बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सात दल र ८६७ उम्मेदवारले अद्यावधिक गरे निर्वाचन खाता

शुक्रबार, ०८ फागुन २०८२, १६ : १६
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि सात राजनीतिक दलले बैंक खाता अद्यावधिक गरेको जनाएको छ।
  • आयोगका अनुसार ८६७ उम्मेदवारले बैंक खाता खोलेका छन्, जसले आर्थिक सहायताको पारदर्शिता सुनिश्चित गर्छ।
  • चुनावी खर्च व्यवस्थापनबारे आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ।

काठमाडौँ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि सात राजनीतिक दलले निर्वाचन खाता अद्यावधिक विवरण बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले सात दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेको जानकारी दिएको हो । 

‘अद्यावधिक विवरण अनुसार ७ (सात) राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोली सोको जानकारी सम्बन्धित कार्यालयहरूमा गराएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ स्वीकृत गरी कार्यान्वयन गरेको थियो । 

स्वीकृत कार्यविधि अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ।

यस्तै खर्च व्यवस्थापनबारे दलहरूसँग छलफल भइरहेको आयोगले जनाएको छ । निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापनबारे आयोगले राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न गरेको छ। छलफलमा कार्यक्रममा ७५ राजनीतिक दलका प्रतिनिधि आमन्त्रित जनाएको छ । चुनावी खर्चमा पारदर्शिता बढाउने उद्देश्यले आयोगले सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गर्ने र राजनीतिक दलका प्रतिनिधिसँगै सरोकारवालाको प्रतिनिधित्व कार्यक्रममा रहने विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप