बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी GROUND ZERO : कञ्चनपुर-२

कञ्चनपुर–२ मा प्रमुख दलका उम्मेदवार : कोही विकास निर्माणका सम्भावना खोतल्दै, कोही कमी–कमजोरी औँल्याउँदै

शुक्रबार, ०८ फागुन २०८२, ११ : ३८
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • कञ्चनपुर क्षेत्र नम्बर २ मा आगामी निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
  • कांग्रेसका एनपी साउदले विगतका अधुरा एजेन्डा पूरा गर्न र एमालेका बचन बहादुर सिंहले स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
  • नेकपाका माधव प्रसाद पन्तले सुशासन, रोजगारी, र स्थानीय विकासलाई जोड दिँदै मत मागिरहेका छन्।

कञ्चनपुर । प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले चुनाव प्रचारप्रसारलाई तीव्रता दिन थालेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा बिहीबार उम्मेदवारहरू आ–आफ्नो चुनाव प्रचारप्रसार कार्यक्रममा व्यस्त भेटिए । नेकपा एमालेका उम्मेदवार बचन बहादुर सिंह बेदकोट नगरपालिका–१०, सिसैयामा घरदैलो कार्यक्रममा भेटिए भने, नेपाली कांग्रेसका नारायण प्रकाश (एनपी) साउद शुक्लाफाँटा नगरपालिका–१० मा भेटिए । नेपाली कम्युनिस्ट पार्टीका माधव प्रसाद पन्त भने वेदकोट–५, धरमपुरमा घरदैलो कार्यक्रममा थिए ।

नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद यस निर्वाचन क्षेत्रबाट ०७९ को निर्वाचनमा समेत निर्वाचित भएका थिए । पाँच वर्षे कार्यकालका लागि आफूले ०७९ सालमा अघि सारेका कतिपय एजेन्डामध्ये केही कार्यान्वयनमा गएको भन्दै उनले बाँकी एजेन्डालाई पनि कार्यान्वयनमा लैजान आफूले मतदातासँग मत मागिरहेको बताए ।

रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘कतिपय योजना अघि बढिसकेका छन् । ती कुरा यहाँका मतदातालाई पनि थाहा छ । समय अगावै प्रतिनिधि सभा विघटन भएका कारण कतिपय काम टुङ्गोमा पुर्‍याउन सकिएन । त्यसैले ती काम पूरा गर्न पनि मैले नै अग्रसरता देखाउनु पर्छ भन्ने कुरा मतदाताले बुझ्नु भएको छ ।’

अर्कोतिर एमालेका उम्मेदवार बचनबहादुर सिंहले आरक्ष पीडित, अव्यवस्थित बसोबासीका समस्या वर्षौंदेखि कायम रहेको भन्दै ती समस्या समाधानका लागि पहल गर्ने आश्वासनसहित मत मागिरहेका छन् । बेरोजगारी समस्यालाई पनि उनले एजेन्डा बनाएका छन् ।

नेकपाका उम्मेदवार माधव प्रसाद पन्तले पनि स्थानीयस्तरका समस्यालाई देखाएर तिनको समाधानका लागि भन्दै मत मागिरहेका छन् । उनले खासगरी सुशासन, रोजगारी सिर्जना, आत्मनिर्भरताको खोजी, पर्यटन क्षेत्रको विकास, कृषकका समस्या जस्ता विषयलाई आफ्नो एजेन्डा बनाएका छन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिपकराज बोहराले भने प्रमुख दलहरूका कमी–कमजोरी औँल्याएर मतदातासँग भोट मागिरहेका छन् । यद्यपि उनले आफ्नो चुनावी एजेन्डाबारे रातोपाटीमार्फत चर्चा गर्न चाहेनन् ।

  • कांग्रेस उम्मेदवार एनपी साउदका एजेन्डा

मुलुकको राजनीतिमा कुनै पनि दल स्थापित हुनका लागि तत्कालीक कुनै घटनाका कारण होइन, सैद्धान्तिक पृष्ठभूमि, ऐतिहासिक योगदान, राष्ट्रलाई एकजुट बनाउन सक्ने वैचारिक धरातल, देशलाई अघि बढाउने स्पस्ट रोडम्याप आवश्यक हुन्छ ।

NP Saud

आज धेरै राजनीतिक दल आफ्ना कुरा नभनेर खाली अर्काको आलोचनालाई नै केन्द्रीय मुद्दा बनाएर अगाडि बढ्न खोजेका छन् । पहिचान र भिजन लुकाएर, आफ्नो दृष्टिकोण स्पस्ट नपारेर, कार्यक्रमसमेत नदेखाइकन आउने शक्तिहरूले मुलुकलाई अगाडि बढाउन सक्दैन ।

०७९ को निर्वाचनमा पनि म यो क्षेत्रबाट निर्वाचित भएको थिएँ । मेरो पार्टी (नेपाली कांग्रेस)को समानुपातिक मत पनि यस क्षेत्रमा सर्वोत्कृष्ट थियो । अहिले पुनः म यो क्षेत्रबाट उम्मेदवारका रूपमा प्रस्तुत भएको छु ।

यस क्षेत्रमा ठुला परियोजनामा संघीय सरकारले काम गर्नुपर्ने अवस्था छ । त्यसका लागि गड्डाचौकीदेखि अत्तरियासम्मको सडकलाई ६ लेनमा विस्तार गर्न २१ अर्ब रुपैयाँ संघीय सरकारले विनियोजन गरिसकेको छ । महाकाली तेस्रो सिँचाइ आयोजनाको काम सुरु भइसेकेको छ । यो परियोजनाले लगभग ४५ हजार हेक्टर जमिनलाई सिँचाइ सुविधा हुनेछ । नदी नियन्त्रणका लागि सर्भे भइसकेको छ, करिब ७ अर्ब रुपैयाँको लगानी अनुमानित गरिएको सर्भेमा तटबन्ध निर्माण गर्ने योजना छ । करिब १२ हजार बिघा खेतीयोग्य जमिन यसबाट संरक्षण हुनेछ ।

स्वास्थ्य, खानेपानी, शिक्षाका क्षेत्रमा केही महत्त्वपूर्ण काम भएका छन् । सबै काम टुङ्गिसकेको छैन, केही बाँकी छन् । कञ्चनपुरभित्र आरक्ष समस्या छ । यसका लागि बनेका विगतका आयोगले पीडितको संख्या थप्नेबाहेक थप काम हुन सकेको छैन । पीडितलाई वन क्षेत्रको जग्गा दिन रहँदै आएको कानुनी अड्चन हटाउन प्रतिनिधि सभाबाट विधेयक पारित गराएर जग्गा उपलब्ध गराउन प्रयास गरेँ । बिचमा जेनजी आन्दोलनका कारण त्यो विषय रोकिएको छ । फेरि म निर्वाचित भएँ भने त्यसलाई निष्कर्षमा पुर्‍याउने छु ।

स्थानीय निर्वाचनभन्दा अघि नै जनतालाई उनीहरू बसोबास गरिरहेको क्षेत्रको लालपु्र्जा उपलब्ध गराउने मेरो योजना छ । मेरो कार्यकाल लगभग तीन वर्ष बाँकी हुँदा नै संसद् विघटन हुँदा कतिपय योजना अपूरा छन् । पाँच वर्षका लागि भनेर मैले घोषणा गरेका कतिपय काम बिचमै रोकिएका छन् । त्यसलाई पूरा गर्न पनि यहाँका मतदाताले मलाई विश्वास गर्नुहुनेछ भन्ने मलाई लागेको छ ।

  • एमाले उम्मेदवार बचन बहादुर सिंहका एजेन्डा

यस क्षेत्रमा हजुरबुबाको पुस्तादेखि नाति पुस्तासम्म मतदाता भइसक्दा पनि जग्गाधनी पुर्जा पाएका छैनन् । अब अर्को चुनाव आउँदा भूमिहीन, सुकुमबासीको समस्या मुद्दा बनिरहन नपरोस् भन्ने मेरो मान्यता छ ।

१६ देखि ४० वर्ष उमेर समूहका युवा रोजगारीका लागि विदेश जानु पर्ने बाध्यात्मक परिस्थिति बढ्दो छ । ती युवालाई यहाँको उत्पादनसँग जोडेर स्वदेशमै रोजगारी उपलब्ध गराउन सक्ने विधि के हुन सक्छ भन्नेतिर ध्यान दिने मेरो अर्को योजना छ ।

Bachan Bahadur singh

यस क्षेत्रमा नदी कटानको समस्या छ । सडक, खानेपानी र सिँचाइको समस्या पनि उस्तै छ । जङ्गली जनावरको आक्रमणबाट मानिसहरूले बर्सेनि ज्यान गुमाएका छन्, खेतीपाती उत्तिकै नष्ट हुने गरेको छ । छाडा चौपायाले पनि बालीनाली नष्ट गरेका छन् । यी विविध समस्या सधैँका लागि अन्त्य गर्न पनि मेरो उम्मेदवारी हो ।

म उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि पर्दछ । यो क्षेत्र सम्भावनाको भर्जिन ल्यान्ड पनि हो । यहाँ विदेशी पर्यटकको आगमन बढाएर स्थानीय युवालाई आत्मनिर्भरतामा जोड्न सकिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका साथै यहाँका धार्मिक स्थलको ब्रान्डिङ गर्ने, त्यसबाट स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ र मनग्य आम्दानी गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।

यो निर्वाचन क्षेत्रमा कृषिको पनि प्रचुर सम्भावना छ । कृषि र पशुपालनमा जोड दिएर यहाँका बासिन्दालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने खाँचो छ । यहाँका इशाई धर्मावलम्बीका लागि समाधिस्थलको अभाव छ । त्यसको प्रबन्ध गर्न आवश्यक छ ।

शुक्लाफाँटामा बहुप्राविधिक शिक्षालय छ, यसलाई अझ व्यवस्थित र उपयोगी बनाउन खाँचो छ । सम्बन्धित विद्यार्थीलाई जीवनोपयोगी शिक्षा उपलब्ध गराउन सके ऊ आत्मनिर्भर हुन सक्छ । सुदूरपश्चिम विश्वविद्यालयको पाठ्यक्रम पनि यहाँको भूगोल र परिस्थिति अनुकूल हुनुपर्छ । यहाँका जडीबुटी, जलस्रोतलाई अध्ययन गर्न सक्ने गरी पाठ्यक्रम बनाउनु पर्छ ।

म शासक बन्न होइन, यहाँको सेवक बन्ने प्रणसहित मतदातासामु गइरहेको छु । यो स्वाभाविक खालको निर्वाचन होइन, विशेष खालको निर्वाचन हो । हाम्रो सम्प्रभुताको लागि एउटा लडाइँ हो । देशको भौगोलिक अखण्डताको सवालमा म सधैँ समर्पित हुनेछु ।

  • नेकपा उम्मेदवार माधव प्रसाद पन्तका एजेन्डा

सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने नाराका साथ नेपाली कम्युनिस्ट पार्टी आसन्न प्रतिनिधि सभा निर्वाचनमा होमिएको छ । कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीबाट मैले उम्मेदवारी दिएको छु । यो निकै सम्भावना भएको क्षेत्र हो । पर्यटन र कृषिमा यहाँ निकै सम्भावना छ । प्राकृतिक सुन्दरता र पर्यटकीय हिसाबले यहाँ धेरै सम्भावना छन् । यी क्षेत्रको समुचित विकासबाट रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।

Madhab prasad Panta

कृषिमा पकेट क्षेत्र बनाइ साना र मझौला उद्योगधन्दामार्फत यहाँका बासिन्दाको जीवनस्तर उकास्न सकिन्छ । भौतिक संरचना, कृषि, पर्यटन क्षेत्रको विकासबाट युवालाई रोजगारीका अवसर सिर्जना गर्ने पर्याप्त सम्भावना छन् ।

यहाँ समस्या पनि छन् । यहाँका मतदाताले दशकौँदेखि उपभोग गर्दै आएको जमिनको लालपुर्जा पाएका छैनन् । सुकुमबासी, आरक्ष पीडितका समस्या छन् । वन्यजन्तुबाट बर्सेनि ज्यान गुमाउनु परेको अवस्था छ । यी समस्या समाधान गर्नुपर्ने दायित्व छ ।

मैले उम्मेदवारी दिँदै गर्दा पनि जोड दिएका विषय भनेको भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने, आर्थिक समृद्धि र बाटोघाटोको सुविधा, सिँचाई, शिक्षा, स्वास्थ्यका सुविधा, रोजगारीजस्ता आधारभूत आवश्यकता पूरा गर्ने हो । यहाँ गुणस्तरीय शिक्षाको अभाव छ । गुणस्तरीय शिक्षाका लागि मेरो पहलकदमी रहने छ । यहाँ रहेको शुक्लाफाँटा पोलिटेक्निकलाई गुणस्तरीय बनाइने छ । कलेजहरूलाई गुणस्तरीय बनाउनु छ । आधारभूत र माध्यमिक शिक्षालाई अझै स्तरीय बनाउनका लागि सार्वजनिक शिक्षा सुदृढीकरणमा मेरो पहलकदमी रहने छ । यहाँ राम्रो अस्पताल छैन । कम्तीमा १०० शय्याको विशेषज्ञ सुविधासहितको अस्पताल बनाउन मेरो पहलकदमी रहने छ ।

किसानले उब्जाएका फलफुल तथा अन्य बालीले राम्रो बजार पाउन सकेका छैनन् । बिचौलिया निरुत्साहित गर्दै कृषि उपजको बजारीकरणका लागि मेरो पहल हुनेछ ।

अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न जरुरी छ । समग्रमा यो क्षेत्रको विकास गरी कञ्चनपुर–२ र सिङ्गो सुदूरपश्चिम प्रदेशकै विकासमा योगदान गर्ने मेरो लक्ष्य छ । यो ठाउँका मतदाताको आवाजलाई संसदमा बुलन्द गर्ने प्रतिबद्धता जनाउँछु ।

आज राष्ट्र र राष्ट्रियता कमजोर बनेको छ । वैदेशिक हस्तक्षेप भइरहेको छ । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, अखण्डता जोगाउन राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर पहलकदमी गर्नेछु ।

देशलाई समृद्ध बनाउन, रोजगारी सिर्जना गर्न र मुख्य रूपमा रोजगारीका अवसर सिर्जना गर्ने नीति निर्माणमा सशक्त भूमिका निर्वाह गर्नका लागि मेरो उम्मेदवारी हो । लामो समयसम्म विद्यार्थी आन्दोलन, युवा आन्दोलनमा म सामेल भएका कारण हाम्रो समाज र यो देशको समस्यासँग राम्रोसँग अवगत छु । नीति निर्माणको तहमा पुग्दैगर्दा यो ठाउँलाई कसरी आत्मनिर्भर बनाउने भन्नेमा मेरो पहल हुनेछ । रोजगारीका लागि युवाहरू विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि केही सिपमुलक कार्यक्रम सञ्चालन गर्ने र स्वदेशमै बसेर आत्मनिर्भर हुने परिस्थिति निर्माण गर्ने मेरो योजना छ ।

  • अन्य उम्मेदवार को–को ?

कञ्चनपुर क्षेत्र नम्बर २ मा कांग्रेस, एमाले, नेकपा, रास्वपा लगायत विभिन्न दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि, यी चार दल नै यस क्षेत्रमा बढी चर्चामा छन् ।

यस क्षेत्रका अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तिर्थराज चटौत, जनमत पार्टीका रामचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीका सिताराम राना, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशी, संयुक्त नागरिक पार्टीका खडक ताम्राकार छन् ।

यस्तै, मितेरी पार्टी नेपालका तेजबहादुर वडवाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का लोकेन्द्र बहादुर विक, उज्यालो नेपाल पार्टीका योगेन्द्र बहादुर साउद, नागरिक उन्मुक्ति पार्टी नेपालका प्रेमवती राना र आम जनता पार्टीका जग्गु चौधरी उम्मेदवार छन् ।

यहाँ बिरेन्द्र राना, भानुभक्त बोहरा, सिद्धराज जोशी, हरिस बहादुर भट्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप