पुरानो पार्टीका नेतृत्वहरूलाई पत्र
सारांश
- चुनावी नतिजाले पुरानो राजनीतिक दलहरूलाई जनताले परिवर्तन चाहेको सन्देश दिएको छ।
- दलहरूले सुधारका सुझावलाई बेवास्ता गर्दा भ्रष्टाचार, कुशासन र असन्तुष्टि बढेको देखिन्छ।
- लेखकले नेतृत्वमा इमान्दारिता, गल्ती स्वीकार्ने क्षमता र समयसापेक्ष परिवर्तनको आवश्यकता औंल्याएका छन्।
वर्षायामको दिन थियो। जङ्गलमा पन्छीहरू आआफ्नो गुँडमा आफू र आफ्ना बचेराहरूलाई सुरक्षित राखेर बसेका थिए। त्यहीँ एक बाँदर निरन्तर वर्षाले भिजेर काँपिरहेको थियो। एउटा पन्छीलाई बाँदरदेखि दया लाग्यो र उसले भन्यो, “बाँदर दाइ, हामीले तिमीलाई धेरै पटक घर बनाएर बस्न सुझाएका थियौँ। अहिले घर भएको भए तिमीले यस्तो दुःख पाउनु पर्दैनथ्यो। हेर, हामी त वर्षामा पनि सुरक्षित रूपमा आरामसँग बसेका छौँ।”
तर बाँदरलाई पन्छीको सुझाव मन परेन। रिसले उसले पन्छीहरूले बनाएका गुँड भत्काइदियो र पन्छी तथा तिनका बचेराहरूको समेत बिचल्ली बनाइदियो। त्यसैले भनिन्छ—बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको बनेको घर पनि देख्न सक्दैन। यसैलाई “बन्दरे प्रवृत्ति भनिन्छ।”
आजको चुनावको नतिजा हेर्दा यो कथा निकै सान्दर्भिक देखिएको छ । इतिहास बोकेका पार्टीहरूलाई बुद्धिजीवी, नागरिक समाज र राजनैतिक विश्लेषकहरूले पटक–पटक सुधारका सुझाव दिएका थिए। तर ती सल्लाह आत्मसात् गर्नुको सट्टा “हामीसँग लाखौँ कार्यकर्ता छन्, दर्जनौँ संगठन छन्, हजारौँ युथ फोर्स छन्” भन्ने शक्तिको अहंकारमा नेताहरू रमाइरहे।
यसैको परिणामस्वरूप भ्रष्टाचारलाई संरक्षण गर्ने, सुशासनको धज्जी उडाउने, नियुक्तिमा कार्यकर्ता भर्ती गर्ने, जनतालाई धम्काउने र विरोधका आवाज दबाउने प्रवृत्ति बढ्दै गयो। परिणामतः नयाँ पुस्तामा असन्तोष बढ्यो र अन्ततः त्यो असन्तोष विद्रोहका रूपमा प्रकट भयो।
वर्तमान संविधानले एकल बहुमत दिँदैन भन्दै संविधानमा खोट देखाएर गठबन्धनको राजनीति मौलाएको अवस्थामा, हालै सम्पन्न चुनाव २०८२ को परिणामले एउटा स्पष्ट सन्देश दिएको छ । जनताले चाहे भने बहुमत दिन सक्ने रहेछन्। त्यसैले—जनता नै जनार्दन हुन्।
राजनैतिक पार्टीहरूको काम इतिहास बनाउनु हो, इतिहास रट्नु होइन। इतिहासबाट पाठ सिकेर अगाडि बढ्नु नै बुद्धिमानी हो।
नेपालमा नेपाली कांग्रेसको इतिहास र भारतमा कांग्रेस (आई) को अनुभवले देखाएको छ—केवल पुरानो गौरवको सहारामा राजनीति टिक्दैन। इतिहासले गौरव दिन सक्छ, तर भविष्य निर्माण गर्ने जिम्मेवारी वर्तमान नेतृत्वकै काँधमा हुन्छ।
उग्र राष्ट्रवादको नारा मात्र चुनावका बेला प्रभावकारी हुँदैन। राष्ट्रप्रेम आवश्यक छ, तर त्यो विवेक र जिम्मेवारीसँग जोडिएको हुनुपर्छ।
आजका नयाँ जेनेरेसन (जेनजी) युवाहरू विश्व भूराजनीति बुझ्छन्। आजको संसार उनीहरूको मोबाइलमै कैद छ। उनीहरूले विश्वका विभिन्न समाज र व्यवस्थालाई देखिरहेका छन्, तुलना गरिरहेका छन् र प्रश्न उठाइरहेका छन्।
नेपालका लाखौँ युवाहरू देशभित्र अवसर नपाएर विदेशमा रोजगारीका लागि जान बाध्य छन्। यस्तो अवस्थामा उग्र राष्ट्रवादको नारा दिएर मित्र राष्ट्रहरूलाई गाली गर्ने वा धम्की दिने प्रवृत्तिले अन्ततः राजनीतिक दलहरूलाई नै घाटा पुर्याउँछ। किनकि हाम्रा धेरै जनता, खासगरी युवाहरू विदेशी भूमिमा छन्।
पार्टीहरूप्रति मेरो सम्मान छ। पार्टीहरू आफैं दोषी होइनन्; दोषी तिनलाई सञ्चालन गर्ने नेतृत्वको प्रवृत्ति हो। जब पार्टीभन्दा ठूलो गुट, गुटभन्दा ठूलो उपगुट, र उपगुटभन्दा ठूलो ‘व्यक्ति’ बन्ने प्रवृत्ति बढ्छ, तब पार्टी कमजोर हुन्छ। नीति र सिद्धान्तभन्दा व्यक्तिवाद हावी भइदिँदा पार्टीको विश्वसनीयता घट्छ। जब नेतृत्वले सल्लाह र परामर्शलाई कमजोरी ठान्छ, तब पतनको यात्रा सुरु हुन्छ।
नेतृत्वमा इमान्दारिता, गल्ती स्वीकार गर्ने साहस, सही–गलत छुट्याउने क्षमता र क्षणिक लाभका लागि झुट नबोल्ने संस्कार विकास भए पार्टीहरू आफैं बलियो हुँदै जान्छन्। संगठन बलियो हुन नेतृत्वमा नैतिकता, पारदर्शिता र उत्तरदायित्व अनिवार्य हुन्छ।
नयाँ पुराना सबै पार्टीहरूले चुनावी परिणाम स्वीकार्नुस्। नयाँ सरकारलाई सहयोग गर्नुस्। नयाँ नेतृत्वलाई सफल बनाउने प्रयास गर्नुभयो भने, तपाईँहरूको सहयोगले जनताको आकांक्षा पूरा गर्न मद्दत हुनेछ। त्यसपछि तपाईंहरूको पार्टीले जनताको विश्वास फेरि जित्न सक्छ। यसको सकारात्मक प्रभाव आगामी चुनावमा पनि पर्नेछ।
एकपटकको सफलता अन्तिम होइन, असफलता घातक पनि होइन। बहुदलीय व्यवस्थामा एउटा चुनाव हार्दैमा पार्टीहरू समाप्त हुँदैनन्। देश र संविधान बाँचिरहेसम्म पार्टीहरू पनि बाँचिरहन्छन्। तर विधि–विधान अनुसार नेतृत्वमा समय सापेक्ष परिवर्तन हुनु आवश्यक हुन्छ। यदि यस्तो हुन सकेन भने पार्टीले क्षति भोग्नुपर्छ—जुन अहिले देखिन थालेको छ।
इतिहास बोकेका पुराना पार्टीहरूभित्र चुनावमा अन्तर्घात र गुटबन्दीको समस्या भए जस्तो देखिन्छ। त्यसैले समीक्षा गर्नुस् र अर्को चुनावका लागि सुधार गरेर आउनुस्।
अन्ततः लोकतन्त्रमा अन्तिम शक्ति जनताकै हातमा हुन्छ। जनता धेरै समयसम्म भ्रममा बस्दैनन्। समय आएपछि उनीहरूले आफ्नो निर्णयमार्फत स्पष्ट सन्देश दिन्छन्। अहिलेको चुनावी परिणाम पनि त्यही सन्देश हो। जनताको विश्वास गुमाउने कुनै पनि शक्ति स्थायी हुन सक्दैन।
इतिहासले पार्टीलाई पहिचान दिन सक्छ, तर भविष्य जनताले मात्र तय गर्छन्। राजनीतिक पार्टीहरूको भविष्य उनीहरूको इतिहासले होइन, वर्तमानको आचरण र भविष्यप्रतिको दृष्टिले तय हुन्छ।
त्यसैले अब आत्ममूल्यांकन गर्ने समय आएको छ। इतिहासलाई केवल गौरवका रूपमा दोहोर्याउने होइन, त्यसबाट पाठ सिकेर सुधार गर्ने समय आएको छ ।
तर यदि पुरानै अहंकार र गुटबन्दीमै राजनीति सीमित रह्यो भने इतिहास बनाएका ती पार्टीहरू आफैं इतिहासका पानामा सीमित हुन धेरै समय लाग्दैन।
परिवर्तन अरूबाट होइन, आफैंबाट सुरु हुन्छ। जब सबल, इमान्दार र उत्तरदायी नेतृत्व रहन्छ, समय सापेक्ष परिवर्तनलाई आत्मसाथ गरी सोच बदलिन्छ अनि मात्र पार्टी बलियो हुन्छ, लोकतन्त्र बलियो हुन्छ र देश समृद्धितर्फ अगाडि बढ्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण