शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रेस युनियनका निवर्तमान अध्यक्ष सुवेदीले त्यागे कांग्रेस

आइतबार, ०३ फागुन २०८२, १७ : ११
आइतबार, ०३ फागुन २०८२

बुटवल । नेपाल प्रेस युनियन नवलपरासीका निवर्तमान अध्यक्ष पुरुषोत्तम सुवेदीले नेपाली कांग्रेस तथा प्रेस युनियन दुवैबाट अलग हुने घोषणा गरेका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले दुवै संस्थाबाट राजीनामा दिएको सार्वजनिक गरेका हुन् । 

विज्ञप्तिअनुसार सुवेदीले नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । साथै युनियनको साधारण सदस्यबाट समेत अलग भई संस्थासँगको औपचारिक सम्बन्ध अन्त्य गरेको जानकारी दिएका छन् ।
लामो समयदेखि नेपाली कांग्रेस नवलपरासीको जिल्ला कार्यालय सचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आएका सुवेदीले पछिल्लो समय पार्टी पङ्क्तिबाट संस्थागत रूपमा कुनै अनुभूति हुन नसकेको उल्लेख गरेका छन् । गहन सोचविचारपछि आजैको मितिबाट लागू हुने गरी राजीनामा दिने निर्णयमा पुगेको उनको भनाइ छ । 

सुवेदी विगतमा नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको मिडिया संयोजनमा समेत सक्रिय थिए । उनले प्रेस युनियनको जिल्ला अध्यक्ष र नेपाली कांग्रेस नवलपरासीको पूर्वकार्यालय सचिवका रूपमा कार्य गर्दा साथ, सहयोग र अवसर प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । 

विज्ञप्तिमार्फत उनले पार्टी नेतृत्व, संस्थागत सहकर्मी तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् । 

यसअघि पनि नवलपरासीमा नेपाली कांग्रेसका ६ जना नेताले पार्टी परित्याग गरिसकेका छन् । जिल्ला सदस्य ध्रुवराज जमरकट्टेल, बर्दघाट नगर सभापति दामोदर जिसी, प्रदेश सभा क्षेत्र नम्बर १ (१) का सचिव भवानी शङ्कर भट्टराईलगायतले पार्टी छाडेका थिए ।

पछिल्लो पटक प्रेस युनियनका पूर्वअध्यक्षसमेत पार्टी र संस्थाबाट अलग भएपछि जिल्लामा विभिन्न अड्कलबाजी सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप