बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रियंकाले खोलिन् बलिउड छाड्नुको कारण

बिहीबार, २८ फागुन २०८२, १६ : ३२
बिहीबार, २८ फागुन २०८२

सारांश

  • अभिनेत्री प्रियंका चोपडाले बलिउड छोड्नुको कारण खराब वातावरण र नयाँ अवसरको खोजी रहेको बताइन्।
  • उनले ऐश्वर्या राय बच्चन र मिन्डी कलिङको प्रेरणाबाट अन्तर्राष्ट्रिय पहिचान बनाउने सपना देखेकी थिइन्।
  • प्रियंकाले आफ्नो अभिनय करियरको सुरुवाती दिन र ७० फिल्मको अनुभवबारे कुरा गरिन्, जसले उनलाई सफलता दिलायो।

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले आफूले बलिउड छोडेर हलिउडतर्फ लाग्नुको वास्तविक कारण खुलासा गरेकी छन् । हालै एक पडकास्टमा कुरा गर्दै प्रियंकाले आफूलाई बलिउडमा केही समयदेखि असहज महसुस भइरहेको र खराब वातावरणमा बसिरहनु भन्दा नयाँ अवसरको खोजीमा निस्कनु उचित ठानेको बताएकी हुन्।

उनले ऐश्वर्या राय बच्चन र अमेरिकी अभिनेत्री मिन्डी कलिङले जस्तै अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउने सपना देखेकाले पनि भारत छोड्ने साहसी निर्णय लिएको उल्लेख गरेकी छन्। नट स्किनी बट नट फ्याट पडकास्टमा प्रियंकाले आफ्नो करियरको सुरुवाती दिनहरूलाई समेत स्मरण गरेकी छन्।

मात्र १८ वर्षको उमेरमा तमिल फिल्म ‘थमिजन’ बाट अभिनय यात्रा सुरु गरेकी उनले साउथ सुपरस्टार विजयसँग काम गर्दा पहिलो पटक स्टारडमको वास्तविक शक्ति देखेको बताएकी छन्। सुरुमा फिल्म उद्योगलाई केवल चर्चा र लोकप्रियताको माध्यम ठान्ने प्रियंकाले ७० भन्दा बढी फिल्ममा काम गरिसकेपछि मात्र अभिनय एक गम्भीर कला भएको बुझेको स्वीकार गरेकी छन्।

प्रियंकाका अनुसार बलिउडमा एक समय यस्तो आयो जब उनलाई आफ्नो क्षमता सीमित भएको महसुस हुन थाल्यो। उनले भनिन्, ‘यदि मानिस लामो समयसम्म खराब वा नकारात्मक माहौलमा बसिरहन्छ भने उसले त्यसैलाई सामान्य मान्न थाल्छ, जुन गलत हो । त्यसैले समयमै परिवर्तन जरुरी हुन्छ।’

अन्तर्राष्ट्रिय स्तरमा भारतीय कलाकारहरूको उपस्थिति कम भएको बेला उनले ऐश्वर्या र मिन्डीलाई आफ्नो प्रेरणाको स्रोत मानेर विश्व मञ्चमा पाइला चालेकी थिइन् । आज प्रियंका हलिउड र बलिउड दुवै क्षेत्रमा उत्तिकै सक्रिय छिन् ।

एउटा ग्लोबल स्टारका रूपमा स्थापित भइसकेकी उनले कठिन परिस्थितिमा फसेर बस्नुभन्दा नयाँ बाटो रोज्नु नै सफलताको कडी भएको सन्देश दिएकी छन् । आफ्नो ७० फिल्मको अनुभवले उनलाई हरेक प्रोजेक्टमा केही न केही नयाँ सिकाएको र आजको स्थानमा पुर्‍याएको उनको ठम्याइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप