प्रशासनभित्र रास्वपाको नाममा ‘सिन्डिकेट’ चलाउन खोज्नेलाई पार्टीको चेतावनी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने अडान दोहोर्याएको छ।
- पार्टीले कर्मचारी वृत्तमा भइरहेका दलीय चलखेलप्रति आपत्ति जनाउँदै, कुनै पनि समूहसँग आबद्धता नरहेको जनाएको छ।
- रास्वपाले निजामती सेवालाई तटस्थ र निष्पक्ष बनाउनुपर्ने र कर्मचारीहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त राख्नुपर्ने आफ्नो अडान दोहोर्याउँदै कर्मचारी संयन्त्रभित्र भइरहेका दलीय चलखेलप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टी स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने वकालत गर्दै आएको रास्वपाले पछिल्लो समय कर्मचारी वृत्तमा पार्टी र नेतृत्वको नाम जोडेर विभिन्न समूह वा अभियान सञ्चालन भइरहेको सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको स्पष्ट पारेको हो ।
महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा निजामती सेवाभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग पार्टीको कुनै पनि तहको आबद्धता, समर्थन वा संलग्नता नरहेको कुरालाई विशेष जोड दिइएको छ। पार्टीले आम निर्वाचनका क्रममा जनतामाझ गरेका वाचाहरू स्मरण गराउँदै निजामती सेवालाई तटस्थ र निष्पक्ष बनाएर मात्र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने धारणा अघि सारेको छ।
कसैले आफ्नो व्यक्तिगत वा समूहगत स्वार्थ सिद्ध गर्नका लागि रास्वपाको नाम प्रयोग गरेको भए त्यस्ता भ्रममा नपर्न पार्टीले आम कर्मचारी र सरोकारवालाहरूलाई आग्रह गरेको छ। रास्वपाले कर्मचारीको एक मात्र धर्म ‘जनसेवा’ र एक मात्र पहिचान ‘व्यावसायिकता’ हुनुपर्ने भन्दै कुनै पनि राजनीतिक दलको ओत लाग्ने वा शक्ति केन्द्रको आडमा प्रशासनिक संयन्त्रलाई प्रभाव पार्ने कार्य पार्टीको आदर्श र नीतिको पूर्ण विपरित रहेको स्पष्ट पारेको छ।
विगत लामो समयदेखि निजामती प्रशासनमा दलीय आडमा काम गर्ने, प्रशासनलाई थर्काउने र डर वा त्रासको वातावरण सिर्जना गर्ने जुन संस्कृति छ, त्यसको अन्त्य हुनुपर्ने रास्वपाको मान्यता छ । पार्टीले अहिले पनि निजामती सेवालाई मेरिटोक्रेसी अर्थात् योग्यता प्रणालीका आधारमा सञ्चालन गरिनुपर्ने र कर्मचारीहरू केवल राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने पक्षमा आफूहरू दृढ रहेको बताएको छ।
सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा समूहको प्रभावमा नपरी पूर्ण रूपमा तटस्थ र जिम्मेवार भएर जनताको सेवामा समर्पित हुन समेत विज्ञप्ति मार्फत अपिल गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण