सुनिल शर्माको ‘सेफ जोन’मा गणेश कार्कीको सानदार जित
सारांश
- मोरङ क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मालाई रास्वपाका गणेश कार्कीले पराजित गरे।
- निर्वाचनमा कार्कीले ३६,९२४ मत ल्याएर विजय हासिल गरे भने शर्माले २४,३५४ मत प्राप्त गरे।
- स्वास्थ्य सेवालाई राजनीतिको हतियार बनाएका शर्माको हारले पुराना दलहरूलाई चुनौती थपेको छ।
विराटनगर । परोपकारी राजनीति र व्यावसायिक प्रभाव मार्फत मोरङ क्षेत्र नम्बर ३ मा आफ्नो साम्राज्य खडा गरेका मेडिकल व्यवसायी एवं नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मालाई यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्कीले पराजित गरे ।
निर्वाचन अगाडि रास्वपाले सो क्षेत्रमा विजय हासिल गर्छ भन्ने कुरा कमैले अनुमान गरेका थिए । स्वयं रास्वपाका उम्मेदवार कार्कीले मनोनयन गर्दै गर्दा भनेका थिए, ‘जोखिम क्षेत्र भएपनि आफू जन्मिएकै क्षेत्र आएँ ।’ अन्ततः अघिल्लो निर्वाचनमा करिब २३ हजारको फराकिलो मतान्तरले विजयी भएर आफ्नो सुरक्षित गढ बनाएका शर्मा कार्कीसँग १२ हजार ५७० मतान्तरले पराजित भए ।
निर्वाचनको अन्तिम परिणाम अनुसार रास्वपाका गणेश कार्कीले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी शर्माले २४ हजार ३५४ मतमा चित्त बुझाउनुपर्यो । श्रम संस्कृति पार्टीका अमिर मगरले यो क्षेत्रमा १६ हजार ५०९ मत ल्याए । विगतमा यो क्षेत्रमा बलियो मानिएको नेकपा एमालेका उम्मेदवार इरनकुमार राई भने मात्र ७ हजार ७५२ मतमा खुम्चिए ।
डा. शर्माले मोरङ–३ मा स्वास्थ्य सेवालाई नै राजनीतिको मुख्य हतियार बनाएका थिए । विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक उनले मतदाताका लागि अस्पतालमा छुट्टै वार्ड, निःशुल्क उपचार र एम्बुलेन्स सेवा दिइरहेका थिए । शर्माले यस पटक निर्वाचन जिते ३ नम्बर क्षेत्रका जनताका लागि भीआईपी क्याबिन निर्माण गर्ने घोषणा गरेका थिए । तर जनताले भीआईपी क्याबिनको प्रलोभनमा नपरी आफ्नो स्वतन्त्रता प्रयोग गरे र रास्वपालाई जिताइदिए ।

२०७९ को निर्वाचनमा एमालेका भानुभक्त ढकाललाई भारी मतान्तरले पराजित गर्दा शर्माको यही मेडिकल कार्ड सफल मानिएको थियो । तर यसपटक मतदाताले स्वास्थ्य सेवा र राजनीतिक मुद्दालाई अलग राखे । पार्टीभित्र सीमित भूमिका, समय–समयमा आउने विवादित अभिव्यक्ति र नयाँ अनुहारप्रतिको लहर शर्माका लागि प्रतिकूल बन्यो ।
पार्टीभित्रै सभापति रवि लामिछानेमाथि प्रश्न उठाएर विद्रोही छवि बनाएका गणेश कार्कीका लागि यो जित अर्थपूर्ण छ । चलचित्र लेखक समेत रहेका कार्की काठमाडौंको बालेन शाहको चुनावी अभियानका रणनीतिकारमध्येका एक थिए ।
मोरङको पथरीशनिश्चरेका स्थानीय बासिन्दा कार्कीले यसपटक परिवर्तन र विचारको नारालाई गाउँ–गाउँ पुर्याए । रास्वपाको ब्रान्ड र कार्कीको व्यक्तिगत तार्किक छविले युवा र सचेत मतदातालाई आकर्षित गर्यो । शर्माको पैसा र पहुँचको राजनीतिको अगाडि कार्कीले नीति र निष्ठाको प्रश्नलाई प्रमुख मुद्दा बनाए, जसलाई मोरङ–३ का मतदाताले अनुमोदन गरे ।
कुनै समय एमालेको लालकिल्ला मानिने मोरङ–३ मा एमाले उम्मेदवार इरनकुमार राई चौथो स्थानमा धकेलिनुले ठुला राजनीतिक दलहरूका लागि गम्भीर संकेत दिएको छ । अघिल्लो चुनावमा दोस्रो शक्ति रहेको एमाले यसपटक १० हजार मत पनि कटाउन नसक्ने अवस्थामा पुग्नुले संगठनमा आएको असन्तुष्टिलाई पुष्टि गर्छ ।
त्यस्तै, अमिर मगरले ल्याएको १६ हजारभन्दा बढी मतले मतदाताहरूले परम्परागत दलहरूको विकल्पमा नयाँ र स्थानीय मुद्दा बोक्ने शक्तिलाई खोजी गरिरहेको देखाउँछ । कांग्रेसका लागि ‘सेफ जोन’ मानिएको मोरङ–३ मा सुनिल शर्माको पराजयले आगामी दिनमा पुराना दलहरूलाई आफ्नो कार्यशैलीमा परिवर्तन नगरे झनै संकट पर्ने सन्देश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण