बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: शासकीय स्वरुपमा रास्वपा र नेकपा एकै ठाउँदेखि प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रका नाममा सम्बोधनसम्म

शुक्रबार, १३ चैत २०८२, ०० : ००
शुक्रबार, १३ चैत २०८२

सारांश

  • प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्दै पदबाट बिदा हुनुअघि सम्बोधन गरिन्, र कमजोरी भए आफूलाई दोष दिन आग्रह गरिन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाह संसदीय दलको नेता चयन भएपछि प्रधानमन्त्री बन्ने बाटो खुल्यो।
  • प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिए, जसमा केही विशिष्टताहरू देखिए।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. प्रम सम्बोधन

प्रधानमन्त्री सुशीला कार्कीले गलत नियत राखेर आफूहरूले कुनै पनि काम नगरेको बताएकी छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले पदबाट बिदा हुनुअघिल्लो दिन राष्ट्रको नाममा सम्बोधन गरेकी हुन्।

२. शुक्रबार बालेन सरकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाएको छ ।

बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । बालेन दल नेता बनेसँगै प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।

३. सांसदको शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन् ।

४. शासकीय स्वरुप

शासकीय स्वरुपमा रास्वपा र नेकपा एकै ठाउँ देखिएका छन् । यसबारे आजको रातोपाटीमा विस्तृतमा समाचार छ ।

बिहीबार मात्रै वरिष्ठ नेता शाह संसदीय दलको नेता चयन भएका थिए । यससँगै दुई नेताहरू मन्त्री छनोटको गृहकार्यमा जुटेका हुन् ।

५. प्रतिवेदनमा प्रश्न

जेनजी आन्दोलनसम्बन्धी घटनाको  छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदनले तरंग उत्पन्न भएको छ । भदौ २३ गतेको घटनाको विषयमा आयोग केन्द्रीत भएर २४ गतेको घटनाका सम्बन्धमा भने मौन बनेको भन्दै आलोचना भएको हो । प्रतिवेदनलाई लिएर रास्वपा सन्तुष्टजस्तो देखिएपनि एमालेसहितका विभिन्न पक्षबाट प्रश्न उठाइएको छ ।

६. बुटवलका उद्योगमा कच्चा पदार्थ अभाव

बुटवल औद्योगिक क्षेत्रभित्र रहेका विभिन्न उद्योगमा कच्चा पदार्थको अभाव हुन थालेको छ । पश्चिम एसियामा जारी युद्धका कारण कच्चा पदार्थ आयात प्रभावित हुँदा उद्योग सञ्चालनमा समस्या भएको उद्योगीहरू बताउँछन् ।

७. सांसदको मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेसका टेकबहादुर गुरुङले प्रतिनिधि सभा सदस्यका रूपमा भूमिका निर्वाह गर्न पाउँछन् कि पाउँदैनन् भन्नेबारे धेरैको चासो छ ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भए पनि लामिछाने र गुरुङविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ ।

लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको तीन वटा अभियोग लाग्दा २०७९ को संसदमा तत्कालीन सभामुख देवराज घिमिरेले निलम्बन भएको सूचना प्रकाशन गरेका थिए । सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दर्ता भएसँगै यसअघि निलम्बनमा परेका लामिछानेले बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथ लिएका छन् ।

८. मन्त्री छानिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह मन्त्री छनोटमा जुटेका छन् ।

९. एन्फा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाकारी दिएको हो । एन्फालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार तीन महिना सम्मका लागि निलम्बन गरेको थियो । एन्फा राखेपको निलम्बनमा परेपछि मतदान कार्यक्रम स्थगित हुन पुगेको हो ।

१०. हवल्दार सरुवा

प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले बिहीबार एकैपटक १ हजार ७ सय ८२ जना प्रहरी हवल्दारको सरुवा गरेको हो ।

११. ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामबाट हरेश नखाई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

१२. सेयर बजार

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा सकारात्मक रौनक देखिएको छ । आज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकममा पनि निकै उत्साहजनक वृद्धि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप