रोकिएन निर्वाचनमा बालबालिकाको प्रयोग
सारांश
- निर्वाचनमा बालबालिकाको प्रयोग रोकिएन, अध्ययनले देखायो।
- सिजपको अनुगमन प्रतिवेदन अनुसार बालबालिकालाई विभिन्न गतिविधिमा दुरुपयोग गरियो।
- सरोकारवाला निकायले चुनावमा बालबालिकाको दुरुपयोग रोक्न कडा नीति बनाउन माग गरे।
काठमाडौँ । निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न विभिन्न क्षेत्रबाट पहल भए पनि यो निर्वाचनमा पनि त्यो क्रम नरोकिएको एक अध्ययनले देखाएको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको समयमा अनुगमनका क्रममा निर्वाचनअघि बालबालिका सम्बन्धी २ सय ८६ वटा घटना अभिलेख गरिएको र निर्वाचनपछिको अवधिमा १९ वटा घटना दर्ता भएको जानकारी दिइएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बालबालिकाको दुरुपयोगको अवस्थाका बारेमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले तयार गरेको अनुगमन सम्बन्धी संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो जानकारी गराएको हो ।
त्यस अवसरमा बोल्दै चुनावमा बालबालिकाको दुरुपयोग रोक्नका लागि कडा नीतिगत व्यवस्था गर्न सरोकारवाला निकायका प्रतिनिधिले माग गरे । ललितपुरमा एक कार्यक्रमको आयोजना गरी निर्वाचनको समयमा बालबालिका विभिन्न गतिविधिहरूमा संलग्न भएको अध्ययनले देखाएको पनि सिजपले जनाएको छ ।
अनुगमन प्रतिवेदनका अनुसार बालबालिकालाई राजनीतिक दलका झन्डा तथा चिन्ह बोक्ने, जुलुस तथा आमसभामा सहभागी गराउने, राजनीतिक नाराहरू लगाउने, प्रचार सामग्री वितरण गर्ने, राजनीतिक दलको चिन्ह भएको पोसाक लगाउने, प्रचार गीत तथा नृत्य कार्यक्रममा सहभागी हुने जस्ता क्रियाकलापहरूमा दुरुपयोग गरिएको सिजपका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिए ।
त्यस अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दुर्गाप्रसाद चालिसेले यसपालिको चुनावमा मतदान अधिकृतका रूपमा भूमिका निभाउँदै गर्दा बालबालिकाको दुरुपयोगको अवस्था कम गर्न सकिएको दाबी गर्दै सरोकारवाला निकायको सहकार्य र खबरदारीका कारण यो सम्भव भएको धारणा राखे ।
यसैगरी राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम संयोजक श्रीराम अधिकारीले बालबालिकाको दुरुपयोग रोक्नका लागि कानुनी रुपमा नै कडा व्यवस्था ल्याउनुपर्ने बताए । राष्ट्रिय मानवअधिकार आयोगका खिमानन्द बस्यालले विगतको निर्वाचनको तुलनामा यसपालिको निर्वाचनको समयमा बालबालिकाको दुरुपयोग केही कम भए पनि सुधारका थुप्रै काम बाँकी रहेको बताए ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका केन्द्रीय सदस्य गीता अधिकारीले यसपालिको चुनावमा बालबालिकाको दुरुपयोग भएका घटनाबाट सिकेर आगामी निर्वाचनका लागि नीतिगत र व्यवहारगत कमजोरी सच्याउनुपर्ने धारणा राखिन् ।
पत्रकार विजय पौडेलले यसपालिको निर्वाचनको समयमा कतिपय उम्मेदवारले भर्खर जन्मेका बालबालिका पनि साथमा लिएर मतदान गरेको भन्दै यसबारेमा पनि धारणा बनाउनुपर्ने उल्लेख गरे ।
निर्वाचन पूर्वको तुलनामा मतदानको दिन बालबालिका सम्बन्धी प्रत्यक्ष आचारसंहिता उल्लङ्घनका घटना न्यून देखिएको तर मतदान केन्द्रको रूपमा विद्यालय भवनको व्यापक प्रयोग सम्बन्धी संरचनात्मक विषयहरू देखिएको पनि सिजपको प्रतिवेदनमा उल्लेख छ ।
देशभरका १० हजार ९ सय ६७ मतदान स्थलहरूमध्ये करिब ९ हजार ४ सय ५० मतदान स्थलहरु विद्यालयहरूमा स्थापना गरिएको थियो भने निर्वाचन परिणाम घोषणा भएपछि १९ वटा घटनाहरू विजय जुलुस तथा उत्सवहरूका क्रममा अभिलेख गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण