काठमाडौँमा सुन चोरी र स्वरूप परिवर्तन गर्ने गिरोह सक्रिय : भारतीय नागरिकसहित ५ जना पक्राउ
सारांश
- चन्द्रागिरिबाट सुनका गरगहना र मोबाइल चोरी गर्ने गिरोह पक्राउ परेको छ।
- प्रहरीले चोरीका गरगहना पगालेर स्वरूप परिवर्तन गरिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लियो।
- पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित धादिङ, नवलपरासी, ओखलढुङ्गा, रसुवाका व्यक्तिहरू छन्।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित तिनथानाबाट सुनका गरगहना र मोबाइल चोरी गरी त्यसको स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चोरी भएका गहना पगालेर बिगारिरहेको अवस्थामा एक भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो।
गत फागुन २८ गते चन्द्रागिरि–१५ तिनथानास्थित एक घरबाट १।५ तोलाको सुनको सिक्री, १ तोलाको औँठी, आधा तोलाको झुम्का, तिलहरी, दुई थान मोबाइल र नगद ५ हजार रुपैयाँ चोरी भएको उजुरी प्रहरीमा परेको थियो। उक्त निवेदनका आधारमा सूक्ष्म अनुसन्धान र खोजतलास गर्दा प्रहरीले चैत १० गते काठमाडौँ महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राइभिङ सेन्टर अगाडिबाट उनीहरूलाई समात्न सफल भएको हो।
पक्राउ पर्नेहरूमा धादिङका २२ वर्षीय प्रसन्न अधिकारी, नवलपरासी पूर्वका २८ वर्षीय प्रदीप गुरुङ, ओखलढुङ्गाका २९ वर्षीय लाक्पा शेर्पा, रसुवाका २८ वर्षीय सागर कामी र भारत महाराष्ट्रका २८ वर्षीय गौरव गुणाजी मोरे रहेका छन्। प्रहरीले उनीहरूको साथबाट चोरीका दुई थान मोबाइल, पगालेर ढिक्का बनाइएको २३.३० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नम्बरको मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका पाँचै जनालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटमार्फत विस्तृत अनुसन्धान भइरहेको छ।
पक्राउ परेकामध्ये भारतीय नागरिक मोरेले चोरीका गहना पगाल्ने र स्वरूप बदल्ने काममा सहयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण