बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुऔषध तस्करीसम्बन्धी मुद्दा खारेज गर्न मादुरोको माग

शुक्रबार, १५ फागुन २०८२, १५ : ३२
शुक्रबार, १५ फागुन २०८२

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी मुद्दा खारेज गर्न अमेरिकी अदालतसमक्ष निवेदन दिएका छन् । 

अमेरिकी प्रशासनले आफ्नो कानुनी बचाउको संवैधानिक अधिकारमा अवरोध गरेको आरोप पनि उनले लगाए । मादुरोका वकिल ब्यारी पोल्याकले बिहीबार म्यानह्याटनको सङ्घीय अदालतमा दायर गरेको निवेदनमा अमेरिकी सरकारले भेनेजुएला सरकारलाई मादुरोको कानुनी खर्च तिर्न नदिएको बताएका छन् । 

यसले आफूले रोजेको वकिल राख्ने अधिकार अर्थात् अमेरिकी संविधानको छैटौँ संशोधनअन्तर्गतको अधिकार उल्लङ्घन गरेको दाबी गरिएको छ ।

मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस जनवरी ३ मा अमेरिकी सैन्य कारबाहीपछि पक्राउ परेर न्यूयोर्कमा बिना जमानत थुनामा छन् । तर दुवैले आरोप अस्वीकार गरेका छन् । 

अमेरिकी अभियोजकहरूले भने मादुरोले आफ्नो पदको दुरुपयोग गर्दै लागुऔषध तस्करहरूलाई सहयोग गरेको आरोप लगाएका छन् । वकिल पोल्याकका अनुसार अमेरिकी अर्थ मन्त्रालयको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी)ले जनवरी ९ मा भेनेजुएला सरकारलाई मादुरोको कानुनी शुल्क तिर्न अस्थायी अनुमति दिएको थियो, तर केही घण्टामै उक्त अनुमति बिना स्पष्टीकरण फिर्ता लिएको थियो ।

पोल्याकले अदालतमा भने, ‘यस्तो हस्तक्षेप जारी रह्यो भने मुद्दा नै खारेज हुनुपर्ने कानुनी आधार बन्न सक्छ ।’ उनले मादुरोसँग आफ्नै खर्चमा वकिल राख्ने पर्याप्त स्रोत नभएको पनि बताएका छन् । 

अमेरिकी अभियोजन पक्षले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन । विश्लेषकहरूका अनुसार यदि भेनेजुएलालाई कानुनी खर्च तिर्न अनुमति दिइयो भने मादुरोको गिरफ्तारी गैरकानुनी भएको र आफू विदेशी राष्ट्राध्यक्ष भएकाले अभियोजनबाट उन्मुक्ति पाउनुपर्ने उनको दाबी बलियो हुन सक्छ । 

मुद्दाको सुनुवाइ अगाडि बढ्दै जाँदा यो प्रकरण अमेरिका–भेनेजुएला सम्बन्ध र अन्तर्राष्ट्रिय कानुनी बहसको केन्द्र बन्ने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप