‘मेरो निरन्तरता र जनतासँगको सामीप्यता नै मेरो शक्ति हो’
सारांश
- नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेसँगको कुराकानीमा चुनावी अभियान, क्षेत्रको विविधता र आगामी योजनाबारे छलफल गरियो।
- घिमिरेले आफ्नो निरन्तरता, जनतासँगको सामीप्यता, र विगतका कामहरूलाई आधार मानेर आगामी मार्गचित्र तय गरेको बताए।
- उनले कृषि, रोजगारी, पूर्वाधार र पर्यटन प्रवर्द्धनका योजनाहरू सार्वजनिक गरे, साथै अन्य प्रतिस्पर्धी र रास्वपाको घण्टीको प्रभावबारे धारणा राखे।
रातोपाटीको ग्राउन्ड जिरो टोलीले मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेसँग कुराकानी गरेको छ। उनी यसअघि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पनि रहिसकेका छन्।
लामो समयदेखि यसै क्षेत्रमा राजनीति गरिरहेका उनी आफ्नो निरन्तरता र जनतासँगको सामीप्यतालाई नै आफ्नो मुख्य शक्ति मान्छन्। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
चुनावी अभियान कसरी अघि बढिरहेको छ ?
चुनावी अभियान एकदम उत्साहजनक ढङ्गबाट अगाडि बढिरहेको छ। यो क्षेत्र भौगोलिक हिसाबले पनि अलि ठुलो छ र जातीय सन्तुलन र सामाजिक बनावटको हिसाबले पनि एकदम विविधतायुक्त छ। अहिले हामी जहाँ बसिरहेका छौँ, यो विराटनगर हो, यो यसै निर्वाचन क्षेत्रमा पर्छ।
विराटनगरको विशेषता एक खालको छ। त्यसपछि अलिकति परतिर कटहरी गाउँपालिका पर्छ, त्यसको सामाजिक बनावट नितान्त भिन्न छ। त्यसपछि फेरि अलि मास्तिर जाँदा ग्रामथान गाउँपालिका छ, त्यहाँको बनावट पनि भिन्न छ। बेलबारी नगरपालिकाभित्रका केही वडाहरू पर्छन्, त्यसको बनावट पनि भिन्न छ।
यसरी सामाजिक हिसाबले पनि एकदम विविधतायुक्त छ र वर्गीय हिसाबले पनि अत्यन्तै विविधता छ। एकदम देशकै सम्भ्रान्त मानिसहरूको बसोबास पनि यहाँ छ र अत्यन्तै गरिब, बिहान–बेलुकाको छाक टार्नुपर्ने समस्या भएकाहरूको बसोबास पनि छ। यस किसिमले यो विविधतायुक्त र बहुलवादी समाजको बीचमा चाहिँ यो निर्वाचन क्षेत्र छ।
यसलाई सन्तुलन गर्ने काम कसरी गरिरहनुभएको छ ? मुद्दाको हिसाबले पनि फरक हुने भयो नि त ?
हो, मैले विगत चार दशकदेखि निरन्तर यसै क्षेत्रका जनताको सेवामा समर्पित छु। मेरो एउटा राजनीतिक निरन्तरता र जनताप्रतिको सामीप्यता लगातार छ। मर्दा–पर्दा, जन्ती–मलामी, सुख–दुःख हर कुरामा मेरो सहभागिता छ।
त्यसकारणले यहाँ कुन गल्ली, गल्छेडा, बाटो, घाटो, कता, के, कुन जात, कुन वर्ण, कुन वर्ग यी सबै कुराको तथ्याङ्क मेरो यहीँ नै सेट–अप छ। मैले कसैसँग मागिरहनु पर्दैन, सोधिरहनु पर्दैन । त्यसो भएको हुनाले पनि मैले ती सबै चित्रलाई ‘बेस’ मानेर र हिजो मैले गरेका कामहरूलाई समेत आधार मानेर आगामी मार्गचित्र पनि मैले तय गरेको छु।
त्यो मार्गचित्र चाहिँ के हो त ?
मैले यहाँको जाति, जनजाति, खासगरी थारु, बाँतर, सन्थाल, मुसहर, मुस्लिम जस्ता पछाडि परेका जाति र जनजातिहरूको उत्थानका निमित्त मैले केही प्रोग्रामहरू सोचेको छु र पत्रकार सम्मेलनमार्फत सार्वजनिक पनि गरेको छु।
यसैगरी यहाँको समृद्धिका लागि मैले मुख्यतस् यो कटहरीमा रेल्वे स्टेसन निर्माण गरेर रोजगारीको प्रवर्द्धन गर्ने र रेल सुसञ्चालन गर्ने उद्घोष गरेको छु। त्यसैगरी यो अलपत्र परेको र बेवारिसे रहेको विराटनगरको रिङरोड, यसलाई सञ्चालन गर्ने मैले सङ्कल्प गरेको छु।
यसैगरी मैले खासगरी ग्रामीण क्षेत्रलाई चाहिँ कृषिको पकेट क्षेत्र, तरकारीको केन्द्र बनाउने र कोल्ड स्टोरसमेतको प्रबन्ध गर्ने उद्घोष गरेको छु। र सँगसँगै एउटा रोजगारी प्रवर्द्धनका लागि विराटनगरलाई एउटा आइटी हबको रूपमा विकास गर्ने सोच मैले राखेको छु।
यसैगरी ग्रामीण क्षेत्रका केही सडक पूर्वाधारहरूका विषयमा पनि मैले मेरो प्रतिबद्धता जाहेर गरेको छु। सँगसँगै पर्यटन प्रवर्द्धनका केही केन्द्रहरू– धनपालगढी लगायत केही ठाउँहरूलाई प्रवर्द्धन गर्ने मैले सोच अगाडि बढाएको छु।
तपाईं प्रदेश सभामा हुनुभयो, प्रदेशको केही समय मन्त्री बन्नुभयो। तर पार्टीलाई हेर्ने हो भने पटकपटक सरकारमा, लामो समय सरकारमा रहने अवस्था बन्यो, यी सारा कुराहरू किन हुन सकेनन् ? फेरि एमाले नेताहरूले त्यो भन्न मिल्छ र ? यसअघि नगरेको कुरा भन्ने छ नि त ?
होइन, यो त मान्छेको स्वभाव नै महत्त्वाकाङ्क्षी हुन्छ, आकाङ्क्षी हुन्छ। यो मानवीय चरित्रको कुरा हो। तर हामीले कहाँबाट मापन गर्नु पर्यो भने हाम्रो यात्रा कहिले प्रारम्भ भयो र कहाँबाट भयो ? आजभन्दा १० वर्ष अघिका जीवनशैलीहरू सम्झिऔँ। १० वर्ष अगाडिका बाटाघाटाहरू हेरौँ। १० वर्ष र आजको बिचको भिन्नतालाई तुलना गरौँ त। काफी भिन्नताहरू देख्न र भेट्न सकिन्छ।
म आफैँ प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा ३ वर्ष रहेर काम गरेँ। कोभिडको काल थियो। मैले १५ दिनभित्रमा कोभिड अस्पताल निर्माण गरेर जनताको सेवा दिएँ। हजारौँ मानिसहरूको जीवन मैले बचाउन सकेँ। अहिले भोट माग्न जाने क्रममा उहाँहरूले मलाई धन्यवाद दिइराख्नुभएको छ, आभार व्यक्त गरिराख्नुभएको छ।
विराटनगरमा रात्रिकालीन खेल खेल्ने प्रबन्ध मैले नै गरेँ। नेपालमै, म दाबी गर्छु अनलाइन एजुकेशनको प्रारम्भ मैले नै गरेँ। र आज देशव्यापी रूपमा चाहिँ यसले प्रभाव पारेको छ। मैले मन्त्रीको कार्यभार सम्हालेका दिन नै मैले १० वर्षभित्रमा कोशी प्रदेशबाट झोला र किताब विस्थापित गर्नेछु भनेको थिएँ। लगभग त्यो दिशा तर्फ चाहिँ आज देश अगाडि बढिरहेको छ। मान्छेका गोजीमा कलम हराए अहिले, डायरी बोक्न छाडे अहिले। भनेपछि अब झोला र किताब विस्थापित हुन पनि धेरै दिन बाँकी छैन।
मैले ५ हजार शिक्षकहरूलाई अनलाइन ट्रेनिङ दिएको थिएँ र त्यसको प्रभाव चाहिँ आज देशव्यापी रूपमा परिरहेको छ। मैले मनमोहन विश्वविद्यालय को स्थापना गराएँ। नेपालमै एउटा नयाँ मोडालिटीको प्राविधिक विश्वविद्यालय सुसञ्चालन भइरहेको छ र अहिले राम्रो सेवा त्यसले प्रवाह गरिरहेको छ। मैले ज्येष्ठ नागरिकहरूको हितमा उल्लेखनीय कामहरू गरेको छु।
मैले ‘सडक मानव मुक्त’ अभियान चलाएको छु र कोशी प्रदेश होइन, त्यहाँबाट सुरु भएको सडक मानव मुक्त अभियान आज देशव्यापी रूपमा चलिरहेको छ। यसरी म मन्त्री हुँदा गरेका कामहरू पनि जनताका दिलमा, मनमा, मस्तिष्कमा ताजै छन् भन्ने मलाई लाग्छ।
यहाँ त तपाईंले आफूले गरेको काम अथवा व्यक्तिले जवाफ दिने कुरा मात्रै छैन नि अहिलेको चुनावमा। हामीले विभिन्न जिल्लामा दर्जनौँ निर्वाचन क्षेत्रहरूमा एमाले प्रतिनिधिहरूलाई सोध्दा तपाईंहरूलाई त अर्कै आरोप छ । तपाईंहरूको पार्टीलाई भदौ २३ र २४ गतेको हत्याराको पार्टी, पार्टी अध्यक्षलाई त्यत्रो आरोप छ। उहाँको काम र बोलीले गर्दाखेरि त्यसको जवाफ दिन चाहिँ तपाईंहरूलाई अलि गाह्रो छ भनिन्छ नि त ?
होइन, चुनावको बेला हो, दलीय प्रणालीमा छौँ। हरेक दलले एक अर्काको बिचमा प्रतिस्पर्धा गर्नु छ। प्रतिस्पर्धाका लागि भएका, नभएका झुटमुट सबै कुराहरू आउँछन् यति बेला। हामी सुन्न तयार हुनुपर्छ। तर वास्तविकता चाहिँ जनताले बुझेका छन् र यो घटना के हो ? उपलब्धि के भयो ? यो २३–२४ को घटनाले देशले के पायो ? सिंहदरबारदेखि वडा कार्यालयसम्म खरानी भए। व्यक्ति–व्यक्तिका घरहरू ध्वस्त भए। सारा राज्यका संरचनाहरू ध्वस्त भए। सारा ऐतिहासिक दस्तावेजहरू ध्वस्त भए। देशले के पायो ? केही पनि पाएन, खरानी बाहेक केही पनि पाएन। भनेपछि यो त जसले गरायो, अपजस त त्यहाँ जानुपर्छ नि। त्यसो भएको हुनाले यी सबै भ्रमहरू यही चुनावी अभियानमै हामी जनतालाई प्रस्ट पार्दै जानेछौँ र यसको असर त्यत्रो ठुलो पर्छ भन्ने मलाई लाग्दैन। वास्तविकता बोध गराउँछौँ।
तपाईंलाई यसअघिको निर्वाचनमा पनि जहिले पनि चुनौतीको रूपमा रहेको प्रतिस्पर्धीहरू त हुने नै भइहाले । पार्टीभित्रको अन्तर्विरोधका कारण तपाईं पराजित हुनुहुन्छ भन्ने बुझाइ रहेछ, त्यो सुन्नुभएको छ कि छैन तपाईंले ?
त्यस्तो अवस्था होइन। अहिले म पार्टीको केन्द्रीय सदस्य पनि हुँ। त्यस हिसाबले मोरङको समग्र चुनावी अभियानप्रतिको मेरो जिम्मेवारी छ। म आफ्नो क्षेत्र मात्रै केन्द्रित छैन, ६ वटै निर्वाचन क्षेत्रका सबै गतिविधिहरू मैले नियालिरहेको छु, जानकारी र सूचनाहरू लिइरहेको छु।
महाधिवेशन अगाडि पार्टीभित्र पक्षधरताहरू भए, ती स्वाभाविक कुरा थिए। प्यानल वाइज चुनाव भए। तर महाधिवेशन सम्पन्न भइसकेपछि ती कुराहरू स्वतः निस्तेज भएर गए र अहिले त पार्टीभित्रको चुनाव होइन, बाह्य चुनाव भएको हुनाले यसभित्र विगतका महाधिवेशनका क्रममा भएका प्यानलहरूको कुनै प्रभाव र असर यहाँ छैन।
प्रतिस्पर्धी दलहरूसँग प्रतिस्पर्धा भन्दा तपाईंलाई आफ्नै दलसँग प्रतिस्पर्धा गर्न गाह्रो छ भन्ने कुरा सत्य होइन ?
त्यो सत्य होइन। तपाईंले बुझ्न सक्नुहुन्छ, नियाल्न सक्नुहुन्छ, अहिले त मैले कस्तो महसुस गर्छु भने चुनावी यो अभियानमा उम्मेदवार भन्दा पनि ज्यादा उत्साहित चाहिँ कार्यकर्ताहरू देखिनुहुन्छ। उम्मेदवार भन्दा ज्यादा सक्रियता पार्टी पङ्क्तिको र पार्टी कार्यकर्ताहरूको छ। कहीँ त्यस्तो अन्यथा भाव मैले देखेको छैन, भेटेको छैन।
अन्य दलहरूका प्रतिस्पर्धीहरू हेर्दाखेरि जस्तै गुरुराज घिमिरे तपाईंको प्रतिस्पर्धी हुनुहुँदो रहेछ। अमनलाल मोदी नेकपा माओवादी केन्द्रबाट हुनुहुन्छ। उहाँ पटक–पटक सांसद, पटक–पटक मन्त्री हुनुभयो। त्यो हिसाबले हेर्दाखेरि पनि तपाईंलाई अलि अप्ठ्यारो छ भनिन्छ नि त ?
त्यस्तो मलाई लाग्दैन। यहाँ उठेका १९ जना उम्मेदवारमध्ये लोकतान्त्रिक आन्दोलनमा योगदानको हिसाबले तुलना जनताले गर्छन् नै भन्ने लाग्छ र म मैले यो लोकतान्त्रिक आन्दोलनको क्रममा जुन योगदान गरेको छु, त्यो उचाइ र त्यो योगदान अरू कुनै पनि उम्मेदवारको छ भन्ने म देख्दिनँ।
जहाँसम्म ओहदाको कुरा गर्नुभयो, ओहदा भन्ने कुरा आउने–जाने भइरहन्छ। यो अस्थायी कुरा हो । र अहिले जसको ओहदा छ, त्यो वैशाखसम्म कायम रहन्छ कि रहँदैन त्यसको पनि ठेगान छैन। त्यसो भएको हुनाले ती ओहदाको प्रभाव यो निर्वाचन क्षेत्रमा पर्दैन।
र यो निर्वाचन क्षेत्रको सन्दर्भमा भन्दा हिजो एक पटक अमनलाल मोदीजीलाई, भन्नाले उहाँले जितेको होइन, अरूले जिताइदिएको हो। आफ्नो जित्ने तागत उहाँसँग छैन। एक पटक एमालेले जिताइदियो, अर्को पटक कांग्रेसले जिताइदियो । तर आफैँ जित्न सक्ने सामर्थ्य उहाँसँग छैन।
अर्का उम्मेदवारको जहाँसम्म प्रसङ्ग गर्नुभयो, उहाँ चुनावका बेला आउने, फेरि फर्केर काठमाडौँ जाने। यहाँ उहाँको नियमित र जनतासँगको दैनिकीसँग उहाँ जोडिनु हुन्न, जोडिनुभएको छैन। त्यसो भएको हुनाले तर म यहीँ छु, निरन्तर छु। म जहिले पनि जनताकै सेवामा समर्पित भएर यहीँ नेरी लागिरहेको छु। र मैले जुन योगदान गरेको छु देश र जनताको खातिर, त्यो पृष्ठभूमिसँग अरू कुनै उम्मेदवारको तुलना हुन्छ भन्ने लाग्दैन।
यहाँ त कांग्रेस र माओवादीको मात्रै कुरा भएन, अहिले त फेरि घण्टी बजाउँदै अर्को नयाँ शक्ति आएको छ, त्यो घण्टीको त्रास चाहिँ कति छ त ? पर्तिर बालेन्द्र शाहको रापताप पनि देखिन्छ ?
त्यो छ अलिअलि । मैले पनि सुन्छु। तर कस्ताहरूले भन्छन् घण्टी भन्दा साना-साना बालबच्चाहरू, केटाकेटीहरू, रमाइलो गर्ने, नाचगान गर्ने, होहल्ला गर्नेहरूको पङ्क्तिमा त्यसको असर प्रभाव देख्छु, तर मतदाता तहमा त्यसको असर र प्रभाव म देख्दिनँ।
रास्वपाको घण्टीले तपाईंको मनमा घण्टी बजाउन सकेको छैन ?
एकरती छैन। प्रतिस्पर्धी पनि होइन। मैले अघि नै पनि भनिसकेँ, एकजना उम्मेदवारलाई जितेको होइन जिताइएको हो, अर्को उम्मेदवारको यहाँ कुनै पोलिटिकल ब्याकग्राउन्ड र बेस छैन।
यो एमालेको लालकिल्ला हो। तर म के कुरा स्वीकार गर्छु भने विगत निर्वाचनमा हामीले सोचेको परिणाम आएन, त्यो कुरा म स्वीकार गर्छु। के कारणले आएन ? भन्दा गठबन्धनका कारणले आएन। सात दल एकातिर, एमाले एकातिर भएका कारणले आएन।
त्यसका बाबजुद पनि नेपाली कांग्रेसले त प्रदेश सभामै हारेकै हो त ! गुरुराज घिमिरेले त प्रदेश सभामै हार्नुभएकै हो त ! सात दलको साथ हुँदा पनि त हार्नुभएको हो। अहिले त एक्लै हुनुहुन्छ। अनि जितको सम्भावना कहाँ छ र ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण