आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
विजयी भएपछि प्रचण्ड

‘थोरै सिट ल्यायो भनेर प्रचण्डलाई नहेप्नु, सिंह हिँड्दा अरूको के हालत हुन्छ सबैलाई थाहा छ’

शुक्रबार, २२ फागुन २०८२, २२ : २२
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • पुष्पकमल दाहाल 'प्रचण्ड' रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा भारी मतका साथ विजयी भएका छन्।
  • प्रचण्डले १० हजार २४० मत प्राप्त गरे, र उनले यो निर्वाचनमा अनौठो स्थिति सिर्जना भएको बताए।
  • उनले मतदातालाई धन्यवाद दिँदै आफूमाथि ठुलो जिम्मेवारी थपिएको महसुस गरेको कुरा व्यक्त गरे।

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट भारी मतका साथ विजयी भएका छन् ।

शुक्रबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै आफ्नो विजयी यात्रालाई कायमै राखेका हुन् । 

निर्वाचनमा विजयी भएपछि आफ्ना समर्थक र मतदातालाई सम्बोधन गर्दै प्रचण्डले यसपटकको निर्वाचनमा अनौठो र विचित्रको स्थिति सिर्जना भएको बताउँदै अरू सबै पूर्वप्रधानमन्त्रीहरू पराजित हुँदा आफू मात्रै निर्वाचित हुन लागेको जिकिर गरे ।

देशका शीर्ष र वरिष्ठ नेताहरू चुनावी मैदानमा पछारिएको अवस्थामा जनताले आफूलाई मात्रै विश्वास गरेर संसद् पठाएको भन्दै उनले मतदाताप्रति खुसी व्यक्त गरे । 

सम्बोधनका क्रममा प्रचण्डले आफूमाथि अब ठुलो जिम्मेवारी थपिएको महसुस गरेको समेत बताए ।

उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरूमध्ये म मात्रै निर्वाचित हुने बडो विचित्रको स्थिति अहिले देशमा बन्यो । पार्टीका वरिष्ठ नेताहरूमध्ये पनि सम्भवतः म नै एक मात्र नेताको रूपमा विजयी बनाएर तपाईंहरूले पठाउनुभएको छ । र मैले के ठानेको छु भने, धेरै पार्टीको जिम्मेवारी पनि मैले लिनु छ ।’ 

उनले थपे, ‘कसैले पनि थोरै सिट ल्यायो भनेर प्रचण्डलाई हेप्ने दुस्साहस नगरुन् भनेर म खबरदारी गर्न चाहन्छु । जङ्गलमा सिंह हिँडिसकेपछि अरूको के हालत हुन्छ, त्यो हामी सबैलाई थाहा छ ।’

एमाले र कांग्रेसलाई आफूले दुई तिहाइको अहङ्कार नगर्नूस् है गल्ती हुन्छ भनेर बारम्बार संसद्मा बोलिहरेको बताउँदै संयोजक प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दै गर्दा विकास र समृद्धिका लागि लड्दै गर्दा सङ्ख्याको अहङ्कारले आफूलाई बाहिर पठाएको स्मरण गरे ।

उनले भने, ‘त्यही बेलामा मैले चुनौतीका साथ भनेको थिए सङ्ख्याले केही नापिँदैन । बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि के हालत भयो देखिएकै छ ।’ उनले धेरै सिट ल्याएका दलहरूलाई अहङ्कारबाट बच्न अनुरोध गरे ।

‘इतिहासका आधारमा म सबैका लागि गुरु हुन सक्छु,’ उनले भने, ‘तपाईंहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु, त्यसैले अनुभवका आधारमा सबैसँग मिलेर काम गर्न तयार छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप