दुई मेयर र एक वडाध्यक्ष संसद् छिर्दा ११ स्थानीय जनप्रतिनिधि पदविहीन
सारांश
- स्थानीय तहका जनप्रतिनिधिहरू प्रतिनिधिसभा निर्वाचनमा अधिकांशले हार बेहोरे।
- बालेन शाह, हर्क साम्पाङ र सुशील साह कानुले मात्रै चुनाव जितेर केन्द्रमा स्थान बनाए।
- ११ जना जनप्रतिनिधिले पद र चुनाव दुवै गुमाए, रेणु दाहाल र अशोक ब्याञ्जु श्रेष्ठ लगायतका नेताहरू पराजित भए।
काठमाडौँ । स्थानीय तहको बागडोर सम्हालिरहेका र कार्यकाल बाँकी छँदै नीति निर्माणको माथिल्लो तह (प्रतिनिधिसभा) मा पुग्ने आकांक्षा राखेका अधिकांश जनप्रतिनिधिहरूलाई यस पटकको निर्वाचनले निराश तुल्याएको छ । स्थानीय सरकारको जिम्मेवारी बिचमै छाडेर ‘माननीय’ बन्ने दाउमा रहेका १४ बहालवाला जनप्रतिनिधिमध्ये ११ जना चुनावी मैदानमा असफल भएका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभरका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए । तर, तीमध्ये काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्कराज राई (साम्पाङ) र वीरगञ्ज महानगरपालिकाका वडाध्यक्ष सुशील साह कानु मात्र विजयी हुन सफल भए ।
केन्द्रमा बालेन र हर्कको उदय
स्थानीय तहमा स्वतन्त्र रूपमा निर्वाचित भएर चर्चामा रहेका बालेन शाह र हर्क साम्पाङले आफ्नो साखलाई केन्द्रमा पनि जोगाउन सफल भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवारी दिएका बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।
त्यस्तै, आफ्नै ‘श्रम संस्कृति पार्टी’ बाट सुनसरी क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरेका हर्क साम्पाङले पनि नतिजा आफ्नो पक्षमा पार्दै केन्द्रीय राजनीतिमा फड्को मारेका छन् । उनले रास्वपाका उम्मेदवार सरिन तामाङ र आफ्नै वडाका वडाध्यक्ष समेत रहेका नेकपाका उम्मेदवार मनोज भट्टराईलाई पछि पारेका हुन् । यस्तै, वीरगञ्ज महानगरपालिकाको वडाध्यक्ष पद छाडेर रास्वपाको तर्फबाट पर्सा क्षेत्र नं. २ मा उम्मेदवारी दिएका सुशील साह कानुले पनि जित निकाल्दै वडाबाट सिधै संसद् भवन छिर्ने अवसर पाएका छन् । उनले नेपाली कांग्रेसका पूर्वमन्त्री अजय चौरसियालाई भारी मतले हराएका थिए ।
पद पनि गुमाउने र विजयी पनि नहुने ११ उम्मेदवार
विजयी भएका तीन जनाबाहेक अन्य ११ जना जनप्रतिनिधिको संसदीय यात्रामा भने पूर्णविराम लागेको छ । विशेषगरी भरतपुर महानगरपालिकाको प्रमुख पद छाडेर चितवन निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लडेकी रेणु दाहाल पराजित भएकी छन् । माओवादी केन्द्रबाट नेकपामा रूपान्तरण भएर चुनावी मैदानमा उत्रिए पनि उनलाई रास्वपाकी सोबिता गौतमले पराजित गरिन् ।
धुलिखेलका पूर्वमेयर अशोक व्याञ्जु श्रेष्ठलाई काभ्रे–२ मा रास्वपाका बदन भण्डारीले हराए । श्रेष्ठ उक्त क्षेत्रमा तेस्रो स्थानमा सीमित भए । एमालेबाट उम्मेदवारी दिएका रंगेलीका पूर्वमेयर दिलिप वगडियालाई मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्कीले पराजित गरे । नेकपाका उम्मेदवार रहेका सूर्योदयका पूर्वमेयर रणबहादुर राई इलाम–१ मा पाँचौँ स्थानमा खुम्चिए । उनको क्षेत्रमा नेपाली कांग्रेसका निश्कल राई विजयी भए ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा प्रवेश गरेका टीकापुरका पूर्वमेयर रामलाल डगौरा थारू कैलाली–१ को चुनावी प्रतिस्पर्धामा पराजित भएका छन् । सो क्षेत्रमा रास्वपाकी कोमल ज्ञावली विजयी हुँदा थारू तेस्रो स्थानमा रहे ।
गाउँपालिका अध्यक्ष पद छाडेर प्रतिनिधिसभा ताकेका सोलुखुम्बुमा नेकपाका असिम राई नेपाली कांग्रेसका प्रकाश सिंह कार्कीसँग पराजित भए । असिम थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्ष त्यागेर उम्मेदवार बनेका थिए । उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पद छोडेर उदयपुर–२ मा भिडेका नेकपा माओवादी केन्द्रका मेजर कुमार राईको त जमानत नै जफत भयो ।
यस्तै नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राई बाँके–२ मा छैटौँ भए भने ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा एमालेबाट उम्मेदवार बने पनि चौथो स्थानमा सीमित भइन् । वीरगञ्जका वडाध्यक्ष रामकिशोर सिंह र धरानका वडाध्यक्ष मनोज भट्टराई पनि पराजित भएका छन् ।
संसदीय दौडमा सहभागी १४ जनाको टोलीमा रहेका दुई महिला जनप्रतिनिधि रेणु दाहाल र अस्मिता थापा दुवै पराजित भए । स्थानीय सरकार सञ्चालनको अनुभवलाई राष्ट्रिय नीति निर्माणमा लैजाने तर्क गर्दै पद त्यागेका ११ जना नेताहरू अब न स्थानीय सरकारमा रहे, न त संसद्मै छिर्न सके । उनीहरूका लागि यो निर्वाचन ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ साबित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण