शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सडक सञ्जाल

चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर : उघार्दै दूर–दराजमा सम्भावनाका ढोका

आइतबार, ०१ चैत २०८२, १२ : ४५
आइतबार, ०१ चैत २०८२

सारांश

  • कालीगण्डकी कोरिडोरले बागलुङका दुर्गम क्षेत्रमा सम्भावनाका ढोका खोलेको छ, जसले व्यापार र यातायातमा सुधार ल्याएको छ।
  • कोरिडोरले स्थानीय बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ, पहिलेको तुलनामा यात्रा र बजार पहुँच सहज भएको छ।
  • कालीगण्डकी कोरिडोर लुम्बिनी र मुक्तिनाथलाई जोड्ने धार्मिक मार्गको रूपमा विकास हुँदैछ, जसले पर्यटनको सम्भावना बढाएको छ।

बागलुङ । तलतिर अविरल बगिरहेको कालीगण्डकी, त्यही कालीको छेउ हुँदै चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर । हिमाल, पहाड र तराईलाई एकैसाथ जोडेको कोरिडोरले दुर्गम क्षेत्रका लागि सम्भावनाका ढोका खोलेको छ । यो कोरिडोर किसानका लागि बजार, व्यापारीका लागि ग्राहकसहित कैयौँ सम्भावनाको ढोका उघार्ने माध्यम बनेर आयो ।

पूर्व नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोराला नाकासम्म जोडिएको कोरिडोरले बागलुङ, मुस्ताङ, म्याग्दी, पर्वत, पाल्पा र पूर्वी नवलपरासी जिल्लालाई जोडेको छ । विगतमा विकट मानिएको दक्षिण बागलुङलाई कोरिडोरले देशका ठुला सहरसहित भारत र चीनसँग मात्रै जोडेको छैन, सम्भावनाका कैयौँ ढोका खोलेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कोरिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामात्र होइन थुप्रै आयामले जोडेको छ ।

त्रिदेशीय सडकका रूपमा रहेको कोरिडोर निर्माणको काम झन्डै १४ वर्ष अगाडि सुरु भएको थियो । कोरिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन् । ग्रामीण क्षेत्रबाट झरेर कोरिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन् । करिब ४३५ किलोमिटर लामो कोरिडोर बागलुङ खण्डमा मात्रै ३४ किलोमिटर पर्छ ।

IMG_8994.00_00_04_24.Still001

  • छेडक छेउमा बस्ती विस्तार हुँदै

कोरिडोरले बागलुङको जैमिनी नगरपालिका क्षेत्रमा ठुलो परिवर्तन ल्याएको छ । बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटमा लगायतका बस्ती बस्न थालेको छ । कोरिडोर स्तरोन्नतिसँगै अधिकांश खण्ड कालोपत्र भइसकेको छ, जसका कारण सवारी साधनको चाप बढ्न थालेको छ ।

जैमिनी नगरपालिका–७ जैदीकी चन्द्रकला चालिसेले कोरिडोर यस क्षेत्रका लागि वरदान साबित हुँदै गएको बताइन् । पहिले कोरिडोर छेउमा फाट्टफुट्ट घर बने पनि अहिले गाउँबाट सडक छेउछाउमा झर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ ।

IMG_9118.00_00_00_00.Still005

‘सडकले हाम्रो क्षेत्रमा ठुलो परिवर्तन ल्यायो । यसरी परिवर्तन आउला भन्ने त हामीहरूले सोचेकै थिएनौँ । अबको केही वर्षमा सडकमा छेउछाउ घर–भवनले भरिने छन्,’ उनले भनिन्, ‘गाउँ रित्तिन थाले । सडक वरपर घर बन्ने क्रम बढ्यो ।’

कोरिडोरले विकट क्षेत्रलाई सुगममा परिणत गर्दै गएको चालिसेले बताइन् । पहिले बागलुङ बजारमा पुग्न एक दिन लाग्ने गरेको सुनाउँदै उनले अहिले छोटो समयमै पुग्न सकिने बताइन् ।

उनले भनिन्, ‘आजभन्दा आठ÷दश वर्ष अगाडि यो क्षेत्र निकै पछाडि परेको थियो । जिल्ला सदरमुकाम बागलुङ बजार जानका लागि पर्वतको फलेवास पुगेर गाडी चढ्नु पर्थ्यो । अहिले उठेर घर अगाडि आएपछि गाडी पाइहाल्छ । चढेपछि ४०÷४५ मिनेटमा बजार पुगिन्छ ।’

  • नागरिकको जीवनशैली बदलिँदै

कोरिडोर कालोपत्र भएपछि ग्रामीण क्षेत्रका नागरिकलाई बुटवल, भैरहवा लगायत देशका ठुला सहरसम्म पुग्न सहज भएको छ । कोरिडोरमा यातायात सञ्चालन हुन थालेपछि दैनिक जीवनमा परिवर्तन आउन थालेको जैमिनी नगरपालिका–१ का कासिराम पौडेलले बताए ।

कुनै समय नुन, तेल र लत्ता कपडा लिन बुटवल पुगेर फर्किंदा १५ दिन बित्ने गरेको अनुभव सुनाएका उनले अहिले बिहान गएर साँझ फर्किन सक्ने भएको प्रस्ट पारे ।

IMG_9118.00_00_02_16.Still006

पौडेलले भने, ‘हाम्रो पालामा नुन बोक्न बटौली (बुटवल) जानु पर्थ्यो । अहिलेको जस्तो चिल्ला सडक थिएनन् । मोटर गाडी गुड्दैनथे । हामी पैदल हिँडेर बटौली पुग्थ्यौँ । बटौलीबाट नुन लिएर घर आउँदा १५ दिन बितेको हुन्थ्यो । अहिले त बिहान गयो भने साँझ सबै काम सकेर आइन्छ । बाटो धेरै राम्रो बनाएको छ ।’

पौडेलले आफूहरूले जीवनको उत्तरार्द्धमा मात्र विकास अनुभूत गर्न पाएको बताए । यद्यपि यो विकासले सन्ततिका लागि सहज हुने उनको भनाइ छ । अचेल घरै अगाडि गाडी आउने हुँदा देश विदेशका सबैथोक सामान आइपुग्ने उनी बताउँछन् । पछिल्लो एक दशकमा कोरिडोरले यस क्षेत्रमा ठुलो परिवर्तन ल्याएको उनले प्रस्ट पारे ।

  • बसाइँसराइ रोकिने आशा

जैमिनी नगरपालिका बागलुङमै सबैभन्दा बढी बसाइँसराइ हुने पालिका हो । माथिल्लो क्षेत्रका गाउँबस्ती पछिल्लो समय रित्तिने क्रममा छन् । कोरिडोरका कारण आसपासका स्थानीय भने आफ्नै ठाउँमा बस्ने सोचमा छन् । जैमिनी नगरपालिका–७ का विकास चालिसेले पाँच वर्ष अगाडिसम्म गाउँबाट धेरै स्थानीय बसाइँसराइ गरेर पोखरा, चितवन, भैरहवा, गैंडाकोट लगायतका स्थानमा पुगेको बताए ।

पछिल्लो समय कालीगण्कडी कोरिडोर कालोपत्र भएपछि सडक आसपासका धेरै बसाइँसराइ गर्नबाट रोकिएको उनी सुनाउँछन् । आफ्नो परिवार पनि पहिले बसाइँसराइ गर्ने योजना रहेको भन्दै कोरिडोर व्यवस्थित हुँदै गएपछि रोकिएको उनले बताए । अब धेरै स्थानीयले गाउँमै बस्ने सोच बनाएको उनको भनाइ छ ।

चालिसेले भने, ‘पहिला त हामी निकै समस्यामा थियौँ । बुटवल जानका लागि पोखरा पुग्नु पर्थ्यो । पोखरा पुग्न यहाँबाट एक दिनजस्तो लाग्थ्यो । अहिले कोरिडोर हुँदै दैनिक दर्जनौँ गाडी बुटवलबाट आउँछन् । त्यसले गर्दा गाउँमै केही व्यवसाय गर्ने, गाउँमै बस्ने सोच बनाएका छौँ ।’

  • बजारीकरणका लागि सहजता

कोरिडोरले व्यावसायिक तरकारी खेती र दुग्ध उत्पादन गर्दै आएका किसानलाई सिधा बजारसँग जोडेको छ । दुई वर्ष अगाडिसम्म उत्पादित वस्तुलाई डोकोमा बोकेर बजार पठाउने गरेका किसान हिजोआज गाडीमा पठाउन थालेका छन् ।

IMG_8994.00_00_01_29.Still002

स्थानीय प्रेम थापाले कोरिडोरले गाउँको उत्पादन बुटवल, भैरहवा र पोखरा पठाउन सहज बनाएको बताए । कोरिडोर व्यवस्थित भएपछि धेरै किसान उत्साहित भएको भन्दै उनले अब राज्यले उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

‘कालीगण्डकी कोरिडोरले त हाम्रो गाउँ ठाउँलाई सुगम बनायो । दिनानुदिन गाडी ओहोरदोहोर गर्छन् । यात्रुले यहाँ उत्पादन भएका सामान किनेर लैजान्छन् । पहिले बुटवल, भैरहवा पुग्न एक दिन लाग्थ्यो भने अहिले चार÷पाँच घण्टामै पुग्न सकिन्छ’ उनले भने, ‘बुढापाकाहरू अहिलेको यो विकास देखेर दङ्ग पर्छन् ।’

  • लुम्बिनी–मुक्तिनाथ जोड्ने धार्मिक मार्ग

हरेक वर्ष हजारौँको संख्यामा भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथ पुग्छन् । त्यसरी नै चिनियाँ पर्यटक लुम्बिनी जान्छन् । लुम्बिनी र मुक्तिनाथलाई सिधा र छोटो दूरीमा जोड्ने प्रमुख मार्ग कालीगण्डकी कोरिडोर हो । त्यतिमात्रै नभएर मानसरोवर पुग्ने पर्यटकका लागि पनि कोरिडोर उपयुक्त मार्ग हो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले कालीगण्डकी कोरिडोर धार्मिक मार्गका रूपमा विकास हुन थालेको बताए । कोरिडोरले सिधा भारत र चीनलाई जोडेका हुँदा हिन्दु र बौद्ध धर्मवालम्बीहरूका लागि महत्त्वपूर्ण मार्ग बन्ने उनको भनाइ छ ।

उपप्रमुख शर्माले भने, ‘कोरिडोर धार्मिक पर्यटनसँग जोडिएको हुँदा यहाँ थुप्रै सम्भावना जागृत भएका छन्, हाम्रो क्षेत्रमै जैमिनी धाम छ । यसको महत्त्व पनि निकै छ । मुक्तिनाथ र लुम्बिनी जाने पर्यटक अब बागलुङ हुँदै आवतजावत गर्ने छन् । यो मार्गको महत्त्व पनि छुट्टै हुने भयो ।’

IMG_9118.00_00_03_06.Still002

उनले कालीगण्डकीमा स्नान गर्दा पुण्य कमाउने विश्वास लाखौँ हिन्दु धर्मावलम्बीमा रहेको भन्दै कोरिडोरमा यात्रा गर्ने तीर्थयात्रीले जहाँ पनि गाडी रोकेर स्नान गर्न सक्ने बताए । अब स्थानीय सरकारले पर्यटकीय तथा धार्मिक स्थलको प्रचारप्रसार गर्ने र बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।

दक्षिण बागलुङलाई समृद्धिसँग जोड्न कालीगण्डकी कोरिडोरले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । अब बागलुङका हरेक नागरिक व्यापार र व्यवसायसँग जोडिएर कोरिडोरबाट ठुलो लाभ लिन सक्ने उनको भनाइ छ ।

IMG_9118.00_00_08_15.Still003

कोरिडोरले जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ क्षेत्र जोडेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्ट्याइदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप