गण्डकीमा पुराना दलको रिपोर्टिङ कहाँ बिग्रियो ?
सारांश
- नवलपुर-१ मा कांग्रेसले चुनाव हारेको छ, जहाँ यसअघि शशांक कोइरालाले जित्दै आएका थिए।
- एमाले नेता पृथ्वीसुब्बा गुरुङ लमजुङमा पराजित भए, भने रास्वपाका धर्म केसीले चुनाव जिते।
- गोरखा-२ मा नेकपाका लेखनाथ न्यौपाने पराजित भए, रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी भए।
पोखरा । संसदीय राजनीतिमा नेपाली कांग्रेसले कहिल्यै चुनाव नहारेको नवलपुर–१ मा यस पटक पराजित हुन पर्यो । पछिल्लो ४ पटक कांग्रेस नेता डा. शशांक कोइरालाले चुनाव जितिरहेको यो क्षेत्रमा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले सानदार जित निकाले ।
राजनले ५० हजार ९४५ मत ल्याउँदा कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतमै खुम्चिए । अघिल्लो चुनावमा कांग्रेसका कोइराला २७ हजार मत ल्याएर सो क्षेत्रबाट निर्वाचित भएका थिए ।
यस पटक त्रिपक्षीय प्रतिस्पर्धा हुने र अन्तिममा कांग्रेसले जित्ने रिपोर्टिङ कांग्रेसको आन्तरिक बैठकमा भएको थियो । ‘कांग्रेसले नयाँ अनुहारलाई टिकट दिएको थियो । एमालेका पनि बलिया उम्मेदवार थिए । रास्वपा पनि दुई पुराना पार्टीकै हाराहारीको प्रतिस्पर्धी हुँदा चुनाव कांग्रेसले जित्ने आकलन थियो,’ जिल्लाका एक कांग्रेस नेताले भने, ‘कांग्रेसले आफ्नो मत पूरै जोगाउँछ भन्ने भ्रममा हामी रहेछौँ । रास्वपाको प्रभाव त्यतिधेरै परेको होला भन्ने सोच्नै सकेनौँ ।’
एमाले महाधिवेशनमा सर्वाधिक मत ल्याएर पार्टी उपाध्यक्षमा जितेका नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ पनि यसअघिका चुनावमा लमजुङमा अरु उम्मेदवारहरूलाई भारी परिरहेका थिए । २०७९ को चुनावमा सत्ता गठबन्धनलाई हराएर लोकप्रिय मतसहित जितेका उनलाई यसपालि केन्द्रबाट नतोकिए पनि जिल्लास्तरमा ‘भावी प्रधानमन्त्री’का रूपमा प्रचार गरिएको थियो ।
गण्डकीको संस्थापक मुख्यमन्त्री हुँदा गुरुङले गरेको विकास मोडललाई समेत यस पटक चुनाव प्रचारको विषय बनाइएको थियो । यद्यपि उनी यसपालि नराम्रोसँग पराजित भए । गुरुङले १६ हजार ८७६ मत ल्याउँदा रास्वपाका धर्म केसी ३३ हजार ८९८ मतसहित निर्वाचित भए ।
‘यो नतिजा कल्पना बाहिरको हो । हामीले कांग्रेससँग प्रतिस्पर्धा हुन्छ भन्ने रिपोर्टिङ पार्टीमा गरेका थियौँ,’ जिल्लास्तरका नेताहरू भन्छन्, ‘हाम्रो प्रतिस्पर्धा रास्वपासँग होला भन्ने कहिल्यै ठानेकै होइन । रास्वपा तेस्रो हुने अनुमान थियो । हामीलाई चकित पारेर सर्वाधिक मत ल्यायो ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकीबाट ८ सिट जित्ने दाबी गरिरहँदा १५ सिटमा चुनाव जित्यो । अर्काे एक सिटमा रास्वपाको समर्थनबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भए ।
बौद्धिक छवि भएका र अहिलेसम्म अवसर नै नपाएका भन्दै नेपाली कम्युनिस्ट पार्टीका नेता लेखनाथ न्यौपानेको सामाजिक सञ्जालमा राम्रो चर्चा थियो । उनी गोरखा–२ बाट उम्मेदवार बन्दा गोरखालीले पनि न्याय पाउने र उनले चुनाव जित्ने धेरैको आकलन थियो । प्रतिस्पर्धा रास्वपासँगै भए पनि चुनाव नेकपाले जित्ने रिपोर्टिङमा पार्टी पंक्ति लाग्यो ।
सञ्जालहरू हेर्दा न्यौपाने जित्ने पोजिसनमै थिए, तर यसअघिको चुनाव जितेर गएपछि आफ्नै पार्टीका संयोजक पुष्पकमल दाहालप्रति नागरिकहरू यतिसारो असन्तुष्ट छन् भन्ने भेउ लेखनाथले पाएनन् । भन्न त उनले प्रचण्ड चुनाव जितेर गएको ठाउँमा पछिल्ला चुनाव नेकपा माओवादीले नजितेको दृष्टान्त सुनाइरहेका थिए । उनी भन्थे, ‘एउटा दुःखको कुरा के छ भने प्रचण्डजी चुनाव जितेको ठाउँमा दोहोर्याएर पछिल्ला उम्मेदवारले चुनाव जितेका छैनन् ।’
सिराहा, चितवन, काठमाडौँपछि गोरखा–२ मा त्यही मोडल लागु भयो । रास्वपासँग प्रतिस्पर्धा हुने पार्टीको आन्तरिक रिपोर्टिङ पनि फेल खायो ।
यहाँ नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी दोस्रो भए । रास्वपाका कविन्द्र बुर्लाकोटीले २६ हजार ६६० मत ल्याएर चुनाव जित्दा प्रकाशले ११ हजार ७ सय र न्यौपानेले ११ हजार ७३ मत पाए । पुरानामात्रै होइन, नयाँ दलको पनि रिपोर्टिङ यसपालि गलत ठहरियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकीबाट ८ सिट जित्ने दाबी गरिरहँदा १५ सिटमा चुनाव जित्यो । अर्काे एक सिटमा रास्वपाको समर्थनबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भए ।
नेपाली कांग्रेस हिमालपारीकै जिल्लामा थन्कियो । अरु दल त मुन्टो उठाउन पनि नसक्ने ठाउँमा पुगे । कम्तीमा ६ सिट जित्ने दाबी गरेको एमाले र ३ सिट जित्ने दाबी गरेको नेकपा शून्यमै आउट भए । १० सिट हाराहारी अनुमान गरेको कांग्रेसले २ सिटमा चित्त बुझायो । यसपालिको चुनावमा तल्लो तहको रिपोर्टिङ नै गलत भएको निष्कर्ष दलहरूको छ ।
‘जनताले भित्रभित्रै मत बदल्ने सल्लाह गरिरहेका रहेछन्, हामी पुराना दल (कांग्रेस) त्यहाँनिर अनभिज्ञ नै भयौँ । हाम्रो रिपोर्टिङले त्यो माहोल देख्नै सकेन,’ कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले भने, ‘हाम्रो विशेष महाधिवेशनको म्यान्डेट र घोषणापत्र जनतासम्म पुर्याउन ढिला भयो । नयाँ र अरु दलहरूले जे भन्दा जनता आकर्षित हुन्छन्, त्यही नारा लगाए, तर हामीलाई आधिकारिक भन्दा बाहिर गएर बोल्ने छुट थिएन ।’
त्यसबाहेक आफ्नो दल सरकारमा हुँदा गरेका कामको विवरण जनतालाई बुझाउन नसक्दा पनि यो पराजय व्यहोर्नुपरेको उनको तर्क छ । ‘मुलुकमा कांग्रेसको नेतृत्वमा भएका परिवर्तन र राम्रा कामको चर्चै गरेनौँ । ती कुरा जनतासमक्ष लैजानुभन्दा पनि हामी केही व्यक्तिलाई गाली गर्नमै लाग्यौँ, जसले हामीलाई नै पछि पार्यो,’ उनले भने ।
गण्डकीलाई नेपाली कम्युनिस्ट पार्टीले आफ्नो आधार क्षेत्र मान्छ । तत्कालीन माओवादीले गण्डकीमा गोरखा र बागलुङका स्थानीय तहमा उल्लेख्य पालिका चुनाव जितेको छ । सोही आधारमा यसपालि पनि गोरखाका दुई वटा क्षेत्र र बागलुङ–२ मा चुनाव जित्ने आँकडा नेकपाले निकालेको थियो । यद्यपि तीन वटै क्षेत्रमा नेकपा तेस्रो भयो । रास्वपाले तीन वटै क्षेत्रमा चुनाव जित्दा कांग्रेस दोस्रो बनेको छ ।
एमालेको पनि पछिल्लो समीक्षा त्यही हो । ‘देशैभरि देखिएको माहोल र मुभमेन्टलाई तल्लो तहका कार्यकर्ताले अनुमान नै गर्न सकेनन् । उनीहरूले आफ्नो गाउँ र ठाउँको मात्रै रिपोर्टिङ गरे तर बाहिरको वेभले कस्तो प्रभाव पार्दैछ भन्ने आकलन गर्न चुके,’ एमाले गण्डकीका सचिव धनन्जय दवाडीले भने, ‘यसबाट के देखियो भने हाम्रो पार्टी नयाँ पुस्तामाझ पुग्नै सकेनछ । नयाँ मतदाता र नयाँ पुस्तासँग पार्टी नेतृत्व पूर्ण रूपमा अलग–थलग भएको पाइयो । मुख्य समस्या नै यहीँनेर भयो ।’
अहिलेको पुस्तासँग एमालेको सामिप्यता गुम्दै गएको दवाडीको स्वीकारोक्ति छ । ‘विशेषगरी २०६० सालपछिको जुन नयाँ पुस्ता छ, उनीहरूसँग पार्टीको कुनै एट्याचमेन्ट नै हुन सकेन । हामीले त्यसैलाई बुझ्न नसक्दा चुनावी रिपोर्टिङ र नतिजा बिग्रिन पुग्यो,’ उनले भने ।
गण्डकीलाई नेपाली कम्युनिस्ट पार्टीले आफ्नो आधार क्षेत्र मान्छ । तत्कालीन माओवादीले गण्डकीमा गोरखा र बागलुङका स्थानीय तहमा उल्लेख्य पालिका चुनाव जितेको छ । सोही आधारमा यसपालि पनि गोरखाका दुई वटा क्षेत्र र बागलुङ–२ मा चुनाव जित्ने आँकडा नेकपाले निकालेको थियो । यद्यपि तीन वटै क्षेत्रमा नेकपा तेस्रो भयो । रास्वपाले तीन वटै क्षेत्रमा चुनाव जित्दा कांग्रेस दोस्रो बनेको छ ।
‘हामीले आफ्नो संगठनात्मक आधार, पार्टी सदस्यता र कार्यकर्ताको उपस्थितिलाई हेरेर चुनाव जित्छौँ भन्ने रिपोर्टिङ गर्यौँ, तर परिस्थिति फरक परेछ,’ नेकपा गण्डकीका उपाध्यक्ष गुणाखर बस्यालले भने, ‘मुख्य कुरा, जनता बदलिएको तथ्यलाई हाम्रो रिपोर्टिङले ठम्याउन सकेन । राजनीतिमा हामीले यो कुरा स्वीकार्नै पर्छ ।’
पार्टी सदस्यता र कार्यकर्ता पंक्ति नै आफ्नो चुनाव जित्ने आधार भएको उनले सुनाए । पुराना दलहरू पुरानै नतिजाको विश्लेषण गरेरमात्रै चुनाव जित्ने प्रक्षेपण गर्दा र नयाँहरूको उपस्थितिलाई ठिक विश्लेषण र स्वीकार नगर्दा चुनावको नतिजा उनीहरूको लागि लज्जाजनक आएको प्रस्ट देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण