४ वर्षीय नातिले ‘क्रिकेटर’ बन्ने सपना सजाएपछि...
सारांश
- कञ्चनपुरका एकजना वृद्धले नाति क्रिकेट खेल्ने सपना देखेकोमा खुसी व्यक्त गरे।
- वृद्धका अनुसार, नातिले ब्याट भाँच्न थालिसकेका छन् र क्रिकेटप्रति उनको लगाव बढेको छ।
- वृद्धलाई आगामी चुनावमा खासै चासो छैन, तर उनले छोराको रोजगारीबाटै घर चल्ने कुरा बताए।
कञ्चनपुर । विभिन्न खेलका राष्ट्रियस्तरकै खेलाडी जन्माउने सुदूरपश्चिम प्रदेशमा खेलप्रतिको उत्साह लोभलाग्दो देखिन्छ । कलिलो उमेरमै बालबालिकाले आफ्नो सपना सजाउन सुरु गर्छन् ।
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१०, घटाल टोलका चार वर्षीय एक बालक क्रिकेटर बन्ने सपना सजाउँदैछन् । ७१ वर्षीय पर्शुराम बोहराका चार वर्षीय नातिले ब्याट समात्नमात्र थालेका होइनन्, ब्याटिङ गरेर ब्याट भाँच्न थालिसकेका छन् ।
‘यसले हैरान लाउँछ,’ नातितिर देखाउँदै पर्शुरामले भने, ‘अस्ति एउटा काठको ब्याट आफैँले बनाइदिएको थिएँ । त्यो भाँचिसक्यो । अहिले फेरि अर्को बनाइदिन लागेको छु ।’
पर्शुरामका छोरा रोजगारीका लागि भारततिर छन् । छोराकै कमाइले घर खर्च चल्ने गरेको उनले सुनाए । उनले भने, ‘हामी त सुकुमबासी हौँ, जग्गा–जमिन छैन । यो उमेरमा अब केही काम गर्न पनि सक्दिनँ । भारतमा काम गर्न गएको छोराको कमाइकै भरमा हाम्रो गुजारा चल्छ ।’
नातिमा क्रिकेटप्रतिको झुकाव कसरी आयो भन्ने पनि पर्शुरामलाई थाहा छैन । उनले भने, ‘यहीँ घर अगाडि बाटोमा कहिले साथीहरूसँग खेल्छ, कहिलेकाहीँ हामीलाई नै बल फालिदिन भन्छ र उसले यही मुङ्ग्रोले बल फर्काउँछ ।’
नौलो मान्छे (रातोपाटीकर्मी) देखेर होला सायद, ती बालक बोल्न लजाए । यद्यपि, उनले क्रिकेट आफ्नो मन पर्ने खेल भएको बताए ।
पर्शुरामलाई नातिले क्रिकेट खेलेर भविष्य बनाउँछ भन्ने विश्वास त छैन तर उसको रहर पूरा गर्नु आफ्नो कर्तव्य हो जस्तो लाग्छ । ‘पढ्ने बेलामा पढोस्, फुर्सदमा खेलोस्,’ उनले भने, ‘प्लास्टिकको एउटा बल र काठको मुङ्ग्रो भए पुग्छ, अरु केही त मागेको छैन । यही खेलेर बस्छ ।’
यत्तिको लगाव भएका बालबालिकाका लागि विद्यालय तहबाटै अध्ययनका साथै आवश्यक प्रशिक्षण र अवसरहरू सिर्जना गरिदिने हो भने नेपालमा दिपेन्द्रसिंह ऐरी, लोकेश बम, शेर मल्लजस्ता कति क्रिकेटर जन्मिन्छन् होला, सहजै आकलन गर्न सकिन्छ ।
नजिकिँदै गरेको चुनावप्रति पर्शुरामको खासै चासो छैन । भारतमा रहेको छोरालाई रोग–व्याध नलागिदिए उसकै कमाइबाट जसोतसो घर धानिने उनले बताए । ‘उसले (छोराले) पनि कमाउन सकेन भने त हामी के खाएर बाँच्ने हो र ?’ उनले भने ।
०२३ सालमा बझाङबाट कञ्चनपुर झरेका पर्शुरामसँग २/३ कट्ठा ऐलानी जमिन छ । त्यही जमिनमा घर बनाएर बसेका उनले केही छाक टर्नेगरी तरकारी उब्जाउँछन् । आम्दानीको अन्य स्रोत नभएको उनले बताए ।
‘चुनाव त लागेको छ, नेताहरू यता–उता कुदेको देख्छु,’ पर्शुरामले भने, ‘यो गर्छु, त्यो गर्छु भनेर पहिला–पहिला हाम्रो बस्तीतिर नेताहरू खुब आए, तर केही काम गरेनन् । अहिले त पुराना नेता हाम्रोतिर आउन पनि सकेका छैनन् ।’
आफूहरूले दुःख–कष्टमै जीवन गुजारेको बताउने पर्शुरामले नातितिर देखाउँदै भने, ‘अब यिनले चाहिँ दुःख पाउन नपरे हुन्थ्यो भन्ने आश हो, यिनको पालामा यतै रोजगारी पाउने, गुजारा चलाउन सहज हुने वातावरण भइदिए हुने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण