शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
विचार

भ्रम र यथार्थमा जेलिएको राजनीतिक अतिवाद

शनिबार, १६ फागुन २०८२, ११ : ००
शनिबार, १६ फागुन २०८२

सारांश

  • आगामी निर्वाचनको रौनक बढ्दै जाँदा, नयाँ र पुराना दलहरूबीचको प्रतिस्पर्धा रोचक बनेको छ।
  • पुराना दलहरूको यथास्थितिवाद र नयाँ राजनीतिक शक्तिको उदयले नेपाली राजनीतिमा परिवर्तनको बहस सिर्जना गरेको छ।
  • राजनीतिक अतिवाद र पपुलिस्ट शैली बढ्दै जाँदा, नागरिकले विवेक प्रयोग गर्नुपर्ने र सहअस्तित्वको बाटो रोज्नुपर्ने आवश्यकता छ।

आसन्न फागुन २१ को निर्वाचनसँगै सडक खचाखच छन्, देश तातेको छ । सामाजिक सञ्जालमा चुनावी रौनक बढ्दो छ । विश्वभर छरिएर बसेका आम नेपालीहरूका लागि चासो र चिन्ताको विषय बनेको छ । सहरका गल्लीदेखि गाउँ कन्दरा, टाकुराका बस्ती, गोरेटो र गौँडाहरूमा हात जोड्दै भोटको याचना गर्दै हिँडेका भीड लावा लस्कर तथा अनेक नाटक अभिनयहरू हेर्न लायक छन् । 

नयाँ र पुराना दलहरू आफ्नो हर्कत र वर्कतले भ्याएसम्म चुनावी दौड जित्न होमिएका छन् । हुन त यस पटकको चुनाव पनि कुनै नौलो चुनाव होइन तर जेनजी आन्दोलनको म्यान्डेट अनुसार तय भएको हुँदा नेपाली राजनीति र आम जनतामा विशेष सरोकारको विषय बन्नु स्वाभाविक पनि हो । 

लोकतान्त्रिक गणतन्त्रको आन्दोलनसँगै देशमा राजनीतिक व्यवस्था परिवर्तनहरू भएपनि आम जनताको जीवनमा भने खासै भिन्नता अनुभूत गर्न सकिएको छैन । जनताको आर्थिक र भौतिक, शैक्षिक र स्वास्थ्यको हैसियत उस्तै–उस्तै छ । कछुवा गतिको क्रमिक विकासलाई विश्वपरिवेशमा विकास भन्नू लज्जास्पद भइसकेको छ ।

पुराना शीर्ष दलहरूले राजनीतिक सिन्डिकेट, हरेक क्षेत्रमा दलीयकरण, भागबन्डा, सत्ताकेन्द्रित राजनीति, चरम भ्रष्टाचार, अशान्ति असुरक्षा, बेरोजगारीको महामारी, उराठलाग्दो युवा पलायन, बिचौलियाको बिगबिगी जस्ता विषयहरूको सम्बोधन गर्न नसक्दा जनतामा  चरम निराशा छाएको थियो । त्यसैको विस्फोट थियो जेनजी आन्दोलन । यही आन्दोलनको मर्मलाई सम्बोधन गर्ने उद्गमविन्दु मान्न सकिन्छ आगामी निर्वाचन ।

नेपालको बहुदलीय व्यवस्थामा राजनीतिक दलको उदय र पतनका शृङ्खला बिगतदेखि देखिँदै आएका हुन् । पार्टीका गठन विघटन, फुट र एकता पनि निरन्तर चलिरहन्छन् । विभिन्न अवस्था र आवश्यकताले जन्मिएका पार्टीहरूले गरेका त्याग, समर्पण र सङ्घर्षहरूको साक्षी इतिहास हुन्छ ।

पछिल्लो समयमा नेपालमा विभिन्न नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारहरूले स्थापित राजनैतिक दलहरूलाई चुनौती दिँदै अग्रसरता देखाएका छन् । सदनमा होस् कि सडकमा, नयाँ र स्थापित पुराना दलहरूले आ–आफ्नो शक्ति प्रदर्शनलाई प्राथमिकता दिएको देखिन्छ । आम मानिसको मनोविज्ञान बटुल्न ठुलो जनसमूह उपस्थित गराउनु, सामाजिक सञ्जालमा लाखौँ फलोअर्स देखाउनु, लाइक कमेन्ट र शेयरको डाटाले आफ्नो लोकप्रियता देखाउनु, सडकमा नाराबाजीसहित समर्थन वा बिरोध गर्नु, विभिन्न ट्रोल बनाउनु  आदिलाई हतियार बनाएर आ–आफ्नो राजनीतिलाई अघि बढाउँदै गरेको देखिन्छ । 

नेपालको राजनीति सधैँ परिवर्तनको बहसमा केन्द्रित छ । समयसँगै नयाँ दलहरूको उदय र पुराना दलहरूको निरन्तरताले एउटा मूल प्रश्न उब्जाएको छ । के नयाँ शक्ति वास्तवमै परिवर्तनको प्रतीक हो वा केवल आशाको अर्को रूप मात्र ? के पुराना दलहरू पूर्ण रूपमा असफल भइसकेका हुन् वा तिनको अनुभव लोकतन्त्रका लागि आवश्यक छ ?

यही द्वन्द्वबिच दलीय एवं राजनीतिक अतिवादको विषय प्रासङ्गिक बनेको छ । अर्कोतर्फ लामो राजनीतिक इतिहास बोकेको राप्रपाले राजसंस्थाको पुनः स्थापनाको विषयलाई जोडतोड साथ उठाइरहेको छ । यससँगै गैरराजनीतिक चरित्रका दुर्गा प्रसाईं लगायतका राजावादी  समूहले समेत अतिवादी शैलीमा राजतन्त्रको वकालत र सभा जुलुसहरू अघि बढाई रहेका छन् । यसले गणतन्त्र भन्दा बरु राजतन्त्र नै ठिक हो कि भन्ने भ्रम समेत सिर्जना गरेको देखिन्छ ।

विशेषगरि ‘पुरानाले देश खत्तम पारे’ भन्ने नयाँहरू र ‘यो व्यवस्था हामीले लडेर ल्याएको हो’, त्यसैले बाघको छाला लगाएर स्यालले रजाइँ गर्न मिल्दैन भन्ने भाष्य निर्माण गरिएको देखिन्छ । आरोप प्रत्यारोपका दोहोरीहरूले सडकदेखि सञ्जालहरू फोहोरी बनेका छन् । एजेण्डा, विषय र बहसभन्दा गाली, डर, धम्कीका हतियार अघि सारेर चुनावी मैदानमा सुर्की मारेका अशोभनीय हर्कत प्रदर्शित भइरहेकै छन् । 

सतहमा हेर्दा नयाँ र पुराना दुवै खाले दलहरूका कार्यशैली उस्तै–उस्तै छन् । हुन त नयाँ पुराना दुवै उहीँ समाजका उपज हुन् । तथापि नीति र नेतृत्वले केही हदसम्म फरकपनको दिशानिर्देश गरेको हुन सक्छ । नयाँलाई घेराबन्दीमा पारेर आफ्नो वर्चस्व कायम गर्ने रणनीति पुरानोमा हाबी छ । नीति सिद्धान्त र एजेन्डाभन्दा पनि पुराना दलको उछितो काढ्नु र चुनाव जित्नु नै हरेक समस्याको समाधान हो भन्ने मनोवैज्ञानिक भने नयाँमा छ । 

सौहार्दताको सीमा नाघेर अतिवादतर्फ अघि बढिरहेका छन् । जनता यसैमा फसेका छन् ।

नेपालको राजनीतिक इतिहास हेर्दा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राप्रपा जस्ता दलहरूले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । सङ्घर्ष, आन्दोलन र संविधान निर्माणका चरणहरूमा उनीहरूको योगदान उल्लेखनीय छ । तर लामो समयसम्म सत्ता वरिपरि घुम्दा उनीहरूमाथि यथास्थितिवाद, गुटबन्दी र जनअपेक्षा पूरा गर्न नसकेको आरोप लाग्दै आएको छ । 

यसै कारण कतिपय नागरिकको मनमा ‘पुराना भनेका सबै खराब हुन्’ भन्ने धारणा स्थापित हुन गएको छ । यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति, उज्यालो नेपाल, विप्लव नेतृत्वको नेकपा (माओवादी) जस्ता नयाँ शक्तिहरूले राजनीतिक मैदानमा प्रवेश गर्दा आशाको नयाँ तरङ्ग पैदा भएको छ । भ्रष्टाचार विरोधी अभियान, पारदर्शिताको सङ्कल्प, उत्पादन–आत्मनिर्भरतामा जोड र परम्परागत शैलीप्रति आलोचनात्मक दृष्टिकोणले विशेषगरी युवापुस्तालाई आकर्षित गरेको छ ।

तर यहाँ सूक्ष्म प्रश्न उठ्न सक्छ । के नयाँ हुनु मात्र पर्याप्त हुन्छ ? के नयाँ हुनु भनेको पार्टी वा दलको नाम नयाँ हुनु हो ? वा नेतृत्व, विचार नयाँ हुनु हो ? कहिल्यै राजनीतिमा नलागेका मान्छेले नेतृत्व गरेर नयाँ हुनु हो वा पुरानै पार्टीबाट छुट्टिएर अवसरको खोजीमा देखिएका नयाँ अनुहारहरू नयाँ हुन् ?

राजनीतिक नेतृत्व केवल नाराले होइन, जटिल निर्णय क्षमता, संस्थागत समझ र दीर्घकालीन दृष्टिले पनि परिभाषित हुन्छ । अनुभवको अभाव, आन्तरिक समन्वय र व्यवहारिक कठिनाइहरू नयाँ दलका लागि चुनौती बन्न सक्छन् । त्यसैले नयाँ भनेकै समाधान भन्ने धारणा भ्रमपूर्ण हुन सक्छ ।

अर्कोतर्फ, पुराना दलहरूलाई पूर्ण रूपमा अस्वीकार गर्नु पनि यथार्थपरक दृष्टिकोण होइन । अनुभवले स्थिरता दिन्छ, तर अनुभव मात्र पर्याप्त हुँदैन । त्यसमा नवीन सोच र आत्मसमीक्षा पनि आवश्यक हुन्छ । वास्तवमा समस्या पुरानो वा नयाँ भन्दा पनि अतिवादी सोचमा छ, जहाँ आफ्नो पक्षलाई मात्र सही ठान्ने र अन्य दृष्टिकोणलाई बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ ।

लोकतन्त्रको सौन्दर्य प्रतिस्पर्धामा मात्र होइन, सहकार्य सहअस्तित्वमा निहित हुन्छ । जब राजनीति अतिवादतर्फ झुक्छ, तब संवाद कमजोर हुन्छ र ध्रुवीकरण बढ्छ । यसको असर नीतिनिर्माणदेखि विकाससम्म देखापर्छ । त्यसैले नागरिकले पनि भावनाभन्दा विवेकलाई प्राथमिकता दिनु आवश्यक हुन्छ । अन्ध समर्थन वा अन्ध विरोध दुवैले स्वस्थ लोकतान्त्रिक संस्कार निर्माण गर्न सक्दैनन् ।

राजनीतिक नेतृत्व केवल नाराले होइन, जटिल निर्णय क्षमता, संस्थागत समझ र दीर्घकालीन दृष्टिले पनि परिभाषित हुन्छ । अनुभवको अभाव, आन्तरिक समन्वय र व्यवहारिक कठिनाइहरू नयाँ दलका लागि चुनौती बन्न सक्छन् । त्यसैले नयाँ भनेकै समाधान भन्ने धारणा भ्रमपूर्ण हुन सक्छ ।

नेपालको राजनीतिक भविष्य कुनै एक दलले मात्र तय गर्ने होइन; यो त नागरिक चेतना, उत्तरदायी नेतृत्व, र सन्तुलित राजनीतिक संस्कृतिको संयुक्त परिणाम हो । नयाँ र पुराना दुवैले आफ्ना कमजोरी स्विकार्दै सहअस्तित्वको बाटो रोजे मात्र लोकतन्त्र बलियो बन्न सक्छ । परिवर्तन र अनुभवबिच सन्तुलन कायम गर्नु नै आजको सबैभन्दा ठुलो आवश्यकता हो । नयाँ र पुरानो दलीय अतिवादको बहसभन्दा माथि उठेर प्रश्न गर्नुपर्ने समय आएको छ । 

के हाम्रो राजनीति सहमति, पारदर्शिता र जनउत्तरदायित्वतर्फ अघि बढिरहेको छ ? यदि त्यसो हो भने, नयाँ र पुरानोको विवाद आफैँ गौण हुँदै जानेछ ।

पुराना दलहरूप्रति घट्दो जनलहर र नयाँहरूप्रतिको अस्वाभाविक भिडभाडले एक पक्ष निराशाजनकरूपले आत्तिने र अर्को पक्ष जीतको उन्माद बढ्ने प्रवृत्ति बढेको छ । यसले अधिकांश जनतामा झनै अन्यौलता थपेको छ । को सही ? को गलत ? को कसी लगाउन  मुस्किल देखिन्छ । प्रत्येक पार्टीका आ–आफ्ना चुनावी रणनीति भए पनि नेपाली जनताको मनोविज्ञानले अझै पनि बाहिरी माहौल हेरेर आफ्नो विचार बनाउने पुरानो संस्कार छोडेको छैन । यो कुरा दुवै पक्षले बुझेका छन् ।

त्यसैले हरेक दल सकेजति भीड देखाएर आम जनतालाई आफ्नो अग्रता र जीतको सम्भावना बलियो देखाउन चाहन्छन् । हुन त भीडतन्त्रमा तर्क, तथ्य र नीतिगत बहसभन्दा भावनात्मक आवेग, नारा र सङ्ख्यात्मक प्रदर्शनले प्रभाव पार्ने गर्छ । भीडमा व्यक्तिको भौतिक उपस्थिति भए पनि विवेक शिथिल बनाउने सामाजिक मनोविज्ञानले काम गर्छ ।

नेपालको राजनीतिक परिवेश पछिल्लो समय रोचक मोडमा पुगेको छ । नेपालको आधुनिक राजनीतिक इतिहासमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाली कम्युनिस्ट पार्टी, राप्रपा जस्ता दलहरूले प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनदेखि संविधान निर्माणसम्मका चरणहरूमा खेलेको योगदान अस्वीकार गर्न सकिँदैन । तर समयसँगै नागरिकको अपेक्षा पनि बदलिएको छ । जनताले केवल राजनीतिक स्थिरता, सडक र पुलमात्र होइन, सुशासन, रोजगारी, आर्थिक समृद्धि, र पारदर्शिता खोजिरहेका छन् । 

जब यी अपेक्षाहरू पूरा भएको अनुभूति हुँदैन, तब निराशा बिस्तारै वितृष्णामा रूपान्तरण हुन थाल्छ । पुराना दलहरूप्रति बढ्दो असन्तोषको प्रमुख कारण अपूरा सङ्कल्प र आश्वासन हुन् । चुनावताका गरिएका प्रतिबद्धताहरू व्यवहारमा देखिन नसक्दा बोली र व्यवहारबिच तालमेल नहुँदा त्यसले आन्दोलनमा घिउ थप्ने काम गर्छ । 

अर्को कारण परिवारवाद, नातावाद, कृपावादवादले जब राजनीतिक बहस नीतिभन्दा व्यक्तिको वरिपरि केन्द्रित देखिन्छ, नागरिकले राजनीति आफ्नो जीवन सुधार्ने माध्यमभन्दा शक्ति संघर्षको मैदान बनेको जस्तो अनुभव गर्न सक्छन् । साथै, जब विश्व तीव्र गतिमा परिवर्तन भइरहँदा देशभित्रको विकास अपेक्षाभन्दा ढिलो भएको अनुभूति हुन्छ, तब असन्तोषको आधार झन् बलियो बन्न सक्छ ।

यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल जस्ता नयाँ दलका साथै यस चुनावबाट प्रतिस्पर्धामा आएको विप्लव नेतृत्वको नेकपा (माओवादी) को उदयले समेत धेरैका लागि आशाको झिल्को देखाएको छ । नयाँ अनुहार, फरक शैली, र भ्रष्टाचारविरोधी सन्देशले युवापुस्तामा उत्साह पैदा गरेको छ । नयाँ शक्तिहरूले अब राजनीति पुरानै ढर्रामा चल्दैन भन्ने सङ्केत दिन सफल भएका छन् । 

परिवर्तनप्रतिको चाहना मानिसको प्रवृत्ति हो । जब पुरानो संरचनाले अपेक्षित परिणाम दिन सक्दैन, समाजले नयाँ बाटो खोज्छ । सरल, स्पष्ट, र आशावादी सन्देशले यस्तो समयमा छिटो प्रभाव पार्छ ।

तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, के नयाँ हुनु सफलताको ग्यारेन्टी हो ? राजनीति केवल उत्साहले मात्र चल्दैन यसका लागि अनुभव, संस्थागत क्षमता, र जटिल परिस्थितिमा निर्णय गर्ने दक्षता पनि आवश्यक हुन्छ । त्यसैले नयाँ शक्तिहरूप्रति आकर्षण स्वाभाविक भए पनि उनीहरूको वास्तविक परीक्षा शासन सञ्चालन र परिणाम दिन सक्ने क्षमतामा निर्भर रहनेछ ।

यस सन्दर्भमा पुराना र नयाँबिचको तुलनामा को सही, को गलत भन्ने सरल निष्कर्ष निकाल्न मिल्दैन । पुराना दलहरूसँग अनुभव र संरचना छ । नयाँ दलहरूसँग ऊर्जा र परिवर्तनको एजेन्डा छ । लोकतन्त्रका लागि यी दुवै पक्ष आवश्यक हुन सक्छन् । वास्तवमा अनुभवले स्थिरता दिन्छ भने नवीनताले गति ।

नयाँ दलहरूको चुनावी अभियानले पुराना र स्थापित दलहरूमा पराकम्पन्न गएको छ । उनीहरूलाई अस्तित्व संकटको डरले घर गरेको छ । तर नयाँ हुनु मात्र सफलताको प्रमाण होइन । राजनीति उत्साह र हुटहुटीले सुरु हुन्छ, तर टिकाउन अनुभव, संस्थागत क्षमता, र नीतिगत स्पष्टता चाहिन्छ । नेपालको वर्तमान राजनीतिक मनोविज्ञान हेर्दा लाग्छ– नागरिक दल बदलिरहेका छैनन्; उनीहरू विश्वास खोजिरहेका छन् ।

पछिल्लो समय विश्वमा पपुलिजमको बहस व्यापक छ । आलोचकहरूका अनुसार पपुलिस्ट प्रवृत्तिले भावनालाई तथ्यभन्दा माथि राख्ने जोखिम बोकेको हुन्छ । जब राजनीति अत्यधिक व्यक्ति केन्द्रित हुन्छ तब संस्थागत सन्तुलन कमजोर हुन्छ । समाजलाई ‘हामी’ र ‘उनीहरू’ मा विभाजन गर्ने भाष्यले ध्रुवीकरण बढाउने सम्भावना हुन्छ ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा पपुलिस्ट शैली बढ्दै गरेको देखिन्छ । यसलाई केवल राजनीतिक घटना मान्न मिल्दैन; यो सामाजिक मनोविज्ञानसँग जोडिएको छ । जब नागरिकले परम्परागत प्रक्रियाबाट छिटो परिवर्तन सम्भव छैन भन्ने अनुभव गर्छन्, तब उनीहरू साहसी र फरक सन्देशतर्फ आकर्षित हुन्छन् ।

पुराना दलहरूप्रतिको वितृष्णा र नयाँप्रति आकर्षणको सतही परिदृश्य नै वास्तविक नहुन सक्छ । दुवै पक्षहरूले अतिवादको भ्रम पाल्न छाडेर मध्यममार्गी वैचारिक यात्रा र गन्तव्य पहिचान गर्नु श्रेयकर हुन्छ । व्यक्ति र दलभन्दा शीर्ष स्थानमा देशको हितलाई राख्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिलन शर्मा बस्याल
मिलन शर्मा बस्याल
लेखकबाट थप