कर्णालीः १३८ उम्मेदवारको फैसला १० लाख ३७ हजार मतदाताको हातमा
सारांश
- कर्णालीमा प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ, मतदान स्थल र कर्मचारी व्यवस्थापनको काम पूरा भएको छ।
- निर्वाचन अधिकृतका अनुसार हिमाली जिल्लाहरूमा मतदान सामग्री पठाउन हेलिकप्टरको प्रयोग गरिएको छ, भने केही कर्मचारी बिरामी परेका छन्।
- निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ, १५ हजारभन्दा बढी प्रहरी र सेना परिचालन गरिएको छ, र नेताहरूले मतदान गर्ने स्थान तोकिएको छ।
सुर्खेत । भोलि बिहीबार हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कर्णालीमा सम्पूर्ण तयारी सकिएको छ । मतदान स्थल निर्माणदेखि कर्मचारी खटन–पटनको काम सकिएको हो । मतदान स्थलदेखि मतगणना स्थलहरूमा अहिलेसम्म कुनै विवादहरू आएका छैनन् ।
‘सबै मतदान सामग्री यसअघि नै पुगिसक्या छ,’ प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले रातोपाटीसँग भने, ‘सर्वपक्षीय बैठक पनि बसाल्ने काम सकियो, कतै त्यस्तो विवाद भएन ।’ मतदान स्थलहरूमा केही आवश्यक सामग्री चाहिए त्यसका लागि निर्वाचन अधिकारीहरूको ग्रुप पनि बनाइएको उनले बताए ।
‘त्यो ग्रुपमा अहिलेसम्म त्यस्तो केही सामग्री चाहियो, यस्तो बिग्रियो भन्ने आएको छैन,’ उनले थपे, ‘एक ठाउँमा बिर्को बिग्रेको छ भन्ने आथ्यो, त्यहाँ पठाइहाल्यौँ ।’
उनका अनुसार हिमाली जिल्लामा मतदान सामग्री पठाउन केही चुनौती हुने हो कि भन्ने चिन्ता थियो । हुम्ला, डोल्पा, मुगु लगायतका तीनवटा जिल्लामा बिहान १० बजेसम्म सबै पठाइसकिएको छ । हिमाली जिल्लामा हरेक निर्वाचन गतिविधि यो पटक हेलिकप्टोरबाट नै भइरहेको छ ।
बुधबार माथिल्लो डोल्पाको फातगाउँको मतदानस्थलमा खटिएका ५ जना कर्मचारी भने बिरामी भए । दुई जनालाई हेलिकप्टोरबाट उद्धार गरी सदरमुकाम दुनैमा उपचार भइरहेको छ । त्यहाँ थप जनशक्ति खटाउने काम पनि भइसकेको छ ।
उनका अनुसार निर्वाचनलाई सफल पार्न कर्णालीमा ८ हजार ६२५ जना कर्मचारीहरू खटिएका छन् । ‘खट्नुपर्ने ठाउँमा सबै खटिसक्नुभयो, निर्वाचन गर्नमा तत्पर हुनुहुन्छ, वातावरण ठिक छ, शान्त छ,’निर्वाचन अधिकृत गुरुङले भने ।
_RBQDCczSf5.jpg)
१० वटा जिल्ला रहेको कर्णालीमा १२ वट प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरू छन् । सुर्खेत र दैलेखमा २/२ वटा र बाँकी जिल्लामा १/१ वटा । ती निर्वाचन क्षेत्रमा १३८ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।
यो पटक विशेषगरी कर्णालीमा चार वटा राजनीतिक दलहरूबिच चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको छ । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नयाँ राजनीतिक दल रास्वपा पनि चुनावी मैदानमा छ, सबै क्षेत्रमा उम्मेदवार उठाएको छ ।
बिहीबार हुन लागेको निर्वाचनका लागि कर्णालीमा १० लाख ३७ हजार २५० कुल मतदाता संख्या छ, जसमध्ये ५ लाख ९ हजार ३६१ महिला र ५ लाख २७ हजार ८८६ जना पुरुष मतदाता छन् । सुर्खेतमा २ लाख ४८ हजार ९३८ मतदाता छन् ।
दैलेखमा कुल मतदाता संख्या १ लाख ६१ हजार २०४ रहेको भने सल्यानमा कुल १ लाख ६२ हजार ४४९ मतदाता छन् । डोल्पामा सबैभन्दा कम २४ हजार ११५, मुगुमा कुल ३६ हजार ३१, जुम्लामा ७१ हजार ७३९, कालिकोटमा ८५ हजार ४४६, हुम्लामा ३४ हजार ३७२ मतदाता रहेका छन् ।
यस्तै जाजरकोटमा १ लाख ७ हजार ९१, रुकुमपश्चिममा १ लाख ६ हजार ६६० मतदाता रहेका छन् ।
यो प्रदेशमा ०७९ को निर्वाचनसम्म १० लाख ६ हजार ८३४ जना मतदाता रहेका थिए । पुनः मतदाता भर्ना अभियानबाट २६ हजारभन्दा बढी मतदाता थपिएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङ बताउँछन् । योसँगै प्रदेशमा कुल मतदाताको संख्या १० लाख ३७ हजार २५० कायम भएको हो ।
‘मतदान प्रतिशत ७९ लाई तुलना गर्ने हो भने ६४ प्रतिशतको हाराहारी छ,’ गुरुङ भन्छन्, ‘नयाँ मतदाताहरू बढेकाले मतदानमा सहभागीता बढ्ने हाम्रो अपेक्षा छ ।’ उनका अनुसार, कुल मतदाता संख्याको ७० प्रतिशत भन्दा माथि खस्ने अनुमान गरिएको छ ।
_EJ9WdFlJSl.jpg)
सुरक्षा व्यवस्था कस्तो छ ?
यो पटकको निर्वाचनमा सुरक्षा व्यवस्थालाई निकै कडाइ पारिएको छ । ‘एकीकृत सुरक्षा योजना बमोजिम नै काम भइराछ, त्यस्तो शङ्का लिनुपर्ने, संसय गर्नुपर्ने ठाउँ छैन,’ निर्वाचन अधिकृत गुरुङले थपे । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहका अनुसार, प्रदेशभर १५ हजार बढी प्रहरी र निर्वाचन प्रहरीहरू निर्वाचनको सुरक्षामा खटिएका छन् । जसमा ५ हजार ५८० नेपाल प्रहरी र ९ हजार ७४२ निर्वाचन प्रहरीहरू रहेका छन् ।
त्यस्तै सशस्त्र र नेपाली सेना पनि चुनावी मैदानमा छ, कर्णालीका विमानस्थल र कारागारहरूको सुरक्षा नेपाली सेनाले लिएको छ । यी क्षेत्रलाई संवेदनशील रूपमा हेरिएकाले सेनाले सुरक्षा जिम्मा लिएको हो । कर्णालीमा रहेका सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका ६ वटा विमानस्थल र ९ वटा कारागारको सुरक्षामा सेना खटिसकेको शाहले बताए । ‘सेनाले ड्युटी लिइसकेको छ,’ उनले भने ।
कर्णालीका ‘हेभीवेट’ नेताले कहाँ–कहाँबाट गर्दैछन्, मतदान ?
कर्णालीमा यो पटक केही ‘हेभीवेट’ नेताहरू चुनावी मैदानबाट बाहिर छन् । कांग्रेसका पुर्व कार्यवाहक सभापति पुर्णबहादुर खड्का, नेता हृदयराम थानीले यो पटक चुनाव लडेनन् । यद्यपि उनीहरू मतदान गर्न गृह जिल्ला पुगिसकेका छन् ।
_LinPjEsy6i.jpg)
खड्का मंगलबार मात्रै सुर्खेत पुगेका छन्, उनले बिहीबार बिहान ७ बजे सुर्खेत—१ अन्तर्गत पर्ने मेहेलकुनाको सुर्यजोति मावि बुथकेन्द्रमा उपस्थित भएर मतदान गर्ने बताए । यस्तै, कर्णालीका मुख्यमन्त्री तथा एमाले सचिव यामलाल कँडेलले वीरेन्द्रनगरको भैरवस्थान माविमा मतदान गर्नेछन् ।
पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाही पनि गृह जिल्ला हुम्ला पुगिसकेका छन् भने पूर्व मुख्यमन्त्री राजकुमार शर्मा गृह जिल्ला रुकुम पश्चिम मै छन् । बाँकी जनार्दन शर्मा (रुकुम पश्चिम), महेन्द्रबहादुर शाही (कालिकोट), शक्ति बस्नेत (जाजरकोट) लगायत उम्मेदवार नै रहेकाले गृह जिल्लामै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण