बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तत्कालीन निर्देशक यादवविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

आइतबार, ०८ चैत २०८२, ११ : ३९
आइतबार, ०८ चैत २०८२

सारांश

  • तत्कालीन पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु हुँदैछ।
  • अख्तियारले यादवलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो, उनले स्रोत खुलाउन सकेनन्।
  • यादवले २०६६ देखि २०७९ सम्म २ करोड ६८ लाखभन्दा बढी आम्दानी गरे पनि ९६ लाख बढीको खर्चको स्रोत खुलाउन सकेनन्।

काठमाडौँ । पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा सुनुवाइ सुरु हुँदैछ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।  यादवले आम्दानीको तुलनामा ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि गर्न नसकेको देखिएको आयोगले गत साउन २९ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

आयोगको अभियोगपत्र अनुसार २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको सेवा अवधिमा २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँभन्दा बढी आय आर्जन गरेको देखिएको जनाएको छ ।

यसमा पारिश्रमिक, भ्रमण भत्ता, जीवन बिमा, हिमाल आरोहण सम्पर्क अधिकृत भई पाएको रकम, परामर्श सेवा, घर बहाल, बैठक भत्ता, कर्मचारी सञ्चय कोष, बैंक कर्जा, कृषि आय, जग्गा बिक्री, बैंक ब्याज तथा सेयर बिक्रीबाट प्राप्त रकम समेत समावेश छन् ।

तर सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण, बैंक कर्जा भुक्तानी, सेयर खरिद, शैक्षिक खर्च, जीवन बिमा प्रिमियम, बैंक मौज्दातलगायत शीर्षकमा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँभन्दा बढी खर्च र लगानी गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ ।

यसरी करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि नभएकाले यादवले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप