बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उज्यालो नेपाल पार्टीले दियो प्रधानमन्त्री कार्कीलाई बधाई, खाडीमा रहेका नेपालीको सुरक्षाप्रति चासो

शनिबार, ०७ चैत २०८२, २१ : ००
शनिबार, ०७ चैत २०८२

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सम्पन्न शान्तिपूर्ण निर्वाचन र मुलुकले पाएको राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्रीलाई हार्दिक बधाई ज्ञापन गरेको छ।

पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी बधाई दिएको हो। 

अध्यक्ष घिसिङले चुनौतीपूर्ण परिस्थितिमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गरी मुलुकलाई 'सेफल्यान्डिङ' गराएकोमा प्रधानमन्त्रीको प्रशंसा गरे। प्रधानमन्त्री कार्कीले पनि उज्यालो नेपाल पार्टीले निर्वाचन प्रक्रियामा सहभागी भई महत्वपूर्ण भूमिका खेलेकोमा सराहना गरिन्। 

यसै क्रममा, उज्यालो नेपाल पार्टीले खाडी क्षेत्रमा भड्किएको द्वन्द्वबाट जोखिममा परेका १८ लाखभन्दा बढी नेपाली कामदारहरूको तत्काल सुरक्षित स्थानान्तरण, उद्धार तथा राहतका लागि विस्तृत योजना सार्वजनिक गर्न माग गरेको छ। यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु जस्ता घटनाले गम्भीर चिन्ता बढाएको भन्दै पार्टीले २४र७ हटलाइन, स्वास्थ्य सेवा र आश्रय केन्द्रसहित दूतावास तथा कन्सुलेटहरूलाई सक्रिय बनाउन अपिल गरेको छ। 

साथै, पार्टीले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र प्रतिवेदनका निष्कर्षका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष कारबाही गर्न माग गरेको छ। प्रतिवेदन गोप्य राखिनुले नागरिक तहमा अन्योल र राज्यप्रतिको अविश्वास बढेको पार्टीको ठहर छ। 

उज्यालो नेपाल पार्टीले मानवताको पक्षमा उभिएर नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न, सत्य सार्वजनिक गर्न तथा न्याय स्थापना गर्न यथाशीघ्र ठोस कदम चाल्न सरकारलाई जोडदार अपिल गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप