भारत-इङ्ल्यान्ड सेमिफाइनल : मौसम अनुकूल हुँदा वानखेडेमा बन्न सक्छ उच्च स्कोर
सारांश
- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा भारत र इङ्ल्यान्डबीच मुम्बईमा प्रतिस्पर्धा हुँदैछ।
- न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ, र विजेता फाइनलमा न्युजिल्यान्डसँग खेल्नेछ।
- मुम्बईको मौसम सफा रहने र ब्याटिङ मैत्री पिचमा उच्च स्कोरको सम्भावना रहेको छ।
काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा भारत र इङ्ल्यान्डबिच आज (बिहीबार) राति मुम्बईस्थित वानखेडे स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । यस खेलको विजेताले फाइनलमा न्युजिल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
भारतको सेमिफाइनल यात्रामा केही खेलाडीहरूको उत्कृष्ट व्यक्तिगत प्रदर्शन निर्णायक बनेको छ । सूर्यकुमार यादव, सन्जु स्यामसन र हार्दिक पाण्ड्याले महत्वपूर्ण समयमा टोलीलाई साथ दिएका छन् भने बलिङतर्फ जसप्रीत बुमराहले नेतृत्व गरेका छन् ।
उता इङ्ल्यान्ड कप्तान ह्यारी ब्रुकको नेतृत्वमा टोलीले पनि स्थिर प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । प्रतियोगिताभर दुवै टोलीले अझै आफ्नो पूर्ण क्षमताको खेल देखाउन नसकेको अवस्थामा सेमिफाइनलमा दबाब सम्हाल्ने टोलीले खेल जित्ने सम्भावना बढी देखिन्छ ।
मुम्बईको मौसम
बिहीबार मुम्बईमा मौसम सफा रहने अनुमान गरिएको छ । दिनभर आकाश प्रायः खुला रहनेछ भने तापक्रम ३५–३७ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । साँझतिर तापक्रम २० डिग्री आसपास झर्ने अपेक्षा गरिएको छ ।
आर्द्रता ६०–७० प्रतिशतसम्म पुग्न सक्ने भएकाले खेलको दोस्रो इनिङ्समा ओस (ड्यु) देखिन सक्छ, जसले लक्ष्य पछ्याउने टोलीलाई केही फाइदा दिन सक्छ । वर्षाको सम्भावना अत्यन्त न्यून रहेको बताइएको छ ।
रिजर्भ डे व्यवस्था
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सेमिफाइनलका लागि रिजर्भ डे पनि राखेको छ । यदि मुख्य दिन वर्षाका कारण खेल अवरुद्ध भयो भने खेल त्यही अवस्थाबाट रिजर्भ डेमा सुरु गरिनेछ ।
मान्य नतिजाका लागि दुवै टोलीले कम्तीमा १०–१० ओभर ब्याटिङ गर्नुपर्नेछ । यदि रिजर्भ डेपछि पनि खेल सम्पन्न हुन सकेन भने सुपर–८ चरणमा माथिल्लो स्थानमा रहेको टोली फाइनलमा पुग्नेछ । त्यस अवस्थामा इङ्ल्यान्ड आफ्नो समूहको शीर्ष स्थानमा रहेको थियो भने भारत दोस्रो स्थानमा रहेको थियो ।
वानखेडे स्टेडियमको पिच रिपोर्ट
मुम्बईको वानखेडे स्टेडियमको पिच सामान्यतया ब्याटिङमैत्री मानिन्छ र यस खेलमा पनि उच्च स्कोरको सम्भावना छ । खेल पिच नम्बर ७ मा हुनेछ, जुन मैदानको बिच भागमा रहेको छ र दुवै साइडको बाउन्ड्री दूरी लगभग समान छ ।
पिचमा हल्का घाँस राखिएकाले सुरुवाती ओभरमा तीव्र गतिका बलरहरूले सीम मुभमेन्ट र अतिरिक्त बाउन्स पाउन सक्छन्, विशेषगरी पावरप्लेमा । खेलअघि बढ्दै जाँदा पिच स्थिर हुँदै जाने र मध्य ओभरमा स्पिनरहरूले केही मद्दत पाउने अपेक्षा गरिएको छ ।
तर वानखेडेको परम्परागत ब्याटिङमैत्री स्वभाव र साँझतिर देखिन सक्ने ओसका कारण दुवै टोलीका बलिया ब्याटिङ लाइनअपले २०० भन्दा माथिको स्कोर पनि बनाउन सक्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण