टाँगियाबस्तीका स्थानीय सोध्छन्, ‘हाम्रो भोट नम्बरी, जनताचाहिँ ऐलानी ?’
सारांश
- बाराको टाँगियाबस्तीका बासिन्दाले लालपुर्जाको आश्वासन दिने नेताहरूलाई यसपटक भोट बहिष्कार गर्ने बताएका छन्।
- निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित क्षेत्रमा पर्ने बस्तीका स्थानीयहरू लालपुर्जा र विमानस्थल निर्माणको अन्योलमा छन्।
- स्थानीयहरूले जग्गाधनी पुर्जा, पूर्वाधार विकास र पर्यटन हब बनाउन पहल गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन्।
बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–निजगढ सडकखण्डको दक्षिणतर्फ घना जंगलको मध्यभागमा अवस्थित टाँगियाबस्तीमा अहिले चुनावी सरगर्मी बढेको छ ।
बारा–३ को ३७ वटा वडाहरूमध्ये सबैभन्दा धेरै मतदाता रहेको यो बस्ती जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १६ मा पर्छ । राष्ट्रिय वनक्षेत्रभित्र रहेको यो बस्ती वर्षौंदेखि भूमिहीन समस्यासँग जुधिरहेको छ ।
स्थानीय सोनाम घलान भोट माग्न आउने नेताहरूले सधैँ लालपुर्जा दिने आश्वासन मात्रै बाँड्ने तर जितेपछि फर्केर नआउने गरेको गुनासो गर्छन् । 'यसपटक हामी भोट बहिष्कार गर्ने, कसैलाई भोट नदिने,' घलानले भने, 'हाम्रो भोट नम्बरी, हामी जनताचाहिँ ऐलानी ?'
टाँगियाबस्ती प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको भूभागमा पर्दछ । यहाँका बासिन्दाहरू निर्वाचनमा दलका उम्मेदवारहरूबाट लालपुर्जाको आश्वासन पाउँछन् भने निर्वाचनपछि विमानस्थलको मुद्दा उठाउने काम हुन्छ ।
_7IHokOAMWK.jpg)
अर्का स्थानीय भीमलाल गोलेले सरकारले टाँगियाबस्तीका नागरिकलाई यहीँ बस्ने व्यवस्था मिलाइदिन आग्रह गरे । यहाँ कति दुःख गरेर घर, गोठ बनाइयो । अन्त २ कठ्ठा, ५ कठ्ठा जग्गा दिएर हामीलाई घडेरी पनि पुग्दैन,' गोले भन्छन्, 'यत्रो घर लिएर कहाँ जाने ? हामीलाई यहीँ बसोबासको व्यवस्था हुनुपर्छ ।
जनजातिहरूको बाहुल्य रहेको यो क्षेत्रका स्थानीयहरूको मुख्य पेसा पशुपालन र कृषि हो । यहाँका किसानहरूले व्यावसायिक रूपमा तरकारी, केरा खेती गर्दै आएका छन् भने वर्षभरि नै हरियो मकै उत्पादन गरेर वीरगञ्ज, काठमाडौँसम्म पुर्याउने गर्दछन् । जग्गाको लालपुर्जासँगै सडक पूर्वाधार, स्वास्थ्य संस्था, प्रहरी चौकी र कक्षा १२ सम्म अध्ययन गर्ने सुविधायुक्त विद्यालय नहुँदा यहाँका स्थानीयहरूले अनेकौँ समस्या झेल्दै आएका छन् ।
विमानस्थलको अलमल, बस्तीको अन्योल
सरकारले २०६५ पुस २ गते मन्त्रिपरिषद्बाट टाँगियाबस्तीसहितको भूभागलाई समेटेर अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो । त्यसपछि २०७१ फागुन २१ गते मन्त्रिपरिषद्को निर्णयबाट टाँगियाबस्तीलाई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घोषणा गर्दै २०७१ चैत ३० गते राजपत्रमा सूचना प्रकाशन गरिएको थियो ।
_LgnKK84DUx.jpg)
विमानस्थल निर्माणको घोषणा भएयता दर्जनौँपटक यो बस्ती स्थानान्तरणका लागि राष्ट्रियस्तरमा बहस तथा छलफल भए । तर, न विमानस्थलको काम अगाडि बढ्न सक्यो न त बस्ती स्थानान्तरण नै हुन सक्यो । स्थानीय चन्द्रबहादुर तामाङ सरकारले अन्तर्राष्ट्रिय विमानस्थलको नाममा जनतालाई अन्योलमा राखेको बताउँछन् । 'गएको चुनावमा नेताहरूले घरघरमा लालपुर्जा पुर्याउने काम मेरो भयो भने तर, जितिसकेपछि फर्केर आएनन्,' तामाङले भने, 'हामीलाई यहीँ बसोबास गर्न मन छ, अब बुढेसकाल भइसक्यो कहाँ जाने ?'
२०७९ को निर्वाचनमा यस क्षेत्र (बारा–३) बाट एमाले नेतृ ज्वालाकुमारी साह निर्वाचित भएकी थिइन् । यसपटक उनी चुनावी प्रचारप्रसारका लागि टाँगियाबस्तीमा खुलेर हिँड्न सकेकी छैनन् । साहको चुनावी घरदैलोमा स्थानीयहरूले घेराबन्दी गरेर विरोध गरेको स्थानीय तामाङले बताए । टाँगियाबस्ती अन्यत्र स्थानान्तरण गर्ने भन्दै यसअघि कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ठुलासाना सबै दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीहरू दर्जनौँपटक यहाँ आइसकेका छन् । तैपनि यहाँको समस्या समाधानमा कुनै दलका नेताहरू गम्भीर देखिएका छैनन् ।
उम्मेदवारहरूको भिन्न मत
स्थानीय धनवीर लामाले यसअघि पनि नेताहरूले चुनावमा जग्गाको पुर्जा पाउने आश्वासन दिए पनि हालसम्म नापीसमेत नभएको बताए । उनले यसपटक टाँगियाबस्तीमा बिजुली बत्ती बाल्न पहल गर्ने जसपा उम्मेदवार रामबाबुप्रसाद यादवलाई भोट दिने बताए ।
_HRJCKF09Sz.jpg)
बारा–३ मा एमाले उम्मेदवार ज्वालाकुमारी साह, कांग्रेसका फरमुल्लाह मन्सुर, जसपाका रामबाबुप्रसाद यादव, नेकपाका भरत साह र रास्वपाबाट अरबिन्द सिंहलगायत उम्मेदवार छन् । जसपा उम्मेदवार यादवबाहेक अन्यले टाँगियाबस्तीको विषयमा आफ्नो धारणा हालसम्म सार्वजनिक गरेका छैनन् । उम्मेदवारहरू राष्ट्रिय गौरवको आयोजना बन्नुहुन्न भनेर बोल्न नसक्ने र टाँगियाबस्तीका स्थानीयहरूलाई जग्गाको भोगचलनको आधारमा लालपुर्जा दिनुपर्छ भन्दा विवादमा परिने डरमा छन् । नेकपा उम्मेदवार भरत साह टाँगियाबस्तीको विषयमा अहिले केही बताउन नसक्ने बताउँछन् ।
जसपा उम्मेदवार रामबाबुप्रसाद यादवले भने ५ वर्षभित्र टाँगियाबस्तीमा जग्गाधनी पुर्जासहित सडक, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र होम स्टे सहितको पर्यटकीय 'हब'को रूपमा विकास गर्ने बताएका छन् ।
_bGPg2HwZDC.jpg)
'काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सञ्चालन हुनासाथ टाँगियाबस्तीलाई पर्यटकीय हबको रूपमा विकास गर्न सकिन्छ, ५ वर्षमा यहाँका जनताको जीवनस्तर धेरै फेरिन्छ,' यादवले भने, 'यहाँ विमानस्थल बन्दैन, जनतालाई खेलाएर, भुलाएर भूमिहीन राख्ने ठुला दलहरूको उद्देश्य मात्रै हो ।' यादवले सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसकेको अवस्थामा निजगढ विमानस्थल बन्छ भनेर भ्रम फैलाउने काम मात्रै भएको बताए । 'यहाँको बस्ती उठाउने र द्रुतमार्ग चलेपछि टाँगियाबस्तीमा ठूला–ठूला होटल बसाउने योजना हो,' उनले भने, 'टाँगियाबस्तीमा घरमै रोजगारी सिर्जना गरेर वार्षिक लाखौँ भारतीय पर्यटकलाई भित्र्याउन सकिन्छ ।'
निजगढस्थित तराई–काठमाडौँ द्रुतमार्गको शून्य बिन्दुबाट करिब ३ किलोमिटर दक्षिणतर्फ टाँगियाबस्ती पर्छ ।
_vHs2Qxe9W5.jpg)
_y7qitg3dIe.jpg)
_zQ7iqWtXjG.jpg)
_Wse9rs187C.jpg)
_Hc3QZwgfhe.jpg)
_NGOVytlAnF.jpg)
_FcDkYiyKd8.jpg)
_tIlSNcVnUt.jpg)
_c4SIwX5Ipp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण