देखाउँछ, जहाँबाट पाठकलाई बाहिर निस्कन सकस पर्छ । पुस्तकले प्राचीन समयको कथा, मानव सभ्यताको विकासक्रममा राज्यसत्ता, पितृ सत्ता, धर्मसत्ता कसरी हाबी हुन्थे र त्यहाँ महिलाको अवस्था कस्तो थियो भन्ने देखाउँछ । उपन्यासकी मूल पात्र माधवीको सङ्घर्ष र स्वाभिमानका लागि बाबु र प्रेमीसँग पनि नझुक्ने अडानले महिला र मानव हुनुको गरिमा एकसाथ बोक्न सिकाउँछ ।

५. तपाईंलाई पछिल्लो समय नेपालको साहित्यिक बजारको बहस कस्तो लागि रहेको छ ?

सामान्यतया वस्तु बजारको ग्राफ सधैँ उकालो लागिरहेकै हुन्छ । किताब बजारको आकार पनि एवंरितले पछिल्लो समय विस्तार भइरहेको देख्न सकिन्छ । तथापि यसको नतिजाले थप उचाइ छुन सक्थ्यो जसका लागि गर्नुपर्ने कामहरू थाँती छन् । एक त हामीकहाँ किताब पढ्नुलाई सोखको रूपमा लिइन्छ । पठन हाम्रो संस्कार बन्न सकेको छैन । अर्को कुरा पछिल्लो पुस्ताले अङ्ग्रेजी भाषामा डिजिटल माध्यमबाट किताब पढिरहेका छन्, जसलाई नेपाली साहित्यले समेट्न नसकेको देखिन्छ ।

अहिले देशव्यापी रूपमा साहित्यिक बहसहरू भइरहेका छन् । यसले नेपाली साहित्य र लेखकको उन्नयन नै गर्नेछ साथै पठन संस्कृतिको विकास गर्न पनि यसको भूमिका अहम् हुनेमा आशावादी हुन सकिन्छ ।

६. अन्तिम पटक कुन कृति पढ्नु भएको थियो ? यो कृति कस्तो थियो ? हाम्रा पाठकलाई बताइदिनु न । 

मैले पछिल्लोपटक पढेको कृति सीमा आभासको उपन्यास ‘महायुग’ हो । यसमा विगत र वर्तमानमा महिलाले महिला भएकै कारण भोग्नु परेका समस्यालाई पहाडे ब्राह्मण महिलाको माध्यमबाट देखाइएको छ भने भविष्यमा महिलाका लागि अपेक्षित संसारको रचना यक्षिणिको माध्यमबाट गरिएको छ । यो उपन्यास यथार्थको बाटो भएर गरिएको सुन्दर काल्पनिक यात्रा हो । यसले महिलाका लागि नयाँ युग निर्माण गर्ने सपना देखाउन सक्छ ।

७. साहित्यकारले समाजमा रहेका समस्या मात्रै देखाउने हो कि समाधान पनि दिन सक्नु पर्छ ?

हाम्रो जस्तो पिछ्लघ्घु समाजमा हरेक मानव कुनै न कुनै समस्यासँग जुधिरहेको छ । त्यसमा पनि महिला र लैगिंक अल्पसङ्ख्यकले लिङ्गकै आधारमा थप सास्ती खेप्नु परिरहेको छ । जहाँसम्म साहित्यकारले समस्या मात्रै देखाउने कि समाधान पनि दिने भन्ने सवाल छ, त्यसको जवाफ हाम्रो साहित्य वा साहित्यकारप्रतिको दृष्टिकोणमा पनि निर्भर गर्छ । 

हामीले साहित्य वा साहित्यकारबाट के अपेक्षा गरिरहेका छौँ ? आज पनि हाम्रो देशमा ठुलो सङ्ख्यामा यस्ता महिला छन्, जसलाई आफूलाई लैङ्गिक रूपमा तल पारिएको बोध नै छैन । तिनले समस्या र विभेदलाई नियतिको नाम दिएर चुपचाप स्विकारिरहेका छन् । जहाँको समाजै पछुवा छ, त्यहाँ साहित्यले समस्याहरूको बिस्कुन फिँजाएर भुक्तभोगीलाई उसका दुःखसँग साक्षात्कार गराइदिन सक्छ । यो प्राथमिक उपचारको रूपमा एउटा समाधान नै हो ।

DD_1

८. के हाम्रो समाजले महिलाको चेतनाको स्तरलाई बुझ्न सकेको छ ? यदि छ भने त्यसले समाजमा कस्तो प्रभाव देखाएको छ ?

महिलाको चेतनाको स्तर तुलनात्मक रूपमा पछिल्ला वर्षहरूमा स्वाभाविक अनुपातमा बढिरहेको छ । आर्थिक आत्मनिर्भरताका विषयमा महिलाहरू केही सचेत भए पनि राजनीतिक, सामाजिक, धार्मिक सचेतनाका हकमा अझै पिँधमै छन् । यसले सम्पूर्ण मानव जातिको उन्नयनमा अवरोध पुर्‍याएको छ ।

९. अबचाहिँ कुरा यहाँको पछिल्लो कृति ‘विजयिनी’ को गरौँ, पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो लाग्छ ?

मेरा लागि यो अप्ठ्यारो प्रश्न हो । कुनै कृति किन पढ्ने भन्ने कुरा पाठकले आफ्नो रुचि र अध्ययनको उद्देश्य अनुरूप तय गर्ने गर्छन् । तथापि लेखकीय कोणबाट सिफारिस गर्नुपर्दा ‘विजयिनी’ महिलाले सामान्यीकरण गर्दै आएका विभेद, हिंसा र दमनलाई मूल मुद्दा बनाइएका कथाहरूको सँगालो हो । तसर्थ महिलाले अन्य महिलाको दुःखमा समानुभूती गर्न सकुन् र एकजुट भई त्यसका विरुद्ध आवाज उठाउन भन्ने मेरो कामना हो । 

महिला तथा सीमान्तकृत समुदायको समस्याको गुह्य जराहरू पहिल्याउन कथाहरूले घचघच्याओस् भन्ने मेरो उद्देश्य हो । पढ्नु यसै पनि ज्ञानको दायरा फराकिलो बनाउनु हो । विजयिनी सामाजिक यथार्थवादी तथा मानिसका मनोवैज्ञानिक पक्षलाई केलाएर लेखिएका कथाहरूको सङ्ग्रह हो । यसले आफूजस्तै वा आफूभन्दा भिन्न लिङ्ग र लैङ्गिकता भएका मानिसलाई बुझ्न सहयोग गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप