बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पराजयपछि प्रदीप यादवले विजयी उम्मेदवारलाई दिए बधाई

शनिबार, २३ फागुन २०८२, १२ : ४६
शनिबार, २३ फागुन २०८२

सारांश

  • नेकपा एमालेका नेता प्रदीप यादवले निर्वाचनमा हार स्वीकार्दै जनताको निर्णयलाई सम्मान गर्ने बताए।
  • उनले निर्वाचनमा साथ दिने सबैलाई धन्यवाद दिए र विजयी उम्मेदवारलाई बधाई दिए।
  • यादवले हारपछि पनि जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ । नेकपा एमाले का नेता तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले निर्वाचनमा पराजय भएपछि परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन् ।

यादवले लोकतन्त्रको सुन्दरता जनताको मतलाई सर्वोच्च मान्नुमा निहित रहेको उल्लेख गर्दै आफूले यही विश्वासका साथ सूर्य चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरेको बताएका छन् । उनले यसपटक अपेक्षित परिणाम हासिल गर्न नसके पनि जनताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने स्पष्ट पारे ।

उनले निर्वाचन यात्रामा साथ, विश्वास र समर्थन दिने सम्पूर्ण मतदाता, समर्थक, अग्रज, साथीभाइ, युवाशक्ति तथा शुभेच्छुकहरूप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गरेका छन् । साथै निर्वाचन अभियानमा दिनरात खटिएका कार्यकर्ता र सहयोगीहरूलाई विशेष धन्यवाद दिँदै उनीहरूको मेहनत र समर्पणले अभियानलाई अर्थपूर्ण बनाएको बताए ।

यसैबिच, उनले पर्सा–१ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) लाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । क्षेत्र र राष्ट्रको हितका लागि पन्तले उत्कृष्ट कार्य गर्ने विश्वास आफूले लिएको यादवले बताएका छन्।

यादवले निर्वाचनमा हार भए पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता अडिग रहने उल्लेख गर्दै समाज र राष्ट्रको समृद्धिका लागि निरन्तर समर्पित रहने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप