बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दङ्गा नियन्त्रण कार्ययोजना स्वीकृत भएपछि काम गर्न सहज हुन्छ : महानिरीक्षक अर्याल

शान्ति सुरक्षामा जवानले गर्व गर्नुपर्ने अवस्था
मङ्गलबार, १० चैत २०८२, १३ : ३२
मङ्गलबार, १० चैत २०८२

सारांश

  • सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दङ्गा नियन्त्रण कार्ययोजना गृह मन्त्रालयमा पेश गरेको बताए।
  • सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा रेजिमेन्ट गण गठन गर्न सरकारले स्वीकृति दिएको छ।
  • आईजी अर्यालले निर्वाचनमा सुरक्षा निकायको उत्कृष्ट काम भएको र आगामी दिनमा सुरक्षा प्रदान गर्न सक्षम रहेको बताए।

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीलाई ऐनले दङ्गा नियन्त्रण गर्ने स्पष्ट म्यान्डेट दिएको बताएका छन् । काठमाडौँ उपत्यका हेर्ने नम्बर–९ पशुपतिनाथ बाहिनीको २२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आईजी अर्यालले ऐन अनुसार दङ्गा नियन्त्रण कार्ययोजनाको प्रस्ताव गृह मन्त्रालयमा पेस गरिएको बताएका हुन् । 

‘हुलदंगा भइरहन्छ त्यो दङ्गा नियन्त्रण गर्ने कार्ययोजना बनाएर गृह मन्त्रालयमा पेस गरेका छौँ’ अर्यालले भने, ‘कार्ययोजना स्वीकृत भएर आएपछि हामीलाई काम गर्न सहज हुन्छ ।’

दङ्गा नियन्त्रणमा परिचालन गर्न सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा रेजिमेन्ट गण गठन गर्न सरकारले स्वीकृति दिएको छ । रेजिमेन्ट गण स्थापना गरेर उपत्यकामा हुने दङ्गा नियन्त्रणको काम सुरु गरिने आईजी अर्यालले बताए ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षा निकायले उत्कृष्ट काम गरेको उल्लेख गर्दै अर्यालले भने, ‘मुलुकमा जुनसुकै परिस्थिति आउँदा पनि हामी सुरक्षा प्रदान गर्न सक्षम छौँ भनेर प्रमाणित भएको छ ।’

निर्वाचनमा एक थोपा रगत नबगेको उल्लेख गर्दै उनले भने, ‘हाम्रा प्रत्येक जवानले गर्व गर्ने अवस्था आएको छ ।’

प्रस्तावित सशस्त्र प्रहरी विधेयक नयाँ संसद्बाट पारित हुने विश्वास व्यक्त गर्दै अर्यालले अधिकृतहरूमा सिनियारिटीसँगै अब्बल कार्यकौशल पनि हुन आवश्यक रहेको बताए । 

कार्यक्रममा पशुपतिनाथ वाहिनी मुख्यालयका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप