जनसेवाको जगमा डाक्टर सुनिल शर्माको जित्ने दाउ
सारांश
- मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा बलिया देखिएका छन्।
- डा. शर्माले नोबेल मेडिकल कलेजमार्फत निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएका छन्, जसले उनलाई लोकप्रिय बनाएको छ।
- एमालेका प्रभावशाली नेताले क्षेत्र छोडेपछि शर्माको जित सुनिश्चित देखिएको छ, तर अन्य दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।
मोरङ । प्रतिनिधि सभा निर्वाचनको मिति आउन केही दिनमात्रै बाँकी छँदा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा परिणाम कसको पक्षमा जाला भन्ने अडकलबाजी सुरु भएको छ । स्थलगत वस्तुस्थिति र मतदाताको मनोविज्ञानलाई हेर्दा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर सुनिल शर्मा अन्य प्रतिस्पर्धीभन्दा बलिया देखिएका छन् ।
२०७४ सालको निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि डा. शर्माले हार मानेर क्षेत्र छोडेनन् । बरु, जनताको सुख–दुःखमा निरन्तर साथ दिइरहे । त्यसैको प्रतिफल स्वरूप २०७९ को निर्वाचनमा उनले नेकपा एमालेका हेभीवेट नेता भानुभक्त ढकाललाई २२ हजारभन्दा बढीको फराकिलो मतान्तरले पराजित गर्दै सानदार जित दर्ता गरे ।
डा. शर्माको यही लोकप्रियताका कारण यसपटक एमालेका प्रभावशाली नेता ढकाल यो क्षेत्र नै छोडेर तेह्रथुम पलायन हुनुपर्यो, जसलाई राजनीतिक वृत्तमा शर्माको नैतिक र राजनीतिक विजयका रूपमा हेरिएको छ ।
डा. सुनिल शर्माको सबैभन्दा बलियो पक्ष उनको सेवाको राजनीति हो । उनले आफ्नो स्वामित्वमा रहेको नोबेल मेडिकल कलेजमार्फत मोरङ–३ का बासिन्दालाई नागरिकताका आधारमा निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । चुनाव जित्नुअघि र जितेपछि पनि उनले स्वास्थ्य शिविर र निःशुल्क उपचारलाई निरन्तरता दिएका छन् ।
सङ्कटको बेला अस्पतालको ढोका ढकढक्याउन पाउने भरोसाले गर्दा विपन्न र मध्यमवर्गीय परिवारमा शर्माको पकड राम्रो देखिन्छ । उनको चुनावी एजेन्डा पनि स्वास्थ्य सेवालाई अझ सुदृढ र सुलभ बनाउनेमै केन्द्रित छ ।
एमालेले यस पटक इरान राईलाई मैदानमा उतारेको छ । तर, प्रभावशाली नेताले क्षेत्र छोडेर हिँडेपछि एमाले पङ्क्तिमा केही निराशा देखिएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश कार्की र कम्युनिस्ट पार्टीबाट डा. देउमान सम्बाहाम्फे मैदानमा छन् । जितका लागि उनीहरू पनि सङ्घर्षरत छन् ।
_yfCImsNhHG.jpg)
रास्वपाको चर्चा सामाजिक सञ्जाल र सहरी क्षेत्रमा केही देखिए पनि ग्रामीण भेगका कतिपय मतदाता सङ्कटमा काम लाग्ने नेताका रूपमा डा. शर्मालाई नै रोज्ने मुडमा देखिन्छन् ।
सुन्दरहरैंचाका विष्णु घिमिरेले भने, ‘प्रत्यक्षमा त डाक्टर सावलाई नै दिने हो । समानुपातिक अरुलाई जान्छ ।’
माओवादी र एकीकृत समाजवादीको मत यस पटक विभाजित भए पनि शर्माको व्यक्तिगत लोकप्रियताले त्यो खाडल सजिलै पुर्ने विश्लेषण गरिएको छ । अघिल्लो निर्वाचनमा डा. शर्माले पाएको ४८ हजार ६ सय ३१ मत यस क्षेत्रको इतिहासकै उच्च हो । एमालेसँगको मतान्तर झन्डै दोब्बर हुनुले पनि यहाँ शर्माको प्रभाव कति गहिरो छ भन्ने पुष्टि गर्छ । यद्यपि स्थानीय तहमा एमालेको उपस्थिति बलियो देखिए पनि प्रतिनिधि सभामा मतदाताले दलभन्दा पनि योग्य र समाजसेवी व्यक्ति हेर्ने गरेका छन् । सुन्दरहरैंचा, बेलबारी र पथरीका सचेत मतदाताहरू विकासका पूर्वाधार र स्वास्थ्य सेवामा शर्माले पुर्याएको योगदानलाई कदर गर्ने पक्षमा छन् ।
क्षेत्रमा केही नयाँ दलको चर्चा भए पनि ८५ वर्षीय षडानन्द घिमिरे जस्ता निष्ठावान् मतदाताहरू अझै पनि कांग्रेस र शर्माको कामप्रति विश्वस्त छन् । ‘भोट उसैलाई दिने हो, जसले दुःखमा काम दिन्छ,’ बेलबारीका एक स्थानीयले भने ।
_j0j8xgqTcL.jpg)
डा. शर्माले स्थानीयको निःशुल्क उपचारलाई नै आफ्नो जितको आधार बनाउन खोजेका छन् ।
मोरङ–३ मा डाक्टर र डिग्रीधारीहरूको प्रतिस्पर्धा छ । डा. देउमान सम्बाहाम्फे विद्यावारिधि हुन् । डा. सुनिल शर्मा सेलेब्रेटी डाक्टर हुन् । उनले केवल डिग्रीमात्र लिएका छैनन्, हजारौँलाई रोजगारी र लाखौँलाई उपचार दिएर आफूलाई प्रमाणित गरिसकेका छन् ।
समग्रमा, मोरङ–३ मा नयाँ र पुराना शक्तिले चुनौती दिन खोजे पनि डाक्टर सुनिल शर्माको सेवाको राजनीति र परोपकारी छविका अगाडि अन्य उम्मेदवार ओझेलमा परेका देखिन्छन् । उच्च शिक्षा हासिल गरेका डिग्री होल्डरहरूको त यहाँ लर्को नै छ ।
नेकपा एमालेका ५५ वर्षीय उम्मेदवार इरान कुमार राई (एम.ए.बी.एड.), राष्ट्रिय ऊर्जाशील पार्टीका ४६ वर्षीय भुवनकुमार वाग्ले (स्नातकोत्तर), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४० वर्षीय गणेश कार्की (स्नातकोत्तर) र संयुक्त नागरिक पार्टीका ४६ वर्षीय विदुर अधिकारी (एम.ए.) ले चुनावी मैदानलाई बौद्धिक बनाएका छन् ।
यस क्षेत्रमा कुल १ लाख ५८ हजार ५७ मतदाता छन् । जसका लागि ५५ मतदान स्थल र १७९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
बेलबारी नगरपालिकाका वडा नम्बर १ देखि ४ र ८ देखि ११ सम्मका वडाहरूमा मतदाताको बाक्लो उपस्थिति छ, जहाँ वडा नम्बर ४ मा सबैभन्दा बढी ७ हजार ३८१ मतदाता छन् । त्यस्तै, सुन्दरहरैंचा नगरपालिकाका ६ वटा वडामध्ये वडा नम्बर १० मा ८ हजार ५३० मतदाता छन् भने पथरी शनिश्चरे नगरपालिकाका ८ वटा वडा र कानेपोखरी गाउँपालिकाका ४ वटा वडा यही निर्वाचन क्षेत्रमा पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण