आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

घ्याङफेदीमा 'अन्तर्राष्ट्रिय पर्यटन हब' बनाउने उम्मेदवार राजन गौतमको योजना

शनिबार, ०९ फागुन २०८२, २१ : ०२
शनिबार, ०९ फागुन २०८२

नुवाकोट । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार राजन गौतमले घ्याङफेदीलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेका छन्। चुनावी घरदैलोका क्रममा मतदाताहरूसँग कुराकानी गर्दै गौतमले घ्याङफेदीको ऐतिहासिक र प्राकृतिक महत्त्वलाई उजागर गर्दै यसलाई 'अन्तर्राष्ट्रिय पर्यटन हब' का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उम्मेदवार गौतमले वि.सं. २०४९ सालमा घ्याङफेदीमा भएको थाई एयरको विमान दुर्घटना स्थललाई मुख्य पर्यटकीय आकर्षणको केन्द्र बनाउने बताए। हाल ककनीमा रहेको विमान दुर्घटना स्मारकलाई घ्याङफेदीकै वास्तविक दुर्घटना स्थल (करिब ४१०० मिटरको उचाइ) मा निर्माण गरी त्यहाँ अन्तर्राष्ट्रिय स्तरको पार्क बनाउनुपर्नेमा उनले जोड दिए। 
स्पेन लगायतका मुलुकमा यस्ता दुर्घटना स्थललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको अभ्यास रहेको स्मरण गर्दै उनले यहाँ रक क्लाइम्बिङ र एडभेन्चर टुरिज्म (जोखिमपूर्ण पर्यटन) को प्रचुर सम्भावना रहेको उल्लेख गरे।

प्राकृतिक सम्पदाको संरक्षण र पर्यटनलाई जोड्दै गौतमले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने दुर्लभ रेड पान्डा (हाब्रे) को अनुसन्धान केन्द्र स्थापना गर्ने योजना पनि अघि सारेका छन्। विश्वभरका अनुसन्धानकर्ता र पर्यटकलाई आकर्षित गर्न रेड पान्डा अनुसन्धान स्थल निर्माण गर्दा स्थानीय तामाङ संस्कृति र गाउँको पहिचान विश्वभर पुग्ने उनको विश्वास छ। 

उनले होमस्टे र स्थानीय उत्पादनको प्रवर्द्धन गरी युवाहरूलाई विदेश जानबाट रोकेर गाउँमै रोजगारी सिर्जना गर्ने दाबी गरे।

"बाटो, खानेपानी, स्वास्थ्य र शिक्षा विकासका आधारभूत कुरा हुन्, जुन हुनैपर्छ," गौतमले भने, "तर वास्तविक विकास भनेको मान्छेको आर्थिक र सामाजिक जीवनस्तरको विकास हो।" उनले घ्याङफेदी माथिको सूर्यपिकमा २५ वर्षसम्म तपस्या गरेका धार्मिक गुरुको इतिहासलाई समेत अनुसन्धानको दायरामा ल्याएर धार्मिक र सांस्कृतिक पर्यटनलाई समेत सँगै लैजाने बताए।

यसअघिका नेतृत्वले घ्याङफेदीलाई सधैं 'दुर्गम' र 'पिछडिएको' भन्दै ओझेलमा पारेको प्रति लक्षित गर्दै गौतमले राजधानीबाट मात्र ८० किलोमिटरको दूरीमा रहेको यो ठाउँलाई अब पिछडिएको क्षेत्रका रूपमा रहन नदिने उद्घोष गरे। 

नयाँ नेतृत्व र अनुसन्धानमा आधारित भिजनका साथ अघि बढ्दा घ्याङफेदीको कायापलट हुने उनको तर्क छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप