बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कांग्रेस महामन्त्री गुरूराज घिमिरेसँग ‘वारपार’

‘पुरानो नेतृत्वले गरेका सबै कमजोरीको पहाडले कांग्रेसलाई थिचेको छ’

बिहीबार, ०५ चैत २०८२, ०७ : १५
बिहीबार, ०५ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा शर्मनाक हार बेहोर्यो, ३८ सिट मात्र जित्यो।
  • कांग्रेस महामन्त्रीका अनुसार निर्वाचनको नतिजा अप्रत्याशित थियो र पार्टीले नेतृत्व परिवर्तनको प्रयास गरेको थियो।
  • कांग्रेसले अब १५औँ महाधिवेशनको तयारी गर्दैछ, र नयाँ सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छ।

काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले शर्मनाक हार बेहोर्‍यो । अघिल्लो निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बनेको कांग्रेसले यसपटक प्रत्यक्ष र समानुपातिकमा गरी ३८ सिट मात्रै जितेको छ । जेनजी आन्दोलनपछि राजनीतिक पार्टीहरूमा पुनर्संरचनाको माग जोडतोडले उठ्यो, कांग्रेसले पनि विशेष महाधिवेशन गरी गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्‍यो । 

त्यसलगत्तै भएको निर्वाचनमा ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ नारा लिएर कांग्रेस होमियो । तर अपेक्षा गरे अनुसार उसले निर्वाचनमा सफलता हासिल गर्न सकेन । प्रतिनिधिसभा निर्वाचनको परिणाम र कांग्रेसभित्रको आन्तरिक हलचलका विषयमा केन्द्रित रहेर कांग्रेस महामन्त्री गुरुराज घिमिरेसँग रातोपाटीको ‘वारपार’मा गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :

निर्वाचनको परिणाम आइसकेको छ, तर नेपाली कांग्रेसको आधिकारिक धारणा अझै बाहिर आएको छैन । तपाईं व्यक्तिगत र पार्टीको महामन्त्रीको हैसियतले यो परिणामलाई कसरी लिनुहुन्छ ?

लोकतान्त्रिक प्रक्रियामा सहभागी भएपछि त्यसबाट प्राप्त हुने परिणामलाई सहज रूपमा स्वीकार्नु कुनै पनि राजनीतिक दलको प्राथमिक धर्म हो । जहाँसम्म यो निर्वाचनको नतिजाको कुरा छ, यो हाम्रा लागि अप्रत्यासित, अकल्पनीय र अनपेक्षित छ । कांग्रेसले आफ्नै नेतृत्वमा चुनाव गराउँदा बहुमतको अपेक्षा गरेको थियो, वा कम्तीमा पनि सबैभन्दा ठुलो दल बन्ने विश्वास थियो । तर परिणाम सोचेभन्दा फरक आयो । हामी जनतालाई जनार्दन मान्छौँ र यो जनादेशलाई शिरोधार्य गर्छौँ । २०१५ देखि हालसम्मका हरेक निर्वाचनको नतिजालाई कांग्रेसले संस्थागत रूपमा स्वीकार गर्दै आएको छ, यसपटक पनि हामीले त्यही गरेका छौँ ।

तपाईंले यसलाई 'अकल्पनीय' भन्नुभयो, तर कतै तपाईंहरूले ल्याएको 'परिवर्तित नेतृत्व' र 'बदलौँ कांग्रेस, बदल्छौँ देश' भन्ने नारालाई जनताले पत्याउन नसकेका त होइनन् ?

यसलाई यसरी बुझौँ, हामीले नेतृत्व परिवर्तनको प्रयास गर्‍यौं, किनभने पुरानो कार्यशैलीले अब मुलुक चल्न सक्दैन भन्ने हामीलाई बोध भइसकेको थियो । विशेष महाधिवेशन मार्फत हामीले नयाँ पुस्तालाई अगाडि सार्‍यौं । तर जनताले नपत्याएको यो नयाँ नेतृत्वलाई होइन, बरु विगत ३५-३६ वर्षदेखि पार्टी र सत्ताको बागडोर सम्हाल्दै आएको पुरानो प्रवृत्तिलाई हो ।

Guru Raj Ghimire

हामीले सरकार चलाउँदाका हाम्रा प्राथमिकता, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र नयाँ पुस्ताका समस्यालाई सम्बोधन गर्ने कुरामा जुन उदासीनता देखायौँ, त्यसैको दण्ड अहिले हामीले पाएका हौँ । हामीले पार्टीभित्रैबाट यी कमजोरी सुधार्न खोज्दा नेतृत्वले मानेन, जसको परिणामस्वरूप जनताले हामीलाई सचेत गराएका छन् ।

तपाईंहरूले विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तन त गर्नुभयो, तर संस्थापन पक्षले तपाईंहरूलाई हतारो गरेको र पुरानो नेतृत्वको अपमान गरेको आरोप लगाएको छ नि ?

हाम्रो प्रयत्न वैधानिक थियो । जब नियमित महाधिवेशन हुने सम्भावना टर्दै गयो, तब हामीले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशनको बाटो रोजेका हौँ । यसलाई अपमान भन्न मिल्दैन । लोकतन्त्रमा बहुमतको कदर हुनुपर्छ । तत्कालीन नेतृत्वले विधान मिचेर अगाडि बढ्न खोज्दा हामीले विधानको रक्षाका लागि कदम चालेका हौँ । अपमान त उहाँहरूले गर्नुभयो, जसले बहालवाला निर्वाचित महामन्त्री र सहमहामन्त्रीलाई पार्टीबाट निष्कासन गर्नेसम्मको अतिवादी निर्णय लिनुभयो । हामी वार्ता र संवादको पक्षमा थियौँ, तर उताबाट संवादलाई लत्याएर कारबाहीको बाटो रोजियो । त्यसैले यो कुनै हतारो वा अपमान होइन, बरु पार्टी बचाउने एउटा सञ्जीवनी प्रयत्न थियो ।

शेरबहादुर देउवाजी निर्वाचनको बेला विदेश जानुभयो, भोट हाल्न समेत जानुभएन । उहाँले यसो गर्नुको पछाडि तपाईंहरूसँगको असन्तुष्टिको कारण हो ?

शेरबहादुर देउवालाई शेरबहादुर देउवा बनाउने यही कांग्रेस पार्टी र यसका लाखौँ कार्यकर्ता हुन् । पाँच-पाँच पटक प्रधानमन्त्री र दुई पटक सभापति बनेको व्यक्तिले निर्वाचनको बेला विदेशमा रहनु र मतदान नगर्नु वास्तवमै दुःखद् कुरा हो । उहाँले यसको हेक्का राख्नुपर्थ्यो । तर २४ गतेको जुन विध्वंसात्मक घटना भयो, त्यसमा पार्टीभित्रका साथीहरूको कुनै संलग्नता छैन । राज्य सञ्चालनका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने ठाउँमा उहाँ आफैँ हुनुहुन्थ्यो । हामीले त आक्रमणको निन्दा नै गरेका थियौँ । उहाँको अनुपस्थितिको जवाफ उहाँ आफैँले दिनुपर्छ ।

तपाईंले केही समयअघि एउटा भाषणमा भन्नुभएको थियो- ‘एउटै बालेनले हामी सबैलाई तोरीको फूल देखाइदिएका छन् ।‘ अहिलेको निर्वाचन परिणामले साँच्चै कांग्रेसलाई ‘तोरीको फूल’ देखाएकै हो त ?

मैले त्यो कुरा तीन वर्षअघि नै देखेर भनेको थिएँ । जब राजनीतिक दलहरू जनताको सेवाभन्दा सत्ताको लुछाचुँडीमा केन्द्रित हुन्छन्, तब वैकल्पिक शक्तिहरू उदाउँछन् । एउटा महानगरको मेयरले उठाएका प्रश्नहरू सुन्दा कहिलेकाहीँ अराजक लागे पनि ती हाम्रा कमजोरीका धरातलमा उभिएर गरिएका प्रहार हुन् । बालेन शाह वा घण्टीको उदय हुनुमा हामी आफैँ जिम्मेवार छौँ ।

Guru Raj Ghimire1

हामीले भ्रष्टाचार अन्त्य गर्न सकेनौँ, बेथिति रोक्न सकेनौँ । पार्टीभित्रैका हामी नयाँ पुस्ताका साथीहरूले यी कुरा उठाउँदा नेतृत्वले सुन्ने जाँगर देखाएन । अहिले आएर ती सबै कमजोरीको पहाड बनेर हामीलाई थिचेको छ ।

समानुपातिकको सूची हेर्दा फेरि पनि कांग्रेसमा नातावाद र कृपावाद नै हाबी देखियो नि ? गगन थापाजीले त यसलाई रोक्न सक्नुहुन्थ्यो होला नि ?

समानुपातिक सूची बनाउँदा नेतृत्वले हामी महामन्त्रीहरूलाई संलग्न नै गराएन । आठवटा क्लस्टरबाट सूची बनाउँदा सामान्य विवेक पनि प्रयोग गरिएको छैन । मधेसको उपेक्षा गरिएको छ, भूगोल र योगदानको सन्तुलन छैन । एउटै क्लस्टरमा एकपक्षीय मान्छे राखिएको छ । यो सूचीले तत्कालीन नेतृत्वको संकुचित मानसिकता झल्काउँछ । गगन थापा र विश्वप्रकाश शर्मामाथि लागेका आरोपहरूमा सत्यता छैन, किनभने उहाँहरूलाई यो प्रक्रियाबाटै टाढा राखिएको थियो । नातावादको कुरा गर्दा कतिपय पुराना नेताहरूले जीवनको उत्तरार्धमा अवसर खोजेका होलान्, तर त्यसलाई पार्टीको नीति बनाइनु हुँदैनथ्यो ।

अब कांग्रेस कसरी अगाडि बढ्छ ? विशेष महाधिवेशनको औचित्य सकियो भन्दै कतिपयले तपाईंहरूको राजीनामा मागेका छन् नि ?

राजीनामाको विषय सान्दर्भिक छैन । सभापतिजीले नैतिकताका आधारमा राजीनामा दिन्छु भन्नुभएको छ, जुन उहाँको उच्च राजनीतिक संस्कार हो । तर हामी महाधिवेशन गराउने जिम्मेवारीसहित आएका हौँ । हामी पलायन हुने कुरा हुँदैन । अब हामी निर्मम समीक्षा गर्छौँ । जसले निर्वाचनमा अनुशासन उल्लंघन गरे, तिनीहरूमाथि तत्काल कारबाही हुन्छ । निर्वाचनको मुखमा मात्र कारबाही गर्ने पुरानो रोगलाई हामी निको पार्छौँ ।

हाम्रो अबको मुख्य लक्ष्य १५ औँ महाधिवेशन हो । हामीसँग अब १० महिना बाँकी छ । हामी दैनिक १८ घण्टा काम गरेर ८ लाख ७० हजार क्रियाशील सदस्यहरूको अद्यावधिक गर्छौँ । जसले पार्टीलाई संकटको बेला सहयोग गर्दैनन् वा जबर्जस्ती सदस्य बनाइएका छन्, तिनीहरूलाई हटाएर वास्तविक कार्यकर्ताहरूको सूची तयार पार्छौँ । भदौसम्ममा महाधिवेशन सम्पन्न गरेर पार्टीलाई नयाँ जीवन दिने हाम्रो अठोट छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ सरकारलाई तपाईंको सुझाव के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले ठुलो आशा र भरोसाका साथ मत दिएका छन् । उहाँहरूले 'पुरानाहरूले सकेनन्, हामी सक्छौँ' भन्ने नारा दिनुभएको छ । त्यो नारालाई सार्थक बनाउने ऐतिहासिक अवसर उहाँहरूलाई प्राप्त भएको छ । यदि सरकारले जनभावनाअनुसार काम गर्छ, संविधानको रक्षा गर्छ र देशलाई समृद्धिको बाटोमा लैजान्छ भने हाम्रो रचनात्मक सहयोग रहन्छ । तर यदि मुलुक पुनः राजनीतिक द्वन्द्व वा गलत बाटोमा जान लाग्यो भने हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ ।

तर तपाईंहरूसँग त सशक्त प्रतिपक्ष बन्नका लागि आवश्यक संख्या नै छैन नि ?

प्रतिपक्षको भूमिका संख्याले होइन, अठोट र मुद्दाले निर्धारण गर्छ । सन् १९८० मा भारतीय जनता पार्टीको दुई सिट मात्र थियो, तर आज उनीहरू कहाँ पुगे ? त्यसैले संख्याभन्दा पनि हामीले उठाउने आवाज र जनताको मुद्दा प्रधान हुन्छ । 

विगतमा दुई तिहाइको सरकार कसरी ढल्यो भन्ने कुरा पनि हामीले बिर्सनु हुँदैन । हामी सकारात्मक वातावरण निर्माण गरेर अगाडि बढ्न चाहन्छौँ । देशले धेरै द्वन्द्व खेप्न सक्दैन । नयाँ शक्तिहरूले कांग्रेसको ८० वर्षको अनुभवबाट पनि केही सिक्नुपर्छ र हामीले पनि आफ्ना गल्तीहरूबाट पाठ सिक्नुपर्छ ।

भिडियो : मनोज खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप