शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेप्रति कटाक्ष गर्दै राष्ट्रिय सहकारी महासंघ अध्यक्ष मल्लले दिइन् राजीनामा

शुक्रबार, २९ फागुन २०८२, १४ : १०
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले स्वास्थ्य र राजनीतिक हस्तक्षेपका कारण राजीनामा दिएकी छिन्।
  • उनले पार्टी हस्तक्षेप, असहयोग र अपमानका कारण मानसिक तनाव भएको गुनासो गरिन्।
  • मल्लले राजीनामा पत्रमा सहकारीमा योगदान नभएका व्यक्तिको आदेश मान्नुपरेको र महिला भएकै कारण पेलिएको बताइन्।

काठमाडाैँ ।  राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले राजीनामा दिएकी छिन् । करिब ३ महिनादेखि अमेरिकामा रहँदै आएकी उनले राजीनामा बुझाएकी हुन् । महासंघको ३४ औं साधारणसभाको नाममा सम्बोधन गर्दै उनले राजनीतिक हस्तक्षेपका कारण आफूले राजीनामा दिएको उल्लेख गरिन् ।

राजीनामा पत्रमा उनले आफ्नो छोटो कार्यकालमा रोकिएको बजेट खुलाउने, सातै प्रदेशमा गोष्ठी गर्ने, डिजिटल कन्क्लेभ र रोजगार मेलाजस्ता सकारात्मक काम सुरु गरे पनि चरम राजनीतिक हस्तक्षेप र दबाब खेप्नुपरेको गुनासो गरेकी छिन्। 

महासंघको सञ्चालक समितिमा एकलौटी वर्चस्व भए पनि हरेक बैठकअघि पार्टी (एमाले) को विभागीय प्रमुखसँग अनिवार्य सल्लाह गर्नुपर्ने र पार्टी हित अनुकूल निर्णय गराउन दबाब दिइएको उनले खुलाएकी छिन्।

अध्यक्षका रूपमा स्वतन्त्र रूपमा काम गर्ने वातावरण नबनेको र आफ्नै सहकर्मीबाट असहयोग तथा अपमान सहनुपरेका कारण आफू मानसिक रूपमा निकै तनावग्रस्त बनेको उनको भनाइ छ । स्वास्थ्य उपचारका लागि अमेरिका पुगेपछि पनि सहकर्मीहरूबाटै राजीनामा दिन निरन्तर दबाब दिइएको र राजीनामा नदिए साधारणसभाबाट अविश्वासको प्रस्ताव ल्याएर हटाउने धम्की दिइएपछि आफू विक्षिप्त हुँदै पद छाड्ने निष्कर्षमा पुगेको उनले प्रस्ट पारेकी छिन्।

सहकारीमा कुनै योगदान नभएका व्यक्तिहरूको आदेश मान्नुपर्दाको पीडा र महिला भएकै कारण वा पार्टीमा गुटबन्दी गर्न नजान्दा आफूलाई पेलिएको उनको दाबी छ । 

यस्तो छ मल्लले दिएको राजीनामाको पूर्णपाठ

उपरोक्त विषयमा नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लि. नेपालको ३१ औं वार्षिक साधारणसभावाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष काम गर्दै गरेको समयमा अचानक बिरामी भएर स्वास्थ्य उपचार र पारिवारीक भेटघाटका लागि विगत ६ महिनादेखि म संयुक्त राज्य अमेरिकामा छु ।

गत पुसमा सम्पन्न ३३ औं वार्षिक साधारणसभा भन्दा अगावै स्वदेश फर्कने योजनाका साथ आएको थिए तर स्वास्थ्यमा थप सुधार नभएका कारण साधारणसभामा उपस्थित हुन नसकेर शुभकामना सन्देश पठाएको कुरा साथीहरुलाई अवगत नै छ । अध्यक्षका रुपमा मेरो भूमिकाको सहकारी अभियानले मूल्यांकन गर्ने नै छ । 

कार्यकालको छोटो अवधिमा पनि मेरो अगुवाईमा हाम्रो टिमले केही सकारात्मक प्रयासको थालनी गरेका हौ भने मलाई लाग्दछ । मन्त्रालयमा रोकिएको बजेटलाई निरन्तरता दिने, सरकारसँग मिलेर सातै प्रदेशमा गोष्ठी गर्ने, सहकारी राष्ट्रिय गित निकाल्ने, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मनाउने, सरकारसंग सहकारी नीति सम्बन्धी सम्बाद, कोअपरेटिभ डिजिटल कन्क्लेभ, सहकारी रोजगार मेलालगायतका धेरै कामहरु भएका थिए ।

ती काम प्रयाप्त थिए म भन्दिनँ, तर कामको शुरुवात भएकै थियो । मेरो कार्यकालको छोटो अवधीमा भोगेका आरोह अवरोह सबै सहकारीकर्मीलाई जानकारी होस् र महासंघमा सुधारका लागि पनि कोशेढुंगा बनोस् भनेर केही अनुभवहरु यहाँहरु समक्ष साझा गर्न चाहान्छु । अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रुपमा पूर्ण सहयोग प्राप्त भएन । 

राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक वैठक पूर्व अनिवार्य रुपमा पार्टीको विभागीय प्रमुखसँग सल्लाह लिनु पर्ने, निर्णयहरु पार्टी हित अनुकुल हुनुपर्ने जस्ता दवावको कारण मैले स्वस्फूर्त रुपमा योजना अनुसार काम गर्न सकिन । महाप्रवन्धक नियुक्ती देखि अन्य कार्यालयका महत्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण बनेन् । यद्यपी टिमका केही साथीहरुको साथ सहयोग र कर्मचारीहरुको सकारात्मक कार्यशैलीका कारण केही महत्वपूर्ण कामहरु पनि भएका छन् ।


पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएँ । महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरें तर एउटै पार्टीका साथीहरु रहेको बोर्डमा रहेपनि असहयोगको अवस्था पनि भयो । आफ्नै साथीहरुको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ । गत भदौमा परिवार अमेरिका जाने भनेपछि केही समयका लागि परिवारसँगै विदेशमा रहदा उपचारसँगै तनाव पनि कम हुन्छ भन्ने परिवारको सल्लाह अनुसार अमेरिका आएको हुँ।  यहाँ आएपछि केही परिवर्तन हुन्छ कि ? भन्ने लागेको थियो तर पार्टी नेतृत्वको दवावले नै होला महासंघका साथीहरुले पटक पटक राजिनामा पठाउन दवाव दिनुभयो ।

राजीनामा नदिए अविश्वासको प्रस्ताव साधारणसभामा लगेर हटाउने धम्की पनि साथीहरुले दिनुभयो । मैले साधारणसभामा शुभकामना सन्देश पठाए । त्यसपछि पनि धेरै दवाव दिएको कारण म राजिनामा दिने निष्कर्षमा पुगे । काम गर्ने चाहना भएरै दुई दशक भन्दा बढी समय सहकारी अभियानमा लागे, त्यो पनि महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुदै अध्यक्ष भएकी थिए, तल हुँदा सबैलाई साथ दिएकी थिए, सहयोग गरेकी थिए, तर म अध्यक्ष भएपछि मैले सहयोग गरेकाहरुबाट साथ पाइन, उल्टो असहयोग हुने अवस्था सिर्जना भयो ।

राजनीति कति निष्ठुर हुँदो रैछ भन्ने पनि म सहकारी महासंघको अध्यक्ष भएपछि थाहा पाएँ । स्वार्थ मिलेन भने नेताहरु कति क्रुर हुँदा रहेछन त्यो पनि बुझ्न पाए ।  थाहा छैन, महिलाले काम गर्न सक्दैनन् भन्ने लाग्यो कि ? पार्टीमा मैले गुट गर्न सकिन कि ?  उहाँहरुको नजरमा गुट मिलेन कि ? वा पार्टीको सहकारी विभाग र विभागका साथीहरुको कही कतै चित्त दुखाए कि ? म आफैलाई के भयो भन्ने जानकारी छैन, कहाँनिर म चुके भन्ने पनि पत्तो छैन, छ त केबल सहकारीमा कुनै योगदान नभएका मान्छेको आदेश, निर्देशन अनि अनाहकको तनाव। यो सबै कुरालाई मनन गरी आज साह्रै विक्षिप्त भएर राष्ट्रिय सहकारी महासंघ लि. नेपालको अध्यक्ष पदबाट राजिनामा पठाएकी छु ।

मैले वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक दिएको ६ महिना पुग्दैछ, त्यो भन्दा पहिला पठाएको यो राजिनामा प्रक्रियागत रुपमा स्वीकृत गरी नयाँ नेतृत्व चयन गर्न सहज होस् भन्ने अनुरोध राष्ट्रिय सहकारी महासंघ लि. नेपाल, यसका सम्पूर्ण शेयर सदस्य संघ संस्थाहरुका प्रतिनिधिहरु, सम्पूर्ण सहकारीकर्मी साथीहरु, नियमनकारी निकाय लगायत सबैमा अनुरोध गर्न चाहन्छु ।

सहकारीमा पछिल्लो समयमा समस्या आए, समस्या नभएको कुनै क्षेत्र छैन, समस्या हुनु, समस्या आउने विषय जहाँ, जहिले र जतिबेला पनि हुन्छ, सहकारीमा आएका समस्या समाधानका लागि हामी सबैको पहलकदमी पुगेन भन्ने महसुस भएको छ, हामीले मात्रै गरेर नहुने अवस्था देखिएपछि पार्टीहरु, सरकार र अन्य सरोकारवालाहरुलाई अनुरोध गर्न लागियो । तर समस्यालाई गुट हेरेर, अरु व्यक्तिको दवाव र प्रभावमा परेर जव कसैलाई सकाउन लागिन्छ भने त्यसले सहकारी अभियानलाई हित गर्दैन, हिजो सहकारी अभियानमा योगदान गर्ने थुप्रै साथीहरु आज समस्यामा हुनुहुन्छ, कतिपयमा संस्थागत समस्या होला, कतिपयमा व्यक्तिगत समस्या होला, कतिपयको नियत नै खराव होला, समस्या हुनुको कारण पहिचान गरेर समाधानमा लाग्नु पर्नेमा सबैलाई एउटै डालोमा राखेर, एउटै कित्तामा कित्ताकाट गराएर समस्या बढाइदिने खालका गतिविधि सहकारीका नाममा राजनीति गर्नेहरुबाट भएका छन्, चुनावमा सहयोग नगरेको नाममा, सल्लाहकार चयन नगरेको नाममा हुने यस्ता खाले गलत प्रवृति रोक्न सकेमा मात्रै सहकारी अभियान थप प्रभावकारी बन्नेछ ।

आगामी दिनमा यस्ता हस्तक्षेपकारी काम नहुन्, नेपालको सहकारी अभियानलाई सबै मिलेर, सबैको सहभागितामा, सबैको सक्रियतामा थप व्यवस्थित गराउन सकियोस्, त्यसका लागि म वाधक हो कि ? भन्ने केही साथीहरुलाइ परेको छ, मेरा कारणले मात्र समस्या आएको हो भने पनि म त्यसका लागि सजाय भोग्न तयार छु, तर म वाधक होइन, बन्दिन भन्ने प्रतिवद्धताका साथ राजिनामा गरेकी छु । ३३ औ साधारणसभाबाट संशोधनसहित पारित विनियम यथासिघ्घ्र सम्बन्धित सहकारी विभाग र निकायबाट स्वीकृत गराई सोही संशोधित पारित विनियम अनुसार आगामी कार्यकालकोलागि राष्ट्रिय सहकारी महासंघको संचालक समितिको निर्वाचन गराई, नयाँ नेतृत्व चयनतर्फ सम्पूर्ण सभाका सदस्यहरु लाग्नुहुनेछ भन्ने विश्वासका साथ निर्वाचित अध्यक्ष पदबाट राजीनामा गर्दछु । आगामी निर्वाचनको प्रकृयाबाट आउने नयाँ संचालक समितिलाई अग्रीम बधाई तथा शुभकामना समेत व्यक्त गर्दछु ।

हिजोका दिनमा काम गर्ने क्रममा म बाट जानेर वा नजानेर सहकारी अभियानको विरुद्धमा कही कतै गलत भएको रहेछ, मेरा कारण कसैको मन दुखेको रहेछ, कही कतै अप्ठेरो परेको रहेछ भने त्यसका लागि म क्षमा प्रार्थी छु । यो पनि थाहा छ, मलाई माया गर्ने, सहकारी क्षेत्रलाई माया गर्ने, सहकारीको प्रवद्र्धनमा योगदान गरेका साथीहरुलाई मेरो यो निर्णयले अवश्य दुखीः बनाएको होला, तर, पनि म वाध्य छु, सबै भन्दा ठुलो स्वास्थ्य रहेछ, तनावले स्वास्थ्यलाई निकै सताउदो रहेछ, पहिला पहिला अन्यत्र तनाव हुँदा बिसाउने चौतारी सहकारी थियो, तर आज मलाई यही सहकारी क्षेत्रबाट यति ठुलो तनाव हुन्छ, जसलाई साथ सहयोग गरे तिनीहरुले नै तनाव दिन्छन्, मेरो स्वास्थ्यमा समस्या नै आउछ भन्ने लागेको मात्रै भए, सायद अर्कै सोचिन्थ्यो होला । सहकारी क्षेत्रमा काम गर्दा मेरो तनाव थिएन, तल बसेर काम गर्दा नभएको तनाव अध्यक्ष भएपछि कताबाट आयो, कुन हुण्डरीले ल्यायो थाहा भएन, दिनै पिच्छे कसैको दवाव झेलेर नेतृत्वमा बसिरहन पर्छ भन्ने पनि छैन भन्ने सोचका साथ महासंघको औपचारिक जिम्मेवारीबाट बिदा भएको छु, यसबाट सहकारी क्षेत्र र आम साथीहरुमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छु ।

ओमदेवी मल्ल
अध्यक्ष राष्ट्रिय सहकारी महासंघ लिमिटेड

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप