बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनको मुखमा कृत्रिम अभाव र महँगी बढाएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको चेतावनी

मङ्गलबार, १२ फागुन २०८२, १२ : २३
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • क्रान्तिकारी कम्युनिस्ट पार्टीले निर्वाचनको प्रचारमा जनतालाई झुटा आश्वासन दिएको आरोप लगाएको छ।
  • पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्यास अभाव र कालोबजारीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
  • पार्टीले सरकारलाई बजार अनुगमन गरी कालोबजारी रोक्न र मूल्यवृद्धि फिर्ता लिन दबाब दिएको छ।

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संसदीय निर्वाचनको प्रचारप्रसारका क्रममा जनतालाई झुटा आश्वासन बाँडिएको भन्दै आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता सुदर्शनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एकातिर संसद्वादी दलहरू चुनावको नाममा जनताको घरदैलोमा दौडिरहेको र अर्कोतिर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी जनताको ढाड सेक्ने काम भइरहेको बताएका हुन्। 

निर्वाचनको तडकभडकका बिच पेट्रोलियम पदार्थको मूल्यवृद्धि, खाना पकाउने ग्यासको अभाव र कालोबजारी बढ्नु अत्यन्त गम्भीर विषय भएको विज्ञप्तिमा उल्लेख छ। पार्टीले राज्यसत्तासँग ग्यास तथा अन्य अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने तत्वहरूको तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गरेको छ। 

बजार अनुगमनलाई तीव्रता दिएर कालोबजारी हटाउन र सर्वसाधारणका लागि उपभोग्य वस्तुहरू सर्वसुलभ बनाउन सरकारलाई दबाब दिएको छ। विशेषगरी महँगीको मुख्य स्रोतका रूपमा रहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्नेमा प्रवक्ता सुदर्शनले जोड दिएका छन्। चुनावको माहोलमा व्यवसायी र राजनीतिक दलहरू मिलेर जनतालाई सास्ती दिएको भन्दै पार्टीले यसप्रति कडा निगरानी राख्ने जनाएको छ।

विज्ञप्तिमार्फत क्रान्तिकारी कम्युनिस्ट पार्टीले सरोकारवाला निकाय, राजनीतिक दल र व्यवसायीहरूलाई जिम्मेवार तथा उत्तरदायी बन्न विशेष आग्रह समेत गरेको छ। जनताका आधारभूत आवश्यकतामाथि खेलबाड गरिए आफूहरू चुप लागेर नबस्ने र महँगीविरुद्ध संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी पार्टीले दिएको छ। 

बजारमा व्याप्त बेथिति र कालोबजारी नियन्त्रण नगरे वर्तमान राज्यसत्ताकै विरुद्ध जनआक्रोश बढ्ने चेतावनी दिँदै पार्टीले जनपक्षीय कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप